‘बुढो’ पार्टीलाई ‘जवान’ बनाउन इन्ट्री गर्दै ६ युवा: संसददेखि स्थानीय तहसम्मका चर्चित अनुहार कांग्रेस केन्द्रीय समितिमा भिड्दै
काठमाडौँ, १८ असोज । बदलिएको राजनीतिक परिवेश र आन्तरिक बहसका बिच नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा सुरु भइसकेको छ। यसपटकको महाधिवेशनमा सबैभन्दा बढी चासो र चर्चाको विषय बनेको छ- ‘जेनजी (Gen-Z) विद्रोह’ पछि युवापुस्ताको बाक्लो उपस्थिति।
देशैभरबाट आएका प्रतिनिधिहरूमध्ये करिब ४० प्रतिशत युवाहरूको उपस्थिति देखिएको छ, जसले कांग्रेसलाई आन्तरिक रूपमै रूपान्तरण र पुनर्जागरण गर्ने अपेक्षा गरिएको छ। पार्टी सुधार र नेतृत्व तहमा हस्तक्षेप गर्नका लागि ६ जना प्रभावशाली युवा नेताहरू केन्द्रीय समितिमा प्रवेश गर्ने ठुलो तयारीका साथ मैदानमा उत्रिएका छन्:
१. निस्कल राई (इलाम)
- संसदीय र राजनीतिक भूमिका: देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ठुलो लहर आउँदा समेत इलाम-१ बाट प्रत्यक्ष निर्वाचित भएका प्रभावशाली युवा नेता।
- विशेषता: पहिलोपटकको संसदीय यात्रामै संसदीय दलको सचेतकको जिम्मेवारी सम्हालेका। संसदमा उनले प्रस्तुत गर्ने तार्किक र विषयगत बहसले नमेटिने छाप छाडेका छन्।
- भूमिका: संसदमा कांग्रेसको मात्र नभई बलियो प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका राई नयाँ केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यका बलिया दाबेदार हुन्।
२. प्रकाश तिवारी (स्याङ्जा)
- स्थानीय सरकारको सफलता: देशभरकै स्थानीय तहहरूमध्ये कार्यसम्पादनमा सबैभन्दा उत्कृष्ट ठहरिएको स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष।
- व्यावसायिक र वैचारिक पृष्ठभूमि: व्यावसायिक पृष्ठभूमि भएका तिवारी कान्छा गाउँपालिका अध्यक्षमध्येका हुन्। उनले स्टार्टअप, इनोभेसन र लगानीसम्बन्धी कम्पनीहरूमा नेतृत्व दिइसकेका छन्।
- इनोभेटिभ काम: पालिकालाई पर्यटनको हब बनाउन नेपालकै पहिलो नवग्रह मन्दिरको परिकल्पना गरी स्थापना गर्नेसमेत उनै हुन्। राजनीतिक अध्ययन र विश्लेषणमा उत्तिकै सक्रिय तिवारी यसपटक केन्द्रीय सदस्यमा प्रस्तुत भएका छन्।
३. एलिजा ढकाल (तनहुँ)
- पार्टी रूपान्तरण र संवाद यात्रा: नेपाली कांग्रेसको विशेष महाधिवेशन अभियानलाई सफल बनाउन सक्रिय सहभागिता जनाउँदै पार्टीको रूपान्तरण र पुनर्जागरणका निम्ति देशव्यापी संवाद यात्रामा तत्कालीन महामन्त्री र हालका सभापति गगन थापासँगै सहभागी।
- सांस्कृतिक र सामाजिक अनुभव: केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यका रूपमा जातीय भेदभावविरुद्ध सचेतना उपसमितिमा रहेर काम गरेको अनुभव।
- मूल मन्त्र: “युवाको ऊर्जालाई अग्रजको अनुभवसँग जोड्न पुस्ताबिच फाटो होइन, सहकार्य र सहअस्तित्वको बाटो जरुरी छ” भन्ने संकल्पसहित केन्द्रीय सदस्यमा उम्मेदवारी।
४. करुणा कटवाल (धनकुटा)
- विद्यार्थी राजनीति र भ्रातृ संस्थाको नेतृत्व: कांग्रेसको प्रभावशाली भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व गरिरहेकी प्रतिनिधि पात्र।
- विशेषता: मात्र २७ वर्षको उमेरमा नेविसंघजस्तो ठुलो र प्रभावशाली संगठनलाई नेतृत्व दिएर राजनीति गर्न चाहने युवाहरूका लागि उदाहरण बनेकी छन्।
- लक्ष्य: युवापुस्ताको नेतृत्व गर्दै कांग्रेसको केन्द्रीय समितिमा प्रवेश गर्ने योजनामा जुटेकी।
५. कञ्चन झा (वीरगञ्ज)
- मधेस र वैचारिक बहस: कांग्रेस पार्टी कार्यालयभित्रै युवापुस्तालाई जोड्न नयाँ विषय र समसामयिक मुद्दाहरूमा निरन्तर बहस चलाइरहेका नेता।
- विशेषता: बौद्धिक र तार्किक प्रस्तुतीका कारण भविष्यमा मधेसमा कांग्रेसको प्रमुख जिम्मेवारी सम्हाल्न सक्ने नेताका रूपमा आकलन गरिएका।
- लक्ष्य: महाधिवेशनको तयारीमा सक्रियतापूर्वक खटिएका झा यसपटक केन्द्रीय समितिमा प्रवेश गर्ने तयारीमा छन्।
६. भूपी ऐर (बैतडी)
- क्याम्पस राजनीतिमा ऐतिहासिक विजय: पद्मकन्या (PK) क्याम्पसमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर प्यानलसहित सभापति निर्वाचित भएकी लोकप्रिय विद्यार्थी नेत्री।
- विशेषता: विद्यार्थीमाझ मात्र नभई कांग्रेसभित्रै पनि आफ्नो राजनीतिक प्रभाव र पहिचान विस्तारै बढाउँदै लगेकी।
- लक्ष्य: परिवर्तनलाई नजिकबाट बुझेकी ऐर नयाँ पुस्तालाई कांग्रेससँग जोड्दै यसपटक केन्द्रीय कार्यसमितिमा प्रवेश गर्ने तयारीमा छन्।
सभापति गगन थापाको अवधारणा र नयाँ पुस्ताको यो ऊर्जाले कांग्रेसलाई ‘बुढो’ पार्टीबाट ‘जवान’ र राजनीतिप्रति आशावादी बनाउने विश्वास लिइएको छ।

तपाईंको प्रतिक्रिया