कांग्रेसको समानुपातिक बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व छैन

 पुष १६, २०८२

✍ लेखा खबर संवाददाता


नेपाली कांग्रेसको समानुपातिक बन्दसूचीमा जिल्लागत प्रतिनिधित्वको अवस्था

काठमाडौँ, १६ पुस – नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिक निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व नपरेको पाइएको छ। कांग्रेसको बन्दसूचीमा कुल ६४ जिल्लाको मात्रै प्रतिनिधित्व समेटिएको हो।

बन्दसूचीमा समावेश नामहरूको विश्लेषण गर्दा सबैभन्दा बढी बागमती प्रदेशका चार जिल्ला सूचीबाहिर परेका छन्। यसैगरी कोशी र गण्डकी प्रदेशका तीन–तीन, लुम्बिनीका दुई तथा कर्णाली प्रदेशको एक जिल्ला बाट कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार नसमेटेको देखिएको छ।

कांग्रेसको बन्दसूचीमा बागमती प्रदेशका ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवन, कोशी प्रदेशका धनकुटा, ओखलढुंगा र खोटाङ, गण्डकीका मनाङ, म्याग्दी र लमजुङ, लुम्बिनीका पूर्वी रुकुम र प्युठान तथा कर्णालीको जुम्लाबाट कुनै पनि उम्मेदवार समेटिएका छैनन्।

मधेश र सुदूरपश्चिम पूर्ण रूपमा समेटिए

कांग्रेसको बन्दसूचीमा भने मधेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लाले प्रतिनिधित्व पाएका छन्।

मधेश प्रदेशमा धनुषाबाट ६ जना, बारा र सप्तरीबाट ३–३ जना, महोत्तरी र रौतहटबाट २–२ जना, तथा सर्लाही, सिरहा र पर्साबाट एक–एक जना बन्दसूचीमा परेका छन्। धनुषाबाट सिफारिस भएका डा. चन्द्रमोहन यादवको नाम दोहोरिएको देखिन्छ। उनी पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा हुन्।

सुदूरपश्चिममा कुन–कुन जिल्लाबाट को परे?

सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुरबाट दुई–दुई जना बन्दसूचीमा परेका छन् भने बाँकी सात जिल्लाबाट एक–एक जनाको प्रतिनिधित्व गरिएको छ।

कैलालीबाट यज्ञनिधि कोइराला र रिताकुमारी चौधरी, कञ्चनपुरबाट तौला राना र कल्पना केसी बन्दसूचीमा छन्। सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट हरिना कामी, डोटीबाट प्रसिस महरा, बाजुराबाट विद्यादेवी तिमिल्सिना तथा दार्चुला, बैतडी, अछाम र बझाङबाट समेत प्रतिनिधि समेटिएका छन्।


तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?