स्वघोषित “Gen Z नेता”हरूले बुझ्न जरुरी छ- आन्दोलन मजाक होइन

 असोज २१, २०८२

✍ सुजन अधिकारी


स्वघोषित "Gen Z नेता"हरूले बुझ्न जरुरी छ- आन्दोलन मजाक होइन

एक असन्तुष्ट Gen Z उद्यमीको आवाज

काठमाडौं, २१ असोज। सेप्टेम्बर ८ र ९ को जनआन्दोलनले हामी सबैलाई उत्साहित बनायो। पहिलोपटक लाग्यो हाम्रो पुस्ता केवल मोबाइल र गेममा सीमित छैन, सडकमा पनि आवाज उठाउन सक्छ। त्यतिबेला म पनि हजारौँ युवासँगै उभिएको थिएँ। एउटै नारा, एउटै सपना लिएर। लाग्थ्यो, यो पुस्ता साँच्चै देश बदल्ने पुस्ता हो।

तर एक महिनामै त्यो उत्साह र गर्व अहिले लाज र निराशामा परिणत भएको छ।

किन?
किनभने हाम्रो आफ्नै “नेतृत्व”ले आन्दोलनको मर्म बुझेन। हिजो परिवर्तनको स्वर बन्न खोज्नेहरू आज टिकटकका ट्रोल बनेका छन्। उनीहरू विभाजित छन्, दिशाहीन छन्, र आपसमा आरोप–प्रत्यारोपमै रमाइरहेका छन्। सामाजिक सञ्जालमा “दाजु–भाइ युद्ध” चलेको छ जसले जोस, विचार र उद्देश्य सबैलाई बिथोल्दैछ।

यी स्वघोषित “Gen Z नेता”हरूले बुझ्न जरुरी छ- आन्दोलन मजाक होइन। आन्दोलनले जिम्मेवारी माग्छ, लोकप्रियता होइन। तर उनीहरूको व्यवहारले जनताको धैर्य यति हदसम्म तोड्दैछ कि, जसले ३० वर्षमा राजनीतिक दलहरूप्रति वितृष्णा जगायो, त्यसलाई यी “नयाँ” Gen Z अगुवाहरूले एक महिनामै दोहोर्याएका छन्।

आन्दोलनमा हरेक उमेरका, हरेक वर्गका मानिस उभिएका थिए। ८० वर्षका आमाबाबुहरूले पनि विश्वास गरेका थिए, यी युवा फरक छन्, यी लोभी छैनन्, यी इमानदार छन्। तर अहिले ती सबै बिस्तारै पछि हट्दैछन्। किनभने आन्दोलनका अग्रपंक्तिका मानिसहरू स्वार्थ, इगो र “भ्युअर काउन्ट”को भुमरीमा हराइरहेका छन्।

आज म जस्ता धेरै Gen Z उद्यमीहरू, जो सुरुमा खुलेर समर्थन गर्थ्यौं, अहिले चुपचाप हेर्दैछौं। किनभने बोल्दा पनि बेकार, जसले साँचो कुरा गर्छ, ऊ “कन्भेन्सनल” वा “ओल्ड माइन्डसेट” भनेर बहिस्कार गरिन्छ।

तर वास्तविकता के हो भने अहिलेको यो अव्यवस्थित, असंगठित र असंयमित क्रियाकलापले भ्रष्ट पुरानो प्रणालीलाई पुनः जिन्दा बनाइरहेको छ। हामीले जुन दुराचारविरुद्ध लडेका थियौं, त्यही दुराचार फेरि फर्किंदैछ, किनभने जनताको विश्वास फेरि हराउँदैछ।

हामीले बुझ्न जरुरी छ

आन्दोलन केवल राग होइन, रणनीति पनि हो। नेतृत्व केवल उग्रता होइन, उत्तरदायित्व पनि हो।
आन्दोलनले शक्ति तब पाउँछ, जब विचारमा एकता र बोलीमा मर्यादा हुन्छ।

म अझै पनि आशावादी छु, हाम्रो पुस्तामा सम्भावना छ। तर त्यो सम्भावनाले तबमात्र फल देला, जब हामी “हाम्रो पुस्ता” भन्ने अहंकारभन्दा माथि उठेर “हाम्रो देश” भन्ने चेतनामा फर्किन्छौं।

अहिले भावनाको होइन, विवेकको नेतृत्व जरुरी छ। यदि हामीले अहंकार र अव्यवस्था छोड्यौं भने, इतिहासले हामीलाई ‘परिवर्तनको पुस्ता’ भनेर सम्झिनेछ। तर यदि यस्तै चलिरह्यो भने, हामी केवल अर्को “फेल्ड जेनेरेसन” बन्नेछौं, जसले आफ्नो क्रान्ति आफैं नष्ट गर्‍यो।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?