स्मार्ट लाइसेन्सको वर्षौं पुरानो सास्ती एकाएक कसरी अन्त्य भयो? २७ लाख ‘ब्याकलग’ सकिएपछि अब २४ घण्टाभित्रै छापिँदै!
काठमाडौँ, साउन १ । लामो समयदेखि थन्किएर सेवाग्राहीलाई सास्ती दिँदै आएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार विगत लामो समयदेखि रोकिएको ‘ब्याकलग’ पूर्ण रूपमा अन्त्य भएसँगै अब नयाँ लाइसेन्सका लागि विवरण प्राप्त भएको २४ घण्टाभित्रै छपाइ गरी यातायात व्यवस्था विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताका आधारमा कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न गरिएको हो। पहिलो चरणमा २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार निर्धारित समयभित्र १२ लाख स्मार्ट लाइसेन्स छापिएको थियो। त्यसपछि बाँकी रहेका आवेदनको व्यवस्थापन गर्न २०८३ वैशाख ४ गते दोस्रो चरणको सम्झौता गरी थप १५ लाख अनुमतिपत्र छाप्ने कार्य सुरु गरिएकोमा उक्त काम पनि २०८३ असार ३२ गते सम्पन्न भइसकेको छ।
नेपालमा व्यवसायका लागि सुखद दिन छैनन्: एडीबीको प्रक्षेपण (नेपालको आर्थिक वृद्धिदर)
कसरी सम्भव भयो यो चमत्कार?
काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रले अहिले आधुनिक प्रविधिको प्रयोगमार्फत दैनिक प्राप्त हुने ३ हजारदेखि ५ हजार विवरणका आधारमा २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गरिरहेको छ। ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा अनुमतिपत्र नवीकरण गरेका सेवाग्राहीको डाटा प्रणालीमा आउनासाथ रातभरमै कार्ड छाप्ने गरी संयन्त्र मिलाइएको छ।
यो ठूलो रूपान्तरण सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको विशेष पहल, निरन्तर समन्वय र उच्च प्राथमिकताका कारण सम्भव भएको मन्त्रालयले जनाएको छ। सञ्चारमन्त्री डा. तिमिल्सिनाले पदभार ग्रहण गरेदेखि नै नागरिकले सहज र समयमै सार्वजनिक सेवा पाउनुपर्ने विषयलाई आफ्नो प्रमुख कार्यसूचीमा राखेका थिए। वर्षौँदेखि अर्बौँ रुपैयाँ लगानी गरिएका उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेकोमा त्यसलाई पूर्ण सञ्चालनमा ल्याएर यो ब्याकलग अन्त्य गरिएको हो।
सातै प्रदेशमा विस्तार गर्ने तयारी
केन्द्रले अब केन्द्रीय स्तरमा मात्र नभई सातै प्रदेश सरकार तथा सम्बन्धित प्रदेशका यातायात मन्त्रालयहरूसँग समन्वय गरी सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी छुट्टै सम्झौता गर्ने तयारी अघि बढाएको छ। यसले गर्दा आगामी दिनमा प्रदेशस्तरबाटै सेवाग्राहीले झन् छिटो लाइसेन्स पाउने वातावरण बन्नेछ।
अन्तःशुल्क स्टिकर र नागरिकता पनि स्वदेशमै छापिने
सुरक्षण मुद्रण केन्द्रका अनुसार सवारी चालक अनुमतिपत्रको सफल छपाइपछि अब नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट तथा जग्गाधनी प्रमाणपत्रलगायतका अन्य अति संवेदनशील सुरक्षण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने अन्तिम तयारी भइरहेको छ। यस्ता सामग्री स्वदेशमै उत्पादन हुन थालेपछि वार्षिक रूपमा विदेशिने करोडौँ रुपैयाँ जोगिने मात्र नभई स्वदेशभित्रै पुँजी परिचालन, रोजगारी सिर्जना र सार्वजनिक सेवा प्रवाह थप चुस्त बन्ने विश्वास लिइएको छ।

तपाईंको प्रतिक्रिया