साउनको पहिलो सोमबार: पशुपतिमा लाखौँ श्रद्धालुको घुइँचो, नि:शुल्क सेवा र भोजनको व्यवस्था

काठमाडौं, साउन ५– साउनको पहिलो सोमबार को अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरसहितका प्रमुख शिवालयहरूमा आज बिहानैदेखि भक्तजनहरूको अत्यधिक भीड देखिएको छ।
काठमाडौं महानगर क्षेत्रको पशुपति, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका शिव मन्दिरहरूमा श्रद्धालुहरू बिहान सबेरैदेखि दर्शनका लागि लामबद्ध छन्। पशुपति क्षेत्र विकास कोषले साउनको पहिलो सोमबार मात्रै पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ।
काठमाडौं महानगरको तयारी र व्यवस्थापन
पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारहरूमा दर्शन गर्न आउने श्रद्धालुको सहजताका लागि बिहान ३ बजेदेखि नै चारैवटा प्रवेशद्वार खुला गरेको थियो। साथै चक्रपथ क्षेत्रभित्र भक्तजनको सहज आवत–जावतका लागि नि:शुल्क बस सेवा सुरु गरिएको छ। चारवटा बसमार्फत सञ्चालन गरिएको यो सेवा साउन महिनाका सबै सोमबारहरूमा निरन्तर रहने कोषले जनाएको छ।
मारवाडी समाजको नि:शुल्क भोजन सेवा
श्रद्धालुहरूका लागि अर्को महत्त्वपूर्ण पहलका रूपमा मारवाडी समाजले नि:शुल्क भोजन सेवा पनि सुरु गरेको छ। यो सेवा सोमबार मात्र नभई अन्य दिनहरूमा पनि निरन्तर जारी रहने जनाइएको छ।
श्रावणमा शाकाहारी भोजन: गीता,आयुर्वेद र विज्ञानले के भन्छ ?
धार्मिक मान्यता र भक्तिभाव
हिन्दू धर्मावलम्बीहरूका अनुसार, साउन महिनाको सोमबार भगवान शिवको प्रिय दिन मानिन्छ। यस दिन व्रतालुहरू बिहानै स्नान गरी शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो र अन्य सामग्री चढाएर पूजा–आराधना गर्छन्।
धार्मिक विश्वास अनुसार, यसरी पूजा गरेमा सौभाग्य, मनोकांक्षा पूर्ण, पारिवारिक सुखशान्ति र समृद्धि प्राप्त हुन्छ।
तपाईंको प्रतिक्रिया