चितवनमा एक वर्षमै ८६ बालबालिका अपराधमा संलग्न, चोरी र लागुऔषध प्रमुख

काठमाडौं, भदौ २ – चितवन प्रहरीले गत एक वर्षमा विभिन्न अपराधमा संलग्न ८६ जना बालबालिकालाई पक्राउ गरेको छ। १० देखि १८ वर्ष उमेर समूहका ती बालबालिका चोरी, लागुऔषध, अभद्र व्यवहारलगायत मुद्दामा संलग्न भएको पाइएको प्रहरी तथ्याङ्कले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर/अभद्र व्यवहारमा २६, चोरीमा २२, लागुऔषधमा २१, ज्यानमार्ने उद्योगमा सात, जबरजस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई, सवारी ज्यानमा दुई र साइबर क्राइममा एकजना बालक पक्राउ परेका छन्।
चोरी र लागुऔषधमा बढी प्रयोग
प्रहरीका अनुसार पछिल्ला दिनमा बालबालिकाको प्रयोग अपराधमा बढ्दो छ। विशेषगरी चोरी र लागुऔषध ओसारपोसारमा बालबालिकालाई सामान्य पैसा दिएर प्रयोग गर्ने प्रवृत्ति बढेको पाइएको छ।
पुरीका अनुसार, चोरीका घटनामा तराई क्षेत्रबाट बालबालिका ल्याएर प्रयोग गर्ने गरिएको छ। उनले भने,
“बालबालिकालाई अगाडि पठाएर चोरी गराउने र ठूला व्यक्तिहरूले त्यसबाट कमाउने गरेका छन्। कतिपय घटनामा चोरी गर्न लगाउने ठूला मानिसहरूलाई समेत पक्राउ गरी कारबाही गरिएको छ।”
अभद्र व्यवहार र अन्य अपराधमा संलग्नता
प्रहरी तथ्याङ्कले देखाउँछ कि सार्वजनिक कसूर/अभद्र व्यवहारमा समेत बालबालिकाको संलग्नता उल्लेख्य छ। लागुऔषध ओसारपोसारमा प्रयोग हुनुका साथै अन्य अपराधमा समेत बालबालिका संलग्न गराइने गरिएको प्रहरीको भनाइ छ।
सडक बालबालिका: उपेक्षित बाल्यकाल र हाम्रो सामाजिक उत्तरदायित्व
प्रहरीले बालबालिकालाई अपराधमा संलग्न गराउने सामाजिक प्रवृत्ति बढ्नु चिन्ताजनक रहेको बताएको छ। प्रहरीको भनाइमा, अभिभावकको जिम्मेवारी, बालबालिकामा चेतना अभाव र सजिलो पैसाको लोभले अपराधमा संलग्न हुने अवस्था देखिन्छ।
तपाईंको प्रतिक्रिया