त्रिशाला गुरुङपछि आसिफ शाहले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम
काठमाडौं, पुष १९ – नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन्।
शाहले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गर्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन्।
“यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,” शाहले लेखेका छन्, “साथै, जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु।”
उनले आफू काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने पनि उल्लेख गरेका छन्। “प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ– प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ–उठ्ने नै हो,” कलाकार शाहले भनेका छन्, “हामी काठमाडौं–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौं। देशभन्दा ठूलो केही हुँदैन।”
शाहले राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत् जनतासँगै उभिएर उम्मेदवारी दिने चाहना स्पष्ट रूपमा भने पनि रास्वपाले देशव्यापी चुनावी अभियान आवश्यककता महसुस गरेर समानुपातिक प्रणालीमै अघि बढ्नुपर्ने भनेपछि उम्मेदवारी दर्ता गरेको प्रष्टीकरण दिएका छन्।
“तर, त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो। सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो,” शाहको भनाइ छ, “देश निर्माणका लागि आवश्यक योगदान म जुनसुकै पद वा हैसियतमा रहे पनि सधैं गर्न तयार छु। तर, जनता र पार्टीका साथीहरूको भावनामा चोट पु¥याएर समानुपातिक सूचीमार्फत् सांसद बन्ने बाटो म रोज्न सक्दिनँ।”
निर्वाचन आयोगः दुई अवस्थामा समानुपातिक बन्दसूचीको नाम परिवर्तन गर्न सकिने
डा. त्रिशाला गुरुङले पनि फिर्ता लिएकी थिइन् नाम
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक प्रतिनिधित्वका लागि सिफारिस भएकी डा. त्रिशाला गुरुङले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन्।
गुरुङले फेसबुकमार्फत् गरेको सार्वजनिक घोषणामा उम्मेदवारी फिर्ता लिने निर्णयको मूल कारण आफ्नो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्न तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने आफ्नो दृढ संकल्प रहेको बताएकी थिइन्।
“उज्यालो नेपाल पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) बाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु मेरो लागि ठूलो सम्मान र जिम्मेवारीको विषय हो। यस अवसरका लागि पार्टी नेतृत्व, सम्बन्धित निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु,” गुरुङले लेखेकी थिइन्, “यद्यपि, गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु।”
गुरुङले आफूमाथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्ने र उक्त भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। उनले राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पुर्याइरहने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने क्रम जारी रहेकोमा पार्टीभित्र र बाहिर व्यापक चर्चा भइरहेको छ।




तपाईंको प्रतिक्रिया