हिमाली क्षेत्रमा तीव्र निर्माण: ३ लाख मानिस सम्भावित विपद्को जोखिममा
काठमाडौँ, १२ कार्तिक । एउटा नयाँ अध्ययनअनुसार हिमाली क्षेत्रका विभिन्न भागमा कम्तीमा ३ लाख मानिस सम्भावित विपद्को जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार सन् २०१६ देखि २०२३ सम्मको अवधिमा उत्तरी नेपाल, दक्षिणपूर्वी तिब्बतका केही भूभाग र भारतको उत्तराखण्ड क्षेत्रका उच्च जोखिमयुक्त स्थानहरूमा निर्मित संरचनाको परिमाण करिब ४५ प्रतिशतले बढेको छ।
‘साइन्टिफिक रिपोर्ट्स’ जर्नलमा प्रकाशित सहकर्मी-समीक्षित अध्ययनअनुसार, हिमताल विस्फोटनबाट हुने बाढीको विशेष खतरा रहेका क्षेत्रहरूमा पूर्वाधार विकास अझ तीव्र गतिमा बढेको छ। सोही अवधिमा ती क्षेत्रमा निर्माण कार्य करिब ७८ प्रतिशतले वृद्धि भएको देखिएको छ।
अध्ययनमा संलग्न वैज्ञानिक टोलीका अनुसार जोखिममा परेका मानिसको वास्तविक सङ्ख्या अझ बढी हुन सक्छ; किनभने उनीहरूले निश्चित क्षेत्रको मात्र विश्लेषण गरेका थिए र यस्तै जोखिम रहेका छिमेकी भूभागहरूलाई समेटेका थिएनन्।
यो अध्ययन नेपालमा गत अगस्टमा भएको विनाशकारी बाढीअघि गरिएको थियो, जसमा १,४०० भन्दा बढी मानिसको मृत्यु हुनुका साथै हजारौँ बेपत्ता भएका थिए। त्यसयता पनि साना-ठूला विपद्का घटनाहरू दोहोरिइरहेका छन्; जसअन्तर्गत गत ११ अक्टोबरमा बुढीगण्डकी नदीमा आएको बाढीले २०० भन्दा बढी घर क्षतिग्रस्त बनाएको, पाँच वटा पुल बगाएको र पाँच जना मानिस बेपत्ता बनाएको थियो।
अध्ययनका मुख्य निष्कर्षहरू
ब्रिटेन, नेपाल र भारतका नौ जना अनुसन्धानकर्ता सम्मिलित टोलीले हिमाली नदीहरूका तल्लो तटीय क्षेत्र (५० किलोमिटर/३० माइलसम्म) तथा करिब १,३६० वटा हिमताल वरपरका भूभागको अध्ययन गरेका थिए।
उनीहरूका अनुसार ती संवेदनशील क्षेत्रहरूमा पर्यटकीय पूर्वाधार, सडक तथा रियल इस्टेटसहितका निर्माण कार्यहरू उल्लेखनीय रूपमा बढेका छन्।
हिमालको फेदमा रहेको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यसको प्रत्यक्ष उदाहरण हो। विगत ३० वर्षमा पर्यटकको आगमनसँगै यो सहरको अव्यवस्थित विस्तार पनि तीव्र रूपमा भएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार अन्नपूर्ण हिमशृङ्खलाबाट उत्पत्ति भई सहरभित्रै बग्ने सेतीगण्डकी नदीको जोखिम व्यवस्थापन गर्नु सबैभन्दा ठूलो चुनौती बनेको छ। नयाँ मापदण्डले नदी किनार छाडेर मात्र घर बनाउनुपर्ने व्यवस्था गरे पनि धेरै पुराना भवनहरू नदी किनारबाट मात्र ५ मिटर (१६ फिट) को दूरीमा रहेका छन्।
“उनीहरूलाई सुरक्षित स्थानमा कसरी र कहाँ सार्ने भन्ने नै अहिलेको वास्तविक चुनौती हो,” उनले भने।
भोटेकोशी बाढी: २० अर्ब ९० करोडको बीमा दाबी, कति भयो भुक्तानी?
