जीपीए ४, सपना हजार: सर्जिनाको सशक्त कथा

 श्रावण १३, २०८२

✍ लेखा खबर संवाददाता


जीपीए ४, सपना हजार: सर्जिनाको सशक्त कथा

काठमाडौं, श्रावण १२- जब सर्जिना ढकाल उद्यमशीलता विकास अध्ययन गरिरहेकी थिइन्, उनको त्यो डिग्रीको प्रमाणपत्रले मात्र उनलाई लोभ्याएको थिएन। बरु, उक्त कोर्सबाट प्राप्त गरेको ज्ञानलाई व्यवहारिक जीवनमा उतार्ने दृढ इच्छाशक्ति उनीभित्र थियो। व्यवसाय त धेरैले थाल्छन्, उद्योग पनि अनगिन्तीले चलाएका छन्, तर सर्जिनाको चाहना भने अरुभन्दा भिन्न भएर व्यवसायमा सैद्धान्तिक पक्षलाई पनि समावेश गर्नु थियो। ती चार वर्ष उनका लागि नवीनतम अभ्यासको थालनी थिए।

आज उनी आभूषण नामक आफ्नै सानो कपडा व्यवसायमा व्यस्त छिन्। २ वर्षकी हुँदा जन्म दिने आमालाई गुमाएकी सर्जिनालाई उनका मामाहरूले कहिल्यै पनि आमाको अभाव हुन दिएनन्। हाल सर्जिना स्नातक तह पास गरेकी छिन्, त्यो पनि प्रत्येक सेमेस्टरमा उत्कृष्ट प्रदर्शन गर्दै, पाँचौं, छैटौं र सातौं सेमेस्टरमा पूर्णाङ्क (४ जीपीए) प्राप्त गरेकी छन्। कुनै समय दयाको नजरले हेर्नेहरूले आज गर्वका साथ बधाई दिने गर्छन्। सर्जिना आफूले पालेका सपनाहरू साकार बन्दै जाँदा आफ्ना मावलीप्रति कृतज्ञ छिन्।

गुल्मीको सत्यवती गाउँपालिका, जवाङमा जन्मिएकी सर्जिनाले सानै उमेरमा देखेका सपनाहरू अझै पनि उनलाई प्रेरित गरिरहेका छन्। उनी भन्छिन्, “म चाहन्छु, कसैले मलाई दयाले होइन, गर्वको नजरले हेरोस्। म यति सक्षम बन्न चाहन्छु कि मैले गुमाएका कुराभन्दा प्राप्त गरेका उपलब्धिहरू देखेर माया गर्न मन लागोस्।” दस कक्षा सकेपछि ११–१२ मा विज्ञान विषय रोजेकी सर्जिनाको चाहना कृषि अध्ययन गर्ने थियो। तर उनको भित्रको उद्यमशील प्रवृत्तिले उनलाई फरक दिशातिर डोर्‍यायो।

“म यो डिग्री हासिल गरेपछि आफ्नै दममा केहि गर्छु” भन्ने आत्मबल कहिल्यै पनि उनले गुमाइनन्। उनी भन्छिन्, “मैले देखेका सपनाहरू कमजोर छैनन्, ती पूरा गर्न जस्तोसुकै तपस्या गर्न पनि म तयार छु।”

उद्यमशीलता विकास विषयमा स्नातक तह अध्ययन गरेकी सर्जिना, अंकहरूको मूल्य राम्ररी बुझ्थिन् र त्यसै अनुसार हरेक परीक्षामा उत्कृष्ट अंकसहित उतीर्ण भइन्। पोखरा विश्वविद्यालयमा अध्ययन गरेकी उनी पहिलोदेखि तेस्रो सेमेस्टरसम्म प्रथम श्रेणी ल्याइरहेकी थिइन् भने पाँचौं, छैटौं र सातौं सेमेस्टरमा ४.०० जीपीए कायम राखिन्। स्नातक तहको अध्ययन पूरा गरेसँगै, उनले आफ्ना सपना पछ्याउने यात्रा प्रारम्भ गरिन्। त्यो सपना थियो आफ्नै दममा केही स्थापना गर्नु र आफ्ना आकांक्षाहरूलाई वास्तविकतामा बदल्नु।

त्यही सपना अहिले आभूषण बनेर मूर्त रूप लिइसकेको छ, सर्जिनाले सुरु गरेको सानो तर सशक्त कपडा व्यवसाय। यसमा उनी डिजाइन, छनोट र बजार व्यवस्थापनमा निरन्तर लागिपरेकी छिन्। सर्जिना भन्छिन्, “आफूमाथि गहिरो विश्वास छ, र यही आत्मबलका साथ म जीवनभर उद्योग र व्यवसायमै समर्पित रहन चाहन्छु।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5