अविरल वर्षा र बाढीपहिरोको क्षति विवरण: देशभर २७ जनाको मृत्यु, अवरुद्ध १४७ सडक मध्ये १२५ सुचारु (प्रधानमन्त्री कार्यालय)

 असोज १२, २०८३

✍ लेखा खबर संवाददाता


देशभर वर्षाजन्य विपद्को असर। १,०६५ परिवार प्रभावित, सडक–विद्युत्–दूरसञ्चार सेवा प्रभावित तथा उद्धार र मर्मत कार्य जारी

काठमाडौँ, १२ असोज । अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटनाबाट देशभर २७ जनाको मृत्यु भएको छ। असोज ८ गतेदेखि भएका मनसुनजन्य विपद्का ५१३ घटनाबाट १ हजार ६५ परिवार प्रभावित भएका छन् भने ७ जना घाइते र ४ जना सम्पर्कविहीन रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारले प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, राहत तथा अस्थायी आवास व्यवस्थापनसँगै क्षतिग्रस्त सडक, पुल, विद्युत्, दूरसञ्चार तथा खानेपानीजस्ता अत्यावश्यक पूर्वाधार पुनःसञ्चालन गर्न संयन्त्र परिचालन गरेको जनाएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार विपद्का कारण २२५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १३७ घरमा आंशिक क्षति पुगेको छ। २७ वटा गोठमा क्षति पुगेको र ११४ पशुचौपाया मरेका वा क्षतिग्रस्त भएका छन्।

सडकमा व्यापक असर, धेरै खण्ड पुनः सञ्चालनमा

बाढी र पहिरोले देशभरका राजमार्ग तथा सडकखण्डका १४७ स्थानमा क्षति पुर्‍याएको थियो। तीमध्ये १२५ स्थानमा मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर यातायात एकतर्फी सञ्चालनमा ल्याइएको छ। नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलताल नजिक भासिएको सडक मर्मत गरी त्यहाँ पनि एकतर्फी सवारी सञ्चालन गरिएको छ।

बीपी राजमार्गअन्तर्गत मात्ती, पिप्ले, दाउन्ने-कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा डाइभर्सन बगेका कारण अवरोध कायमै छ। सरकारले थप क्षति नभएमा उक्त सडकखण्ड भोलि साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

कालीगण्डकी कोरिडोरका बेनी-जोमसोम, पाल्पा, बागलुङ र नवलपरासी खण्डका विभिन्न स्थानमा पहिरो, सडक भासिने तथा पुलको एप्रोच सडक बग्ने घटना भएका छन्। सडक खुलाउने काम जारी रहे पनि सम्पूर्ण खण्ड सञ्चालनमा आउन तीन दिनभन्दा बढी लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

भालुवाङ-चकचके-लिवाङ सडकमा पहिरो हटाएर यातायात सञ्चालन भइसकेको छ। बेँसीसहर-चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका र खोत्रोलगायत स्थानमा पहिरो हटाउने काम जारी छ। उक्त सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब तीन दिन लाग्ने अनुमान गरिएको छ।

त्रिभुवन राजपथमा पहिरो पन्छाएर आवश्यक सुरक्षा सतर्कतासहित यातायात सञ्चालनमा ल्याइएको छ। सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकका २१ स्थानमा पहिरो खसे पनि सडक खुलाउने काम तीव्र रूपमा अघि बढाइएको र भोलिसम्म यातायात सञ्चालन गर्ने लक्ष्य रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

१,०१३ मेगावाट विद्युत् आपूर्ति प्रभावित

बाढीका कारण कालीगण्डकी, मर्स्याङ्दी र सेती-मादी कोरिडोरका जलविद्युत् आयोजना प्रभावित हुँदा राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको थियो।

तीमध्ये सेती-मादी कोरिडोरका २६२ मेगावाट र मर्स्याङ्दी कोरिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आइसकेका छन्। बाढीबाट अवरुद्ध १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् केन्द्र पुनः सञ्चालनका लागि प्रयास भइरहेको छ।

क्षतिग्रस्त राहुघाट जलविद्युत् आयोजना पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान छ। कुस्मा-दाना प्रसारण लाइनमा क्षति पुगेकाले सात जलविद्युत् केन्द्रबाट उत्पादन भएको १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन।

राहुघाट सबस्टेसनमा जोडिएका आयोजनामध्ये ४० मेगावाटको राहुघाट जलविद्युत् केन्द्र बाहेक १२७ मेगावाटसम्म विद्युत् उत्पादन सञ्चालनमा आउन सक्ने अवस्था रहेको जनाइएको छ। कालीगण्डकी कोरिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना-कुस्मा खण्डमा पर्ने टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

दूरसञ्चार सेवा पुनःस्थापना प्रयास

अविरल वर्षा र बाढीपहिरोले दूरसञ्चार सेवामा पनि असर पारेको छ। नेपाल टेलिकमका १ हजार १३२ वटा टावरको नेटवर्क विच्छेद भएकोमा ७८२ वटा पुनः सञ्चालनमा ल्याइएको छ।

एनसेलका १६२ वटा नेटवर्क प्रभावित भएकामा १०५ वटा मर्मत गरी सञ्चालनमा ल्याइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बाँकी सेवासमेत छिट्टै पुनःस्थापना गर्ने काम भइरहेको छ।

डुबान प्रभावित बस्तीबाट उद्धार

नारायणी नदीमा आएको बाढीका कारण डुबानमा परेका नवलपरासीको सुस्ताका बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। चितवनको देवघाट, बाह्रघरेललगायत तटीय क्षेत्रका स्थानीयलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

सप्तकोशी नदीको बहाव बढेपछि तिलाठी कोइलाडी गाउँपालिकाका डुबान प्रभावित ५०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। सर्लाहीको लखनदेई खोलाको बाढीले भाडसर खुटौना बस्ती डुबानमा परेको छ भने रौतहटमा लालबकैया र बागमती नदी आसपासका तटीय क्षेत्र प्रभावित भएका छन्।

तिनाउ नदीको बाढीपछि मझुवा, प्रगतिनगर, हात्तीसुँढ र युद्धनगरलगायत क्षेत्रका करिब २०० घरपरिवारका १ हजारभन्दा बढी मानिसलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।

मुस्ताङ, मनाङ, पाल्पा, बागलुङ र म्याग्दीलगायत पहाडी तथा हिमाली जिल्लामा पनि बाढीपहिरोले असर पुर्‍याएको छ। प्रभावित नागरिकका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी राहत र अस्थायी बसोबासको व्यवस्था मिलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

जोखिम नटरेको भन्दै सतर्क रहन आग्रह

प्रधानमन्त्री बालेन्द्र शाहले मौसमजन्य जोखिम अझै कायमै रहेकाले सबै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। सरकारले नदीकिनार, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान सम्भावित बस्तीमा विशेष सावधानी अपनाउन र स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको सूचनाअनुसार सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले के भने? पूर्ण सम्बोधन (भिडियो)

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?