पर्यटन र बस्ती विस्तारको चाप
पोखराको उत्तरतर्फ रहेको विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा क्षेत्रका नदी किनारहरूमा पनि बस्ती विस्तार तीव्र बनेको छ; जसमध्ये केही बस्तीहरू हालैका बाढी र पहिरोबाट प्रत्यक्ष प्रभावित भइसकेका छन्।
त्यहाँ होमस्टे सञ्चालन गर्दै आएका फुर्पा छिरिङ लामा आफूहरू असहाय बनेको बताउँछन्। सामान्यतया मुख्य ट्रेकिङ सिजनमा उनका २० वटै कोठा भरिभराउ हुन्थे, तर अहिले केवल पाँच वटा कोठा मात्र ओगटिएका छन्।
“हामी ४० वर्षभन्दा बढी समयदेखि यो व्यवसायमा छौँ, तर यस्तो विनाशकारी विपत्ति पहिले कहिल्यै भोगेका थिएनौँ,” उनले भने।
हिमनदीबाट पोषित मोदी नदी किनारमा होटल सञ्चालन गरिरहेका कृष्ण गौचन पनि उत्तिकै चिन्तित छन्। “हिमनदी भत्कियो वा हिमताल फुट्यो भने यो नदीमा भयावह बाढी आउन सक्छ; हामी निरन्तर त्रासको सायामा बाँचिरहेका छौँ,” उनले भने।
त्रिभुवन विश्वविद्यालयका भूगोलविद् खगेन्द्र पौडेलका अनुसार पर्यटकीय लगानीकर्ताहरूले भौगर्भिक जोखिमलाई बेवास्ता गर्दै कतिपय संवेदनशील क्षेत्रहरूलाई गन्तव्यका रूपमा प्रवर्द्धन गरिरहेका छन्। भारतको उत्तरी हिमाली उपत्यकामा रहेका धार्मिक तीर्थस्थलहरूमा पनि उस्तै अवस्था छ।
पोखरा होटल एसोसिएसनका अध्यक्षले पनि हिमाली क्षेत्रमा पर्यटकीय संरचनाहरू “कुनै ठोस योजनाविना” विस्तार भएको र “अव्यवस्थित रूपमा” प्रवर्द्धन गरिएको स्वीकार गरे।
“विपद् आइसकेपछि पछुताउनुबाहेक केही बाँकी रहँदैन,” पोखरा होटल एसोसिएसनका अध्यक्ष लक्ष्मण सुवेदीले भने, “हामी व्यावसायिक संस्थाका रूपमा पर्यटन उद्यमी तथा लगानीकर्ताहरूमा सचेतना फैलाउने प्रयास गरिरहेका छौँ।”
जलविद्युत् र विकासको दबाब
जोखिम केवल पर्यटन क्षेत्रमा मात्र सीमित छैन। भोटेकोशी र त्रिशूली नदी करिडोरहरूमा जलविद्युत् आयोजनाहरूको निर्माण पनि व्यापक रूपमा बढेको छ।
अध्ययनका मुख्य लेखक एवं लिड्स विश्वविद्यालयका हिमनदीविज्ञ सी. स्कट वाटसनले चेतावनी दिँदै भने, “नदी उपत्यकाहरू बढ्दो रूपमा जोखिमयुक्त बन्दै गएका छन्। आज हामीले गर्ने विकाससम्बन्धी निर्णयहरूले नै आगामी दशकसम्मको विपद् जोखिम निर्धारण गर्नेछन्।”
अनुसन्धानकर्ताहरूले अनुमान गरेभन्दा अझ बढी भौतिक संरचनाहरू खतराको सूचीमा पर्न सक्ने देखिएको छ।
अध्ययनले नदी वा हिमतालको सतहभन्दा ५० ठाडो मिटर (१६४ फिट) भित्र रहेका सम्पूर्ण भवनहरूलाई जोखिमयुक्त वर्गमा राखेको थियो। तर, गत २६ अगस्टको विनाशकारी बाढीका बेला रसुवाका स्थानीयहरूका अनुसार कतिपय ठाउँमा नदीको बहाव सतहभन्दा ७० मिटर (२३० फिट) सम्म माथि उठेको थियो। जसका कारण नदी किनारभन्दा निकै टाढा रहेका भवनहरू समेत प्रभावित भई पहिरोमा पुरिएका थिए।
