लिसा मूल्याङ्कनमा उत्कृष्ट ६ पालिका सरकार द्वारा सम्मानित

 भदौ ०७, २०८२

✍ लेखा खबर संवाददाता


लिसा मूल्याङ्कनमा उत्कृष्ट ६ पालिकालाई सम्मान गर्दै मन्त्री भगवती न्यौपाने

काठमाडौं, भदौ ७ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा सार्वजनिक गर्दै उत्कृष्ट ६ पालिकालाई विशेष सम्मान गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा मन्त्री भगवती न्यौपानेले लिसा मूल्याङ्कनमा उत्कृष्ट पालिका घोषित भएका स्थानीय तहका प्रतिनिधिलाई कदरपत्र प्रदान गर्नुभयो।

गत आर्थिक वर्षमा सम्पन्न लिसा मूल्याङ्कन र वित्तीय जोखिम मूल्याङ्कन (एफआरए) को आधारमा ३ नगरपालिका र ३ गाउँपालिका उत्कृष्ट घोषित भएका हुन्। नगरपालिकातर्फ चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिका छनोट भएका छन्। गाउँपालिकातर्फ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, धादिङको बेनीघाट गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिका उत्कृष्ट घोषित गरिएका छन्।

मन्त्रालयले स्थानीय तहको कार्यसम्पादन, संस्थागत क्षमता र वित्तीय जोखिम व्यवस्थापनलाई आधार मानेर लिसा मूल्याङ्कन गरेको जनाएको छ। कार्यक्रममा मन्त्री न्यौपानेले पालिकाहरूलाई अझ जिम्मेवार, पारदर्शी र सेवा–केन्द्रित शासन प्रणाली विकास गर्न आग्रह गर्नुभयो।

सोही अवसरमा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (एलजिपिएस) को समेत शुभारम्भ गरिएको छ। नयाँ प्रणालीमार्फत एकीकृत मूल्याङ्कन गर्ने व्यवस्था मिलाइने मन्त्रालयको भनाइ छ।
उत्कृष्ट लिसा (LISA) स्कोरसहित अर्जुनचौपारी देशकै मोडेल पालिका

मन्त्रालयका अनुसार यस प्रकारका मूल्याङ्कनले स्थानीय तहलाई अझ प्रभावकारी बनाउन, सेवा वितरणमा गुणस्तर वृद्धि गर्न र जनतासँगको प्रत्यक्ष जवाफदेहितामा सुधार ल्याउन मद्दत गर्नेछ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5