नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा कार्कीले लिइन सपथ

काठमाडौँ, भदौ २७ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको नेतृत्वका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ दिलाउनुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो।
राष्ट्रपति पौडेलले असामान्य परिस्थिति र युवा पुस्ताद्वारा प्रकट गरिएका मागअनुरूप, राजनीतिक दल तथा सरोकारवालासँगको परामर्शपछि कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।
संविधानमा राष्ट्रपतिलाई निहित अधिकार प्रयोग गर्दै उहाँलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको हो, जसको प्रमुख दायित्व छ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु, संविधानको पालना र संरक्षण गर्नु तथा राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नु।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थित थियो।
जेनजीद्वारा उठाइएका मागबारे सहमति भएपछि पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो। नवनियुक्त प्रधानमन्त्रीले सानो मन्त्रिपरिषद गठन गर्ने योजना बनाएकी छिन्, जसको सिफारिशका आधारमा सरकारका प्राथमिकताका काम अघि बढाइनेछ।
जेनजीले मुलुकमा सुशासन, नयाँ पुस्ताको नेतृत्व तथा निस्क्रिय तुल्याइएको सामाजिक सञ्जालको पुनःसञ्चालनको माग गर्दै प्रदर्शन गरेका थिए। उक्त आन्दोलन र त्यसपछिका घटनामा ठूलो जनधनको क्षति भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि आन्दोलनको मागअनुरूप कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको हो।
अचानक बदलिएको राजनीतिक परिस्थिति र अन्यौलपूर्ण वातावरणबीच नेपाली सेनाको पहलमा कानुनी राज्य र शान्ति कायम गर्दै वार्ता तथा संवादमार्फत नयाँ सरकार गठन सम्भव भएको हो। सेनाले संविधानसम्मत ढङ्गले जिम्मेवारी बहन गर्दै जटिल अवस्थामा संयमपूर्वक परिस्थितिलाई सहज बनाउन भूमिका निर्वाह गरेको बताइएको छ।
नेपालको पहिलो महिला प्रधानन्यायाधीशको रूपमा ख्याति कमाएकी सुशीला कार्की कार्यपालिका प्रमुख अर्थात् पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभयो। लामो समय वकालत गरेकी उहाँ सर्वोच्च अदालतकी न्यायाधीश हुँदै प्रधानन्यायाधीशसम्म पुग्नुभएको थियो।
न्यायालयभित्र प्रष्ट विचार, दृढ स्वभाव र इमानदार छविका कारण चर्चित उहाँको नेतृत्वमा बनेको सरकारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारी गरेको छ।
तपाईंको प्रतिक्रिया