जनै पूर्णिमा: रक्षा सूत्रको कथा, बदलिँदो रूप र आधुनिक सन्देश; बलिदेखि आधुनिक दिदी-भाइसम्म

काठमाडौं , साउन २४ । आज श्रावण शुक्ल पूर्णिमा -हिन्दु धर्मावलम्बीहरूका लागि एक विशेष धार्मिक महत्त्व बोकेको दिन हो जनै पूर्णिमा। ब्रतबन्ध गरिसकेकाहरूका लागि आजको दिन विभिन्न नदीमा स्नान गरी
“ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपि वा।
यः स्मरेत् पुण्डरीकाक्षं स बाह्याभ्यन्तरः शुचिः॥”
अर्थात्, मानिस चाहे अपवित्र होस् वा पवित्र, जीवनको जुनसुकै अवस्थामै किन नहोस्, जसले पनि भगवान् विष्णु वा कृष्णको स्मरण गर्छ, ऊ बाहिरी र भित्री दुवै रूपमा पवित्र हुन्छ मन्त्र जप्ने दिन हो। यस दिन पुरानो जनै फेरेर नयाँ मन्त्रपारिएको जनै लगाउने धार्मिक प्रक्रिया सबै ब्रतबन्ध गरिसकेका ब्राह्मण र क्षत्रिय जातिका पुरुषहरूले गर्ने गर्छन्। जनै पूर्णिमालाई चाडपर्वहरूको सुरुवातको दिनका रूपमा पनि चिनिने गरिन्छ। नेपालको प्रचलित कानुन र प्रथाअनुसार आज देशभर सार्वजनिक बिदा दिइएको हुन्छ। विभिन्न उमेर वर्गको पुस्ताले यस पर्वलाई आफ्नै शैलीअनुसार ग्रहण र परिमार्जन गरिरहेको देख्न सकिन्छ।
पौराणिक कथा
एक समयका शक्तिशाली तर धर्मी दानव राजा बलिले तीनै लोक जितेपछि देवताहरू चिन्तित भए। भगवान् विष्णु वामन रूप लिएर बलिको यज्ञमा पुगे र केवल तीन पाइला जमिन मागे। गुरु शुक्राचार्यको चेतावनीलाई अवहेला गर्दै बलिले स्वीकृति दिए। वामनले विशाल रूप धारण गरी पहिलो पाइलामा पृथ्वी, दोस्रोमा स्वर्ग ढाकेर तेस्रो पाइला राख्न बलिको शिर अर्पण गराए। त्यसपछि विष्णुले उनलाई पाताल पठाए तर भक्तिको सम्मानमा रक्षा सूत्रको प्रतीक स्थापना गरे, जसलाई बाँध्दा “येन बद्धो वलीराजा दानवेन्द्रो महावलः । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।” मन्त्र जपिन्छ।
५६ वर्षीय लक्ष्मी अधिकारीका लागि जनै पूर्णिमा केवल चाड मात्र होइन, आफ्नो जीवनको स्मृति-ग्रन्थ हो। उनी सानै उमेरमा बाबासँग खोला किनारमा बिहानै हिँड्दै जाने, हातमा टाटेपाटे सानो डोलु, भित्र कुश, जौ, तिल र कमेरो राखेर जाने दृश्य अझै आँखा अगाडि आउँछ। “बाबाले भन्नुहुन्थ्यो -यी शरीर शुद्ध मात्र होइन, मन पनि शुद्ध पार्छन्। पानीको चिसोपनले तन ताजगी पाउँछ, मन्त्रले मन सन्तुलित हुन्छ।” लक्ष्मी अधिकारी आज पनि बिहान सबेरै उठेर खोला जान्छन्, यद्यपि शहरमा बस्न थालेपछि धेरैलाई नजिकको धारामा वा घरमै स्नान गर्न सजिलो लागेको छ। उनी भन्छन् –
“हामीले आस्था बोकेर गर्ने काम, अहिले धेरैले ‘फोटो खिच्ने मौका’ का लागि मात्र गर्ने जस्तो लाग्छ।”
उनका अनुसार, पुरानो पुस्ताले जनै पूर्णिमालाई परिवार, गाउँ र समुदायसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गर्थ्यो। स्नानपछि सामूहिक क्वाँटी खाने, आँगनमा बस्ने, पुराना कुरा सुनाउने र बच्चाहरूलाई मन्त्र सिकाउने चलन थियो। जनै पूर्णिमा केवल जनै फेर्ने पर्व मात्र नभई, यस दिन पण्डित-पुजारीको हातबाट मन्त्र जपेर बाँधिने डोरी (रक्षा सूत्र) लगाउने परम्परासमेत प्रचलित छ। धेरै पुरुषहरूले यस दिन उपवास बसेको अनुभव पनि गर्न सकिन्छ।
धार्मिक विश्वासअनुसार, यस दिन लगाइने पवित्र मन्त्रपारिएको डोरी लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँध्दा, स्वर्ग जाने बाटो मानिने वैतरणी नदी समेत पार गर्न सकिन्छ भन्ने आस्था नेपाली जनमानसमा गहिरो छ।
जनै भनेको के हो?
