त्रिविमा पढ्नुहुन्छ ? उपचार खर्चमा पाउन सकिन्छ ९० प्रतिशत छुट

 श्रावण २८, २०८३

✍ लेखा खबर संवाददाता


त्रिविमा पढ्दै हुनुहुन्छ? १ लाखसम्मको स्वास्थ्य उपचारमा ९०% छुट पाइन्छ भन्ने थाहा छ?

काठमाडौँ, साउन २८ । त्रिभुवन विश्वविद्यालय तथा यसका आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्वास्थ्य उपचारमा ९० प्रतिशतसम्म छुट पाउने व्यवस्था भए पनि अधिकांश विद्यार्थी यसबारे अनभिज्ञ छन्।

त्रिविको विद्यार्थी स्वास्थ्योपचार कोषअन्तर्गत विद्यार्थीले एक लाख रुपैयाँसम्मको उपचार खर्चमा ९० प्रतिशतसम्म सहुलियत पाउने व्यवस्था छ। औषधि र खानाबाहेक स्वीकृत उपचार खर्चमा यो सुविधा लागू हुन्छ।

यो सुविधा लिन विद्यार्थीले आफू अध्ययनरत क्याम्पसमार्फत प्रक्रिया अघि बढाउनुपर्छ। विद्यार्थीले क्याम्पसमा निवेदन दिएपछि क्याम्पसले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा सिफारिसका लागि अनुरोध गर्छ। निर्देशनालयले सम्बन्धित अस्पतालका नाममा सिफारिस गरेपछि अस्पतालले उपचार सुविधा उपलब्ध गराउँछ।

उपचारका क्रममा सिफारिसपत्र लिन नसकेका विद्यार्थीले अस्पतालबाट डिस्चार्ज भएको एक महिनाभित्र आवश्यक कागजातसहित निवेदन दिएर सुविधा लिन सक्ने व्यवस्था छ।

भर्नाका क्रममा लिइन्छ ५०० रुपैयाँ

त्रिविका आंगिक क्याम्पसमा भर्ना हुँदा विद्यार्थीबाट विद्यार्थी स्वास्थ्योपचार कोषका लागि ५०० रुपैयाँ लिइन्छ। स्नातक र स्नातकोत्तर तहमा भर्ना हुँदा तथा तेस्रो वर्ष/सेमेस्टरमा भर्ना नविकरण गर्दा समेत यस्तो शुल्क लिने व्यवस्था रहेको छ।

विद्यार्थी स्वास्थ्योपचार कोषसम्बन्धी कार्य व्यवस्थापन प्रणाली-२०७१ अनुसार त्रिविका आंगिक क्याम्पस, केन्द्रीय विभाग, अनुसन्धान केन्द्र तथा त्रिविअन्तर्गतका शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थी कोषका अनिवार्य सदस्य हुन्छन्।

तर, भर्नाका क्रममा तिरेको रकम कुन शीर्षकमा जम्मा भएको हो र त्यसबाट कस्तो सुविधा पाइन्छ भन्ने जानकारी विद्यार्थीलाई नहुँदा धेरै जना सहुलियतबाट वञ्चित भइरहेका छन्।

सुविधा लिन आवश्यक कागजात

स्वास्थ्य उपचारमा सहुलियत लिन विद्यार्थीले अस्पतालमा निम्न कागजात पेश गर्नुपर्छ :

१. क्याम्पसको सिफारिसपत्र।

२. त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको सिफारिसपत्र।

३. वैध विद्यार्थी परिचयपत्र।

४. विद्यार्थी परिचयपत्रको दुई प्रति प्रतिलिपि।

निर्देशनालयको सिफारिसपछि सम्बन्धित अस्पतालले कागजात स्वीकृत गरेमा उपचार खर्चमा ९० प्रतिशतसम्म छुट उपलब्ध हुन्छ।

कुन अस्पतालमा पाइन्छ सुविधा ?