तापक्रम वृद्धिको असर
हिमाली क्षेत्रका यी सबै जोखिमहरूको मूल कारण विश्वव्यापी तापक्रम वृद्धि नै हो। वैज्ञानिकहरूका अनुसार हिमाली क्षेत्रको तापक्रम वृद्धि दर विश्वव्यापी औसत दरको दोब्बर छ।
यसले हिमनदी, बरफका क्षेत्र, हिउँका थुप्रा र पर्माफ्रोस्ट (सधैँ जमेको जमिन) पग्किने प्रक्रियालाई तीव्र बनाएको छ।
यसको परिणामस्वरूप पहाडी ढलानहरू अस्थिर बनिरहेका छन्, जसलाई भूकम्पका धक्काहरूले थप कमजोर बनाउँदा तल्लो तटीय क्षेत्रमा ठूलो विनाश निम्त्याउने गर्छ।
तीव्र पग्लावटका कारण हिमतालहरू भरिने र फैलिने क्रम बढेको छ, जसले हिमताल विस्फोटन (GLOF) भई घातक बाढीको रूप लिने गर्छ। नेपालमा मात्रै सन् १९४० यता कम्तीमा ३० वटा यस्ता घटनाहरू दर्ता भइसकेका छन्।
अर्को गम्भीर समस्या के हो भने, बढ्दो तापक्रमका कारण विगतमा हिउँ मात्र पर्ने उच्च हिमाली उचाइहरूमा अहिले वर्षा हुन थालेको छ। यसले पहाडी ढलानहरू भत्किने, चट्टान तथा बरफ खस्ने र अन्य अप्रत्याशित विपद्हरू निम्त्याइरहेको छ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले हालै संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनको यो गम्भीर खतराप्रति विश्वको ध्यानाकर्षण गराएका थिए। उनले नेपालले आफूले सिर्जना नै नगरेको संकटका लागि “विशाल मूल्य” चुकाउनु परिरहेको बताएका थिए।
“हरेक ठूलो विपद्ले वर्षौँको विकास प्रयासलाई एकैछिनमा समाप्त पारिदिने खतरा बोकेको हुन्छ। यसले गर्दा गरिब राष्ट्रहरू आफैँले निम्त्याएको क्षति मर्मत गर्न पुनः ऋणको भासमा पर्न बाध्य हुन्छन्,” उनले भनेका थिए।
कार्यान्वयनका चुनौतीहरू
कोलोराडो विश्वविद्यालयका पर्वतीय भूगोलविद् एल्टन बायर्स (जो यस अध्ययनमा संलग्न थिएनन्) का अनुसार यो अनुसन्धान थप प्रभावकारी पूर्व-चेतावनी प्रणाली र पूर्वसावधानीका उपायहरू लागू गर्नका लागि एउटा “महत्वपूर्ण आधार” बन्न सक्छ।
तर, यसको व्यावहारिक कार्यान्वयन भने निकै चुनौतीपूर्ण छ। अधिकारकर्मीहरूका अनुसार भवन निर्माण संहिता तथा नियमहरू व्यवहारमा पालना भएका छैनन् र वर्षौँदेखि विकास निर्माण अव्यवस्थित बन्दै गएको छ।
नेपाल विश्वविद्यालयका रजिस्ट्रार एवं सहरी योजनाविज्ञ प्राध्यापक सूर्यराज आचार्यका अनुसार सडक, जलविद्युत् आयोजना, होटल तथा बजार केन्द्रहरू नदी किनारका सुलभ र समतल जमिनमै केन्द्रित भई फैलिएका छन्।
उनका अनुसार नियामक निकायहरूले प्रायः नदी किनारबाट निश्चित दूरी कायम गर्नुपर्ने जस्ता आधारभूत सुरक्षा मापदण्डहरूलाई पूर्ण रूपमा बेवास्ता गरेका छन्।
