बिहान काठमाडौं झरेका ट्रम्पलम्यान