८१६ कार्यालयमा छड्के अनुगमन: कुन-कुन जिल्लामा कति कर्मचारीको लापरबाही, तथ्याङ्कसहित

 भदौ ०४, २०८२

✍ लेखा खबर संवाददाता


राष्ट्रिय सतर्कता केन्द्रको छड्के अनुगमन प्रतिवेदन प्रस्तुत गर्दै अधिकारी

काठमाडौं, भदौ ४ – राष्ट्रिय सतर्कता केन्द्रको अनुगमन टोलीले आर्थिक वर्ष २०८१/८२ मा ३९ जिल्लाका ८१६ कार्यालयमा छड्के अनुगमन गर्दा ५ हजार ९ सय ३७ जना कर्मचारी तोकिएको समयमा कार्यालयमा उपस्थित नभएको र १ हजार ४ सय ६२ जना कर्मचारी कार्यालय समयमा प्रवेश गरे पनि तोकिएको सरकारी पोशाक नलगाई आएको तथ्याङ्क वार्षिक प्रतिवेदनमा समेटिएको छ। केन्द्रले सो प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाएको छ। प्रतिवेदनअनुसार मधेस र कर्णाली प्रदेशका जिल्लाहरूमा सबैभन्दा बढी कर्मचारीको लापरबाही देखिएको छ।

भ्रष्टाचार नियन्त्रणका लागि स्थापना भएको केन्द्र

भ्रष्टाचारजन्य गतिविधि प्रभावकारी रूपमा नियन्त्रण गर्न र भ्रष्टाचारविरुद्ध जनचेतना बढाउन २०५९ साल साउन २७ गते राष्ट्रिय सतर्कता केन्द्र स्थापना भएको हो। प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशन तथा निगरानीमा रहने यस केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जम्मा १ हजार ३ सय ३० उजुरीहरू प्राप्त गरेको थियो।
वार्षिक प्रतिवेदनभित्र समेटिएको विवरणअनुसार तोकिएको समयमा कार्यालयमा नपुगेका तथा सरकारी पोशाक नलगाई उपस्थित भएका कर्मचारीहरूको अवस्था:


तालिकाअनुसार कर्णाली र मधेस प्रदेशका जिल्लाहरूमा समयमा उपस्थित नहुने तथा तोकिएको पोशाक नलगाउने कर्मचारीहरूको संख्या तुलनात्मक रूपमा बढी देखिएको छ। भ्रष्टाचार न्यूनीकरण र जनचेतना अभिवृद्धिका लागि केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा ६ वटा जिल्ला-स्तरीय गोष्ठी र १२ वटा स्थानीय तहका कर्मचारीलाई लक्षित गरी शिक्षा कार्यक्रम सञ्चालन गरेको जनाएको छ।


केन्द्रका अनुसार कर्मचारीहरूको समयमा उपस्थित हुने प्रवृत्तिमा भने अनुगमनपश्चात सुधार आएको देखिएको छ। सिंहदरबारभित्रका मन्त्रालय तथा निकायहरूमा पटक-पटक गरिएको अनुगमनका कारण यस्तो सुधार आएको केन्द्रका सचिव सरजू कुमार वैद्यले बताएका छन्। तर, जिल्लास्तरीय कार्यालयहरूमा नियमित रूपमा अनुगमन गर्न नसक्दा अनियमितता र भ्रष्टाचारलाई जरैदेखि उखेलेर हटाउन नसकिएकोप्रति सचिव वैद्यले असन्तुष्टि व्यक्त गरेका छन्।

चितवनमा एक वर्षमै ८६ बालबालिका अपराधमा संलग्न, चोरी र लागुऔषध प्रमुख
केन्द्रले समयमा कार्यालय नआउने र तोकिएको पोशाक नलगाउने कर्मचारीहरूलाई सम्बन्धित निकायमार्फत नियमअनुसार कारबाही गर्न निर्देशन दिँदै आएको छ। यसका कारण कार्यालय अनुगमनमार्फत कर्मचारीहरूलाई समयपालनामा ध्यान दिने, सरकारी पोशाक लगाउने र कार्यकक्षमा उपस्थित रहने जस्ता विषयमा सुधार हुँदै गएको केन्द्रले जनाएको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5