सुनसरीको बोर्डर क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु, स्थानीय आक्रोशित

 पुष १७, २०८२

✍ लेखा खबर संवाददाता


सुनसरीको बोर्डर इलाकामा सशस्त्र प्रहरीको गोली प्रहारपछि स्थानीयको प्रदर्शन

काठमाडौँ, १६ पुस – सुनसरीको बोर्डर इलाकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ। सशस्त्र प्रहरीको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो।

स्थानीयका अनुसार आइतबार राति करिब साढे १ बजे गोली चलेको आवाज सुनिएको थियो। आवाज सुनेर बाहिर निस्कँदा वरिपरि सशस्त्र प्रहरी देखिएको र एक व्यक्तिलाई गोली लागेको अवस्थामा भेटिएको उनीहरूको भनाइ छ।

घटनाबारे सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीले तस्करीको सामान नियन्त्रण गर्ने क्रममा क्रस फायर भएको जनाएको छ। गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निर्मल थापाका अनुसार भन्सार छलि गरिएका सामान बोकेको अटो रोक्ने प्रयास गर्दा उक्त समूहबाट पहिला फायरिङ भएको थियो।

उनका अनुसार जवाफी कारबाहीका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा चिनीका बोरा लोड गरी पछाडिबाट आउँदै गरेको सिटी चालक विजय साहलाई गोली लागेको हो।

यता, स्थानीयवासीले भने सशस्त्र प्रहरीको ज्यादतीका कारण निर्दोष व्यक्तिको ज्यान गएको आरोप लगाएका छन्। उनीहरूले रकम नदिएको निहुँमा गरिखाने सामान्य व्यक्तिमाथि गोली हानी हत्या गरिएको दाबी गर्दै सोमबार बिहानदेखि लौकही क्षेत्रमा प्रदर्शन चर्काएका छन्।

आक्रोशित स्थानीयले मृतकको शव पूर्व–पश्चिम राजमार्गमा राखेर सडक अवरुद्ध गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा समेत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गर्नुपरेको जनाइएको छ।

घटनापछि सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनले आन्दोलनरत पक्षसँग वार्ताको तयारी गरिरहेको जनाएको छ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जेनजी आन्दोलनमा आफूले गोली चलाउने आदेश नदिएको दाबी

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5