उच्च शिक्षाका लागि जापान नेपाली विद्यार्थीको पहिलो रोजाइमा, व्यवस्थापन पढ्नेको सङ्ख्या उच्च

 फागुन २६, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौँ, फागुन २६ । नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरूको पहिलो रोजाइमा जापान पर्न थालेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, अष्ट्रेलियालाई पछि पार्दै जापान नेपाली विद्यार्थीहरूको मुख्य गन्तव्य बनेको हो।

मन्त्रालयको वैदेशिक अध्ययन स्वीकृति शाखा (NOC) को विवरण अनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि असोज मसान्तसम्म) कुल २८ हजार ५८५ विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएका छन्। जसमध्ये सबैभन्दा बढी जापानका लागि ९ हजार ४५३, अष्ट्रेलियाका लागि ७ हजार ७३० र बेलायतका लागि ४ हजार ६११ विद्यार्थीले स्वीकृति लिएका छन्। जापानी भाषा सिकेर थप अध्ययन र काम गर्न सहज हुने भएकाले जापानतर्फ आकर्षण बढेको मन्त्रालयको विश्लेषण छ।

गत आर्थिक वर्ष २०८१/८२ मा ८४ देशका लागि कुल १ लाख २३ हजार ५८९ विद्यार्थीले स्वीकृति लिएका थिए। सो अवधिमा पनि जापानका लागि ३९ हजार ८४७, बेलायतका लागि २७ हजार ४७५ र अष्ट्रेलियाका लागि १६ हजार २७९ विद्यार्थीले एनओसी लिएका थिए। अध्ययन गर्ने विषयका आधारमा व्यवस्थापन (Management) संकाय सबैभन्दा बढी रोजाइमा देखिएको छ। गत वर्ष १ लाख १६ हजार ७८० विद्यार्थीले व्यवस्थापन पढ्न स्वीकृति लिएका छन्। यस्तै सूचना प्रविधिमा ३० हजार ७४४ र विज्ञान विषयमा २० हजार ६७४ विद्यार्थी रहेका छन्।

मन्त्रालयले विद्यार्थीहरू ठगिने सम्भावनालाई मध्यनजर गर्दै ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ अनुसार विश्वविद्यालय र कलेजहरूको आधिकारिक सूची समेत अद्यावधिक गरेको छ। विद्यार्थीहरूको सहजताका लागि विभिन्न १५ देशका आधिकारिक सूचना पोर्टलहरू समेत सार्वजनिक गरिएको छ।

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?