एम्बुलेन्समा गाँजा ओसारपसार: मोरङमा प्रहरीले गोली चलाएर २ जनालाई नियन्त्रणमा

 पुष १४, २०८२

✍ लेखा खबर संवाददाता


मोरङमा एम्बुलेन्सबाट गाँजा ओसारपसार गर्दा प्रहरीले हवाई फायर गरी नियन्त्रण गरेको घटना।

काठमाडौँ, १४ पुस- मोरङमा एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको अवस्थामा हवाई फायर गर्दै दुई जनालाई नियन्त्रणमा लिएको छ। घटना आइतबार राति मोरङको केराबारी गाउँपालिका–५, लाफा टोलमा भएको हो।

प्रहरीका अनुसार आइतबार राति करिब साढे ११ बजे धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोक्न खोज्दा चालक र सवार व्यक्ति भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको थियो।

४८० किलो गाँजासहित दुई जना पक्राउ

एम्बुलेन्स चालक धनकुटा सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू भाग्न खोजे पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार एम्बुलेन्सबाट करिब ४८० किलो गाँजा बरामद गरिएको छ।

दुई दिनमै दोस्रो पटक गोली

यसअघि शनिबार राति पनि मोरङको जहदा गाउँपालिका–२, तारिगाममा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले एक राउण्ड हवाई फायर गरी ३३० किलो गाँजासहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले पछिल्ला दिनहरूमा लागुऔषध तस्करी बढ्दै गएपछि कडाइका साथ निगरानी र कारबाही भइरहेको जनाएको छ। एम्बुलेन्सजस्तो अत्यावश्यक सेवाको सवारी साधन दुरुपयोग गरी गरिएको गाँजा ओसारपसारप्रति प्रहरी गम्भीर बनेको छ।

एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार हुनु गम्भीर अपराध भएको भन्दै प्रहरीले यस्ता गतिविधिमा संलग्न जोसुकैमाथि कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।
ओलीको अडानमा नरमता: जाँचबुझ आयोगमा जवाफ पठाउने, आफैं उपस्थित भने नहुने

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5