१५ बिरामीको हत्या गर्ने जर्मन डाक्टरलाई जन्मकैद: वकिलहरू भन्छन्, “हत्या गर्ने तीव्र भोक थियो”
काठमाडौँ, असार २५ । जर्मनीका एक ४१ वर्षीय ‘प्यालिएटिभ केयर’ (गम्भीर बिरामीको हेरचाह गर्ने) डाक्टर जोहानेस एम. (Johannes M.) लाई १५ जना बिरामीको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ। अभियोजकहरूले उनलाई “हत्याको तीव्र भोक” (Lust for murder) भएको व्यक्तिका रूपमा चित्रण गरेका छन्।
उनले सेप्टेम्बर २०२१ देखि जुलाई २०२४ को बीचमा १२ महिला र ३ पुरुष गरी १५ जना बिरामीलाई उनीहरूको जानकारी वा सहमतिबिना प्राणघातक औषधि र मांसपेशीलाई निष्क्रिय बनाउने इन्जेक्सन दिएर श्वासप्रश्वास बन्द गराई हत्या गरेका थिए। यति मात्र होइन, आफूले गरेको हत्या लुकाउन उनले कम्तीमा ५ पटक मृतककै फ्ल्याटमा आगो समेत लगाएका थिए।
अदालतमा बयान दिने क्रममा ती डाक्टरले आफूले मान्छे मारेको स्वीकार गर्दै भनेका छन्, “म आफैँसँग निराश छु।” अनुसन्धानका क्रममा उनले अरू ७० भन्दा बढी मानिसको पनि हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ। रोचक कुरा के छ भने, ती डाक्टरले आफ्नो डक्टरल थेसिस नै मानव हत्याकै विषयमा लेखेका थिए, जसको सुरुवात उनले “मानिसले किन हत्या गर्छ?” भन्ने प्रश्नबाट गरेका थिए।

तपाईंको प्रतिक्रिया