नेपालमै पहिलोपटक दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुँदै
काठमाडौं, पुष २२ – नेपालमै पहिलोपटक पशुपालक किसानहरूलाई केन्द्रमा राखेर दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ।
भरतपुरका व्यावसायिक पशुपालकहरूमध्ये सहकारीमार्फत दूध बिक्री गर्दै आएका २० जना किसानलाई छनोट गरी कार्यक्रम निर्माण गरिएको निर्माता रविन सुवेदीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा किसानको दूध दुहुने सीपसँगै पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ र दूधको शुद्धताजस्ता पक्षहरूको मूल्यांकन गरिनेछ।
दूध उत्पादनमा आत्मनिर्भर जिल्ला चितवन उन्नत गाईपालनका लागि समेत परिचित छ। पशुपालनकै माध्यमबाट यहाँका धेरै किसानले आर्थिक उन्नति गर्दै आफ्ना सन्तानलाई स्वदेश तथा विदेशका विश्वविद्यालयमा अध्ययन गराउन सफल भएका उदाहरण प्रशस्त रहेको सुवेदीले बताए। उनले ती मिहिनेती किसानको सम्मानका लागि नै कार्यक्रम निर्माण गरिएको उल्लेख गरे।
कार्यक्रमको पहिलो संस्करणप्रतिको प्रतिक्रिया हेरेर आगामी दिनमा यसलाई अझै वृहत् र प्रभावकारी बनाउने योजना रहेको निर्माता पक्षको भनाइ छ। नयाँ पुस्तालाई पशुपालनमा रहेको मिहिनेत, संघर्ष र सम्भावनाको कथा रोचक ढंगले प्रस्तुत गर्ने उद्देश्य राखिएको छ।
कार्यक्रम संयोजक गोविन्द न्यौपानेका अनुसार किसानलाई ‘आइडल’को रूपमा स्थापित गर्ने सोचका साथ शो निर्माण गरिएको हो। उनका अनुसार कृषि कार्यक्रमहरू एउटै ढाँचामा सीमित भइरहेका बेला विविधीकरण सम्भव छ भन्ने सन्देश दिन यो प्रयास गरिएको हो। किसानकै गोठमा प्राविधिक, विज्ञ र जनप्रतिनिधि पुगेर गरिने मूल्यांकनले किसानबीच सहकार्य र समन्वय पनि बढाउने विश्वास लिइएको छ।
खेतीले मुख्य प्रायोजन गरेको यस कार्यक्रमलाई भरतपुर महानगरपालिकाले प्रवर्द्धन गरेको छ। कार्यक्रमका निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप–प्राध्यापक डा. शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डे रहेका छन्।
हरेक बिहान भागवत गीता पढ्थे अमिताभ, राति आमाबुबालाई चिठी लेख्थे: रञ्जीतको खुलासा




तपाईंको प्रतिक्रिया