उपत्यकामा अध्ययनरत विद्यार्थीले त्रिवि शिक्षण अस्पताल र त्रिभुवन विश्वविद्यालय आयुर्वेद शिक्षण अस्पतालबाट यो सुविधा लिन सक्छन्।

उपत्यकाबाहिरका आंगिक क्याम्पसले नजिकका जिल्ला अस्पताल, सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतका शिक्षण अस्पताल वा सम्बन्धित मेडिकल कलेजसँग सम्झौता गरी उपचार सुविधा उपलब्ध गराउने व्यवस्था छ। त्रिविको विद्यार्थी स्वास्थ्योपचार कोषअन्तर्गत देशका विभिन्न अस्पतालमा यस्तो सेवा उपलब्ध रहेको जनाइएको छ।

तोकिएका अस्पतालमा उपचार सम्भव नभए मेडिकल बोर्डको सिफारिसमा नेपालका अन्य अस्पतालमा उपचार गराउन सकिने व्यवस्था छ। विशेष अवस्थामा नेपालमा उपचार सम्भव नभए विदेशमा उपचारका लागि समेत सिफारिस गर्न सकिने प्रावधान रहेको छ।

२०२५ मा त्रिवि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच भएको समझदारीअनुसार त्रिविका विद्यार्थी तथा प्राध्यापकलाई संघीय अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानमा समेत उपचार सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ। २०२६ जनवरीमा कोशी प्रदेशका १२ वटा त्रिवि आंगिक क्याम्पस र सातवटा अस्पताललाई समेटेर थप स्वास्थ्य सहकार्यसमेत गरिएको छ।

यी उपचारमा पाइँदैन सुविधा

स्वास्थ्योपचार कोषबाट निम्न उपचार तथा सेवाको खर्च उपलब्ध हुँदैन :

१. गर्भावस्था तथा सुत्केरीसम्बन्धी खर्च।

२. सामान्य स्वास्थ्य परीक्षण वा होलबडी चेकअप।

३. अंग प्रत्यारोपण।

४. कस्मेटिक उपचार।

५. चस्मा तथा चस्माको लेन्स।

६. कानमा प्रयोग हुने श्रवण उपकरण।

७. क्याम्पसमा भर्ना हुनुअघि नै प्रमाणित भएको दीर्घरोगको उपचार।

क्याम्पसमा भर्ना हुनुको मुख्य उद्देश्य उपचार गराउनु मात्र रहेको देखिएमा वा भर्नाअघि नै दीर्घरोग प्रमाणित भएको अवस्थामा विद्यार्थीले यो सुविधा पाउन नसक्ने व्यवस्था छ।

नेपालमा डिजिटल प्लेटफर्मको अवस्था: गुगल र युट्युबको वर्चस्व कायमै, एआई टुल र अनलाइन खबरतर्फ प्रयोगकर्ताको आकर्षण

सुविधा लिने विद्यार्थीको संख्या बढ्दो तर निकै निम्न

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/०७६ मा २१९ विद्यार्थीले स्वास्थ्योपचार कोषबाट सुविधा लिएका थिए। आर्थिक वर्ष २०७६/०७७ मा १९५ र २०७७/०७८ मा १०२ विद्यार्थीले उपचार खर्च लिएका थिए।

त्यसपछि सुविधा लिने विद्यार्थीको संख्या बढेको देखिन्छ। आर्थिक वर्ष २०८०/०८१ मा ३८४, २०८१/०८२ मा ५७३ र २०८२/०८३ मा ५१४ विद्यार्थीले उपचार सुविधा लिएका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ९१ विद्यार्थीले सुविधा लिएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।

आयुर्वेद शिक्षण अस्पतालको सुविधा भने आयुर्वेद विषय अध्ययनरत विद्यार्थीले तुलनात्मक रूपमा बढी प्रयोग गर्ने गरेका छन्।

जानकारी अभावमा विद्यार्थी वञ्चित

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्वास्थ्य उपचार सुविधाबारे सूचना पाटीमा जानकारी राख्न र नयाँ विद्यार्थीको अभिमुखीकरण कार्यक्रममा यो विषय समेट्न क्याम्पसहरूलाई पटक-पटक आग्रह गर्दै आएको छ। तर, धेरै क्याम्पसले प्रभावकारी रूपमा जानकारी नगराउँदा सुविधा पाउने विद्यार्थीसमेत सेवाबाट वञ्चित हुने अवस्था छ।

क्याम्पसको सिफारिसबिना प्रक्रिया अघि बढाउन नसकिने भएकाले विद्यार्थीलाई सुविधा उपलब्ध गराउन सम्बन्धित क्याम्पसको भूमिका महत्वपूर्ण हुन्छ। त्यसैले भर्नाका क्रममा लिइने ५०० रुपैयाँ, सुविधा लिन सकिने अस्पताल र आवेदन प्रक्रियाबारे क्याम्पसहरूले विद्यार्थीलाई स्पष्ट जानकारी दिनुपर्ने देखिन्छ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?