काठमाडौँको वायु प्रदूषण घटाउन विश्व बैंकको सात अर्ब सात करोड ऋण
काठमाडौँ, २७ फागुन । विश्व बैंकले नेपालमा घातक बन्दै गएको वायु प्रदूषण न्यूनीकरण र हावाको गुणस्तर सुधारका लागि ७ अर्ब ७ करोड २० लाख रुपैयाँ (करिब ५३ मिलियन डलर) ऋण अनुमोदन गरेको छ। ‘नेपाल क्लिन एयर एन्ड प्रस्पेरिटी प्रोजेक्ट’ अन्तर्गत यो रकम खर्च गरिने वासिङ्टनस्थित विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ।
यो परियोजना विशेषगरी उच्च वायु प्रदूषणको जोखिममा रहेका काठमाडौँ उपत्यका र तराईका विभिन्न क्षेत्रहरूमा केन्द्रित हुनेछ। परियोजनाको मुख्य लक्ष्य औद्योगिक र व्यावसायिक क्षेत्रबाट हुने उत्सर्जन घटाउनु हो। जसअन्तर्गत करिब ४०० वटा साना तथा मझौला उद्योगहरूलाई प्रदूषणरहित प्रविधि अपनाउन र आधुनिक ‘बोयलर’ तथा ‘किल्न’ जडान गर्न सहयोग गरिनेछ।
उच्च शिक्षाका लागि जापान नेपाली विद्यार्थीको पहिलो रोजाइमा, व्यवस्थापन पढ्नेको सङ्ख्या उच्च
परियोजना कार्यान्वयनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले समन्वय गर्नेछन्। यसले नेपालको ‘३५ सम्म ३५’ (सन् २०३५ सम्ममा वायुको गुणस्तर ३५ माइक्रोग्राम प्रति घनमिटरमा झार्ने) राष्ट्रिय लक्ष्यलाई समेत सघाउ पुर्याउने अपेक्षा गरिएको छ। काठमाडौँको कचौरा जस्तो भूगोल र तराईको ‘इन्डो-ग्याङ्गेटिक’ वायु प्रदुषणलाई सम्बोधन गर्न यो आयोजना कोशेढुङ्गा सावित हुने बैंकको विश्वास छ।

तपाईंको प्रतिक्रिया