“हिमालयजस्तो नाजुक पारिस्थितिक प्रणालीले अन्य क्षेत्रको तुलनामा अझ कडा योजना र निर्माण मापदण्डको माग गर्छ, तर हाम्रा नियमहरू आफैँमा कमजोर छन् र तिनको कार्यान्वयन झनै फितलो छ,” उनले भने।
नेपालका सरकारी अधिकारीहरूले भने यी समस्या समाधानका लागि पहल भइरहेको दाबी गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालैको विनाशकारी बाढीबाट प्रभावित रसुवा-भोटेकोशी करिडोरमा नदी किनारको १५ मिटर (४९ फिट) भित्र कुनै पनि नयाँ निर्माण कार्य गर्न निषेध गरिनेछ। यस्तै मापदण्ड अन्य नदी करिडोरहरूमा पनि क्रमशः लागू गरिँदैछ।
“यो निकै कठिन कार्य हो; किनभने स्थानीय मानिसहरूको आफ्नो पैतृक जग्गा र सम्पत्तिसँग भावनात्मक सम्बन्ध हुन्छ। तर, दिनप्रतिदिन बढ्दै गएको यो जोखिमलाई हामीले बेवास्ता गर्न मिल्दैन,” प्रमुख कार्यकारी धर्मराज उप्रेतीले भने।
उत्तराखण्डको समान नियति
नेपालको पश्चिमी सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यमा पनि अवस्था फरक छैन। सामाजिक अभियन्ता अनूप नौटियालका अनुसार आर्थिक वृद्धिको नाममा वातावरणीय नियमहरू र बहन क्षमताको सीमालाई धज्जी उडाइएको छ।
कागजमा घर तथा पूर्वाधारहरू नदी किनार नजिक बनाउन नपाइने क्षेत्रीय नियमहरू भए पनि “मैदानमा ती नियमहरूको कार्यान्वयन शून्यप्रायः छ।”
“तपाईं जहाँतहीँ अव्यवस्थित र जथाभाबी निर्माण भइरहेको देख्न सक्नुहुन्छ,” उनले भने।
यसैबीच, उत्तराखण्ड सरकारले गत १२ अक्टोबरमा भू-उपयोग तथा विकासलाई नियन्त्रण गर्न नयाँ ‘बाढी मैदान क्षेत्रीयकरण नियमहरू’ स्वीकृत गरेको छ। राज्य मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, “यसको मुख्य उद्देश्य बाढीको प्राकृतिक बहावलाई नछेकि सम्भावित बाढीबाट धनजन र महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा गर्नु हो।”
तर, त्रिभुवन विश्वविद्यालयको विपद् अध्ययन केन्द्रका निर्देशक बसन्तराज अधिकारी भने यस्ता प्राकृतिक खतराहरूलाई पूर्ण रूपमा न्यूनीकरण गर्न असम्भवप्रायः रहेको मान्छन्।
उनले जोखिमका आधारमा ‘बीमा वर्गीकरण’ लाई विकल्पका रूपमा अघि सारेका छन्, जसले मानिसहरूलाई कम जोखिमयुक्त क्षेत्रमा बसाइँ सर्न वा घर बनाउन प्रोत्साहित गर्न सक्छ। यदि अधिकारीहरूले क्षेत्रहरूलाई उच्च, मध्यम र न्यून जोखिममा वर्गीकृत गरे भने बीमा प्रिमियम पनि सोही अनुसार निर्धारण हुनेछ; जसले गर्दा सुरक्षित क्षेत्रमा निर्माण गर्नेहरूले सहुलियत र राम्रो सुरक्षा पाउने उनको विश्वास छ।
यद्यपि, हालसम्म सिङ्गो हिमाली क्षेत्रभरि अव्यवस्थित निर्माणको गति घट्ने कुनै सङ्केत भने देखिएको छैन।
बीबीसी न्यूज

तपाईंको प्रतिक्रिया