एसईई नतिजामा लापरबाही, पुनर्योगपछि सयौं विद्यार्थी पास

 श्रावण ३०, २०८२

✍ लेखा खबर संवाददाता


एसईई नतिजामा लापरबाहीपछि पुनर्योग दिइरहेका विद्यार्थीहरू

पुनर्योग प्रक्रियामा २६७ अनुत्तीर्ण विद्यार्थीले पास ग्रेड पाए; परीक्षा बोर्डको त्रुटि उजागर

काठमाडौं, साउन २९ – राष्ट्रिय परीक्षा बोर्डले गत महिना सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई नतिजामा लापरबाही भएको पाइएको छ। प्रकाशित नतिजामा चित्त नबुझेका २७ हजार ३१५ विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। छानबिनका क्रममा अंक गणनादेखि डाटा इन्ट्रीसम्मका त्रुटिहरू खुलेका छन्।

मंगलबारसम्म पुनर्योगको नतिजा सार्वजनिक गर्दा २७ हजार ८ विद्यार्थीको परिणाम आएको छ। तीमध्ये ८६० विद्यार्थीको ग्रेडमा परिवर्तन भएको र २६७ अनुत्तीर्ण विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए। अझै ३०७ विद्यार्थीको नतिजा प्रकाशन हुन बाँकी छ, जसले उत्तीर्ण संख्या अझ बढ्न सक्ने देखिन्छ।

अधिकारीका अनुसार, अंक उत्तरपुस्तिकाबाट बाहिर पोस्टिङ नगर्नु, काउन्टिङ नगर्नु, डाटा इन्ट्रीमा गल्ती हुनु तथा कतिपय अवस्थामा मार्किङ नै छुट्नु जस्ता कारणले यो त्रुटि भएको हो। “एसईईको नतिजा विद्यार्थीको भविष्यसँग जोडिएको हुनाले सबै तहका जिम्मेवार पक्ष सचेत हुनुपर्छ,” उनले भने।

पुनर्योगमा ३.२६ प्रतिशत विद्यार्थीको ग्रेड वृद्धि

चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत (२ लाख ७१ हजार २९९) विद्यार्थी उत्तीर्ण भएका थिए। पुनर्योगपछि ३.२६ प्रतिशत विद्यार्थीको ग्रेडमा सुधार आएको छ।

पुनर्योगका लागि प्रतिविषय ५०० रुपैयाँ शुल्क लाग्छ। चित्त नबुझ्दा विद्यार्थीले १,५०० रुपैयाँमा उत्तरपुस्तिका हेर्न र २,००० रुपैयाँमा विज्ञबाट पुनः परीक्षण गराउन सक्ने व्यवस्था छ।

आजदेखि पूरक परीक्षा सुरु

साउन २९ गतेदेखि सुरु भएको पूरक परीक्षामा देशभरका ४६९ केन्द्रमा १ लाख ४२ हजार ८५३ विद्यार्थी सहभागी छन्। गणितमा सबैभन्दा धेरै १ लाख ७६ हजार १७० विद्यार्थी सहभागी छन्।

यसका साथै, सामाजिक शिक्षा (१,१६,०५५), अंग्रेजी (१,१४,६६८), विज्ञान तथा प्रविधि (१,०७,९१८) र नेपाली (७४,८५०) विषयमा पनि उल्लेख्य संख्यामा विद्यार्थी परीक्षा दिइरहेका छन्। पूरक परीक्षा भदौ ६ गतेसम्म सञ्चालन हुनेछ।

एसईई २०८२ नतिजा सार्वजनिक: फेल दर अझै उच्च, गणितमा चुनौती कायमै

अधिकारीका अनुसार, गणित, अंग्रेजी, सामाजिक र विज्ञानमा धेरै विद्यार्थी असफल भइरहेका छन्। पूरक परीक्षाबाट पास हुनेले यसै शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना हुन पाउनेछन्।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5