जनैलाई संस्कृतमा ‘यज्ञोपवीत’ भनिन्छ –यज्ञ भन्नाले कुनै पनि प्रकारको पूजा, अर्पण, भक्ति वा हवन बुझिन्छ। ‘उपवीत’ भन्नाले यज्ञ गर्दा धारण गर्नुपर्ने वस्त्र वा धागो जनाइन्छ। यसलाई यज्ञसूत्र, ब्रह्मसूत्र आदिले पनि सम्बोधन गरिन्छ।
श्रावण शुक्ल पूर्णिमालाई जनै पूर्णिमा मात्र नभई पछिल्ला दिनहरूमा दिदी-बहिनी र दाजु-भाइको पर्वका रूपमा पनि बढी मानिन थालिएको पाइन्छ। यस दिन दाजु वा भाइले आफ्नी दिदी वा बहिनीको हातबाट रक्षा सूत्र (डोरी) बाध्ने गरिन्छ, जसले जीवनमा आउने उतार-चढावमा ढालको काम गर्ने विश्वास छ।
२८ वर्षीया सरिता पाण्डेको दृष्टिमा, जनै पूर्णिमाले अब दाजु-बहिनीको भावनालाई पनि अँगालेको छ। उनी तीन बहिनी हुन्, दाजु छैन। तर उनले आफ्ना दुवै बहिनीलाई ‘दाजु-भाइ’को भूमिका दिन्छिन्।
“हाम्रो लागि रक्षा भनेको मात्र हातमा धागो बाँध्नु होइन, एक-अर्काको साथ दिनु हो। दाजु भएन भनेर पर्वको महत्त्व घट्दैन, म त अझ बढी माया दिन्छु।”
उनले सामाजिक मापनमा देखिएको परिवर्तनलाई स्वीकार्छिन् -अहिलेका युवाले यस दिनलाई परम्परागत संस्कारसँगै आपसी सम्बन्ध बलियो पार्ने दिनका रूपमा लिन थालेका छन्। सरिताका लागि जनै पूर्णिमा अब ‘घरको आँगनमा मात्र सीमित नभई, आधुनिक शहरको फ्ल्याटमा पनि बस्ने संस्कार’ भएको छ।
यो प्रचलन धेरै पुरानो नभए पनि पछि भारतबाट नेपालमा प्रवेश गरेको भन्ने मत पनि पाइन्छ। जे भए पनि, यस परम्पराले टाढा-टाढा बसेका दिदी-भाइ वा दाजु-बहिनीलाई नजिक ल्याउन ठूलो भूमिका खेलेको छ।
शिव भण्डारी (२४), काठमाडौँ विश्वविद्यालयमा योगा स्नातक, पुरानो पुस्ताको ज्ञान र आधुनिक जीवनशैलीलाई जोडेर हेर्छन्। उनका अनुसार, चाड-पर्वको उद्देश्य मात्र धार्मिक अनुष्ठान होइन, आत्म-पहिचान र समुदायको संरक्षण हो।
“हाम्रो वेद र पुराणहरूले हामीलाई मात्र पूजा गर्ने कुरा भनेका छैनन्, तीले हामीलाई सम्बन्ध, दया, र प्रकृतिसँगको सहजीवन सिकाएका छन्। जनै पूर्णिमामा नदीमा स्नान गर्नु, मन्त्रपारिएको धागो लगाउनु -यी सबै क्रियाले हामीलाई मूलसँग जोड्छ।” उनका दृष्टिमा, युवा पुस्ताले पनि यस पर्वलाई आफ्नो ढंगले पुनःपरिभाषित गर्न सक्छ । “रक्षा सूत्र बाँध्ने कुरा केवल धर्मको रक्षा मात्र होइन, प्रकृति, संस्कार र एक-अर्काप्रतिको जिम्मेवारीको प्रतीक हुनुपर्छ।” “रक्षा सूत्र बाँध्ने कुरा केवल धर्मको रक्षा मात्र होइन, प्रकृति, संस्कार र एक-अर्काप्रतिको जिम्मेवारीको प्रतीक हुनुपर्छ।”
तपाईंको प्रतिक्रिया