चितवनमा निर्वाचन कर्मचारी पक्राउ: मतदातालाई ‘केमा भोट हाल्नुभयो?’ भन्दै सोधेपछि कारबाही

 ३ घण्टा अगाडि

✍ लेखा खबर संवाददाता


काठमाडौँ, २१ फागुन । चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गत माडीमा कार्यरत एक निर्वाचन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदान गरेर फर्किएका मतदातालाई “भोट केमा हाल्नुभयो?” भन्दै सोधपुछ गरेको आरोपमा ती कर्मचारी पक्राउ परेका हुन्।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालका अनुसार पक्राउ पर्ने कर्मचारी कार्यालय सहयोगी तहका हुन्। मतदान केन्द्रमा खटिएका ती कर्मचारीले गोप्य मतदानको मर्यादा विपरीत मतदातासँग सोधखोज गरेपछि तत्कालै एक्सन लिइएको हो।

“उनले भोट दिइसकेका मतदातालाई केमा भोट दिनुभयो भन्दै सोधेको पाइएको छ,” प्रजिअ अर्यालले भने, “निर्वाचनको संवेदनशीलता र गोपनीयतालाई मध्यनजर गर्दै उनलाई अहिले प्रहरीको नियन्त्रणमा राखिएको छ।”

यो घटना चितवनको माडी क्षेत्रको हो, जहाँ आज बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ। चितवन-३ लाई यसपटकको निर्वाचनमा निकै चासोका साथ हेरिएको छ। यहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सोबिता गौतम लगायतका ‘हेभिवेट’ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचन आयोगले मतदानको गोपनीयता कायम राख्न र कुनै पनि प्रकारको हस्तक्षेप नगर्न कर्मचारी तथा सर्वसाधारणलाई पटक-पटक आग्रह गर्दै आएको छ। पक्राउ परेका कर्मचारीमाथि निर्वाचन कसुर अनुसार थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ।

तपाईंको प्रतिक्रिया