हामास द्वारा युद्धविराम स्वीकार, आधा बन्धक मुक्त हुने, विपिन मुक्त हुने सम्भावना कति ?

 भदौ ०३, २०८२

✍ लेखा खबर संवाददाता


गाजा सहरमा इस्रायली आक्रमणपछि धुलो र धुवाँ उठिरहेको दृश्य

काठमाडौं, भदौ ३ – गाजा युद्ध २२ महिनामा प्रवेश गर्दा मृत्यु संख्या ६२ हजार नाघिसकेको बेला हामासले इजरेलसँगको ६० दिनको युद्धविराम प्रस्ताव स्वीकार गरेको छ। यस प्रस्तावअनुसार हामासले आफ्नो नियन्त्रणमा रहेका आधा बन्धक फिर्ता गर्नेछ भने इजरेलले केही प्यालेस्टिनी कैदीलाई मुक्त गर्ने सहमति गरिएको छ।

प्रस्तावबारे हामासको घोषणा

हामासका वरिष्ठ नेता बासेम नाइमले फेसबुकमार्फत युद्धविराम प्रस्ताव स्वीकार गरेको पुष्टि गरेका छन्। उनले अन्य प्यालेस्टिनी पक्षहरूले पनि मध्यस्थकर्ता मिस्र र कतारलाई आफ्नो स्वीकृति दिएको बताए। इजिप्टका अधिकारीहरूले यो प्रस्तावलाई “पूर्ण युद्धविरामको खाका” को रूपमा लिएको बताएका छन्। तर इजरेली पक्षबाट भने आधिकारिक प्रतिक्रिया आइसकेको छैन।

युद्धको वर्तमान अवस्था

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ। भोकमरी र कुपोषणका कारण मात्रै २६३ जना (जसमध्ये ११२ बालबालिका) को मृत्यु भएको छ। इजरेली सेना अहिले गाजा सहरतर्फ सैन्य आक्रमण बढाइरहेको छ। इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हामास “अत्यधिक दबाबमा रहेको” दाबी गरेका छन्।

यसैबीच इजरेलभित्रै युद्ध अन्त्य र बन्धक मुक्तिका माग गर्दै दसौँ हजार प्रदर्शनकारी सडकमा उत्रिएका छन्। परिवारजनले युद्ध जारी रहे जीवित बन्धकहरूको जीवन संकटमा पर्ने चेतावनी दिएका छन्। पूर्वी गाजामा बसोबास गर्ने हजारौँ मानिसहरू निरन्तर बमबारीका कारण पश्चिमतर्फ र दक्षिणतर्फ विस्थापित भएका छन्।

यो युद्धविराम प्रस्ताव अमेरिकी दूतको योजना अनुरूप रहेको बताइएको छ, जसलाई इजरेलले यसअघि नै स्वीकृत गरेको थियो। अब मिस्र, कतार र अमेरिकाको सक्रियतामा दुवै पक्षबीच अन्तिम सहमतिका लागि वार्ता जारी रहनेछ। यदि यो प्रस्ताव कार्यान्वयन भयो भने, गाजा युद्धमा पहिलो पटक ठूला स्तरको युद्धविराम र बन्धक–कैदी विनिमय सम्भव हुने देखिएको छ।

सम्झौतामा सहमति भएपछि के हुन्छ ?

  1. हामासले पहिलो चरणमा आधा बन्धक फिर्ता गर्ने प्रतिवद्धता जनाएको छ।
  2. प्राथमिकतामा प्रायः विदेशी नागरिक, महिलाहरू, बालबालिका, बिरामी वा वृद्ध बन्धकहरू हुन्छन्।
  3. बाँकी बन्धकहरूको रिहाइ पश्चिमी देशको दबाब, इजरायलले गर्ने कैदी रिहाइ, र मानवीय सहायताको निरन्तरतासँग जोडिन्छ।
  4. यस क्रममा अन्य नागरिक, कामदार वा सैन्य बन्धकहरू बिस्तारै मुक्त हुने सम्भावना हुन्छ।

नेपालमा ३० लाख गाई-गोरु अचानक हराए: तस्करी र नीतिगत कमजोरी शंका

नेपाली नागरिक बिपिन जोशीको सम्भावना

सबै बन्धकको अवस्थाबारे स्पष्ट तथ्यांक छैन। इजरेली अधिकारीहरूको अनुमान अनुसार गाजामा रहेका ५० मध्ये करिब २० जना मात्र बन्धक जीवित छन्। बिपिन जोशी नेपाली नागरिक भएकाले विदेशी नागरिकको श्रेणीमा पर्छन। अघिल्ला सम्झौताहरूमा (जस्तै २०२३ नोभेम्बरको अस्थायी युद्धविराम) विदेशी नागरिकलाई पनि प्राथमिकता दिइएको थियो। त्यसैले, यदि बिपिनअझै जीवित भए पहिलो वा दोस्रो चरणमै रिहा हुने सम्भावना बलियो छ।

नेपालमा पनि हमासले बन्धक बनाएका विपिन जोशीको शीघ्र रिहाइका लागि सरकार निरन्तर पहलमा जुटिरहेको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5