त्रिपुरेश्वर बस आगलागी घटना: यातायात सङ्गठनहरूद्वारा ९ बुँदे माग
काठमाडौँ, ४ असोज । काठमाडौँको त्रिपुरेश्वरमा ऋद्धिसिद्धि यातायातको बसमा आगलागी भई चालकको मृत्यु भएपछि नेपालका छ वटा प्रमुख यातायात महासंघ तथा मजदुर सङ्गठनहरूले सरकारसमक्ष ९ बुँदे माग अघि सारेका छन्। मागहरू तत्काल सम्बोधन नभए शान्तिपूर्ण र कानुनसम्मत रूपमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिँदै उनीहरूले संयुक्त संघर्ष समितिसमेत गठन गरेका छन्।
घटनाको पृष्ठभूमि
सोमबार दिउँसो त्रिपुरेश्वर चोकमा बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा गम्भीर घाइते भएका २५ वर्षीय चालक अर्जुन दोङ तामाङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। सडकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीसँग जरिबाना र चेकिङका विषयमा विवाद भएपछि उक्त घटना घटेको पाइएको छ। यातायात सङ्गठनहरूले लामो समयदेखिको ट्राफिक प्रहरीको मानसिक दबाब र हैरानीका कारण यस्तो दुर्घटना हुन पुगेको आरोप लगाउँदै घटनालाई “राज्यको गम्भीर असफलता” भनेका छन्।
यसैबीच, प्रहरीले घटनाको निष्पक्ष छानबिन भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक चालकले अन्य व्यक्तिको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) र पहिचान प्रयोग गर्दै आएकोसमेत खुलेको र आगलागीको वास्तविक कारणबारे प्राविधिक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यातायात सङ्गठनहरूका ९ बुँदे मुख्य मागहरू:
१. राहत तथा क्षतिपूर्ति: मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था गरिनुपर्ने, साथै पूर्ण रूपमा जलेर क्षति भएको बसका मालिकलाई पनि उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने।
२. न्यायिक छानबिन: घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान, फोन सम्पर्क र प्रहरी विवरणका आधारमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने।
३. अनिवार्य रोजगार सम्झौता: सबै यातायात श्रमिकलाई श्रम ऐन, २०७४ बमोजिम अनिवार्य रोजगार सम्झौता गराउने र सामाजिक सुरक्षा कोषमा सूचीकरणलाई कानुनी रूपमै अनिवार्य गरिनुपर्ने।
४. २४ घण्टे हेल्पलाइन: ट्राफिक प्रहरीबाट हुने सम्भावित दुर्व्यवहार, अनावश्यक हैरानी र कानुनी झमेलाविरुद्ध उजुरी तथा पुनरावेदन गर्न २४ घण्टे हेल्पलाइन र द्रुत सुनुवाइ संयन्त्र स्थापना गरिनुपर्ने।
५. व्यवहार र कारबाहीको निष्पक्ष छानबिन: सडकमा ट्राफिक प्रहरीले गर्ने चेकजाँच, कारबाही र व्यवहार कानुनी प्रक्रिया तथा आचारसंहिताअनुसार भए/नभएको निष्पक्ष अनुगमन हुनुपर्ने।
६. प्रविधिमैत्री र जनमुखी ट्राफिक प्रणाली: ट्राफिक प्रहरीको कामलाई प्रविधिमैत्री बनाउँदै सडकमा उनीहरूको कार्यसम्पादन तथा व्यवहारको नियमित अनुगमन गर्न सरोकारवाला सम्मिलित संयन्त्र बनाउनुपर्ने।
७. अधिकारको दुरुपयोग नियन्त्रण: सवारी तथा यातायात ऐन अन्तर्गत ट्राफिक प्रहरीलाई प्रत्यायोजित चेकजाँच र कारबाहीको अधिकार पुनर्व्यवस्थित गरी सम्भावित दुरुपयोग रोक्नुपर्ने।
८. श्रमिक सुरक्षा नीति: राज्यको यातायात सुरक्षा नीतिमा यात्रु र सवारीसाधनको सुरक्षाका साथै चालक तथा यातायात श्रमिकको जीवन, पेसागत मर्यादा र मानसिक सुरक्षालाई स्पष्ट रूपमा समेट्नुपर्ने।
९. श्रमिकमैत्री पूर्वाधार: काठमाडौँ उपत्यकाका मुख्य सहरहरूसहित देशभरका सडकहरूमा व्यवस्थित बसबिसौनी, यात्रु ओर्लने–चढ्ने ठाउँ, सार्वजनिक शौचालय, भोजनालय र विश्रामस्थलजस्ता पूर्वाधार निर्माण गरिनुपर्ने।
संघर्ष समिति र आन्दोलनको चेतावनी
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, केन्द्रीय यातायात मजदुर महासंघ, अखिल नेपाल यातायात मजदुर संगठन, नेपाल ट्रक यातायात महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै ‘संयुक्त संघर्ष समिति’ मार्फत चरणबद्ध दबाब दिने जनाएका छन्। उनीहरूले सरकारले आफ्ना मागहरूप्रति गम्भीरता नदेखाए देशभर यातायात ठप्प पार्नेसम्मका आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएका छन्।

तपाईंको प्रतिक्रिया