काठमाडौँ महानगरमा विपद् घटनामा आंशिक कमी, तर नयाँ जोखिमहरू थपिँदै

पुराना रूख, तार व्यवस्थापन र ग्यास सुरक्षामा समस्या
काठमाडौँ, भाद्र ८ । काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामा विपद् घटनाको सङ्ख्या केही घटेको जनाएको छ । तर, स्वरूपगत रूपमा नयाँ खालका विपद् जोखिम बढ्दै गएको महानगरको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा ४३१ विपद् घटना दर्ता भए पनि २०८१/८२ मा घटेर ४२५ मा सीमित भएको महानगरपालिकाले सार्वजनिक गरेको छ । यद्यपि, घटनाको शीर्षकगत स्वरूप हेर्दा रूख कटान, पुराना रूखका कारण उत्पन्न दुर्घटना तथा जलजन्य समस्या उल्लेख्य मात्रामा बढेको नगर प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद जोशीले बताएका छन्।
उनका अनुसार अघिल्लो वर्ष ३११ वटा आगलागीजन्य घटना भए पनि पछिल्लो वर्ष घटेर १५२ मा सीमित भएको छ । तर, सडक किनारामा अनियन्त्रित रूपमा उभिएका पुराना रूख ढल्दा हुने दुर्घटना, विद्युत् पोलमा आगलागी तथा इन्टरनेट प्रदायकहरूले अव्यवस्थित रूपमा टाँसेका तारका कारण हुने विपद् बढिरहेको देखिन्छ ।
महानगरले पुराना रूख व्यवस्थापनका लागि अभियान थालिएको जनाएको छ । तर, इन्टरनेट सेवा प्रदायकहरूको उदासीनता, विद्युत् पोलमा तारको अस्तव्यस्तता, साथै प्रयोगमा रहेका थोत्रा ग्यास सिलिण्डर, ग्यास पाइप र रेगुलेटरको नियमित परीक्षण नगर्दा आगलागीजन्य जोखिम अझै टारेको छैन ।
जोशीका अनुसार, संख्यात्मक कमीले भ्रामक सान्त्वना दिन सक्ने भए पनि गुणात्मक रूपमा काठमाडौँ अझै उच्च जोखिममा रहेको छ ।
उपभोक्ता ठगी गर्ने ७१ उद्योग-फर्मलाई ५९ लाख बढी जरिवाना
तपाईंको प्रतिक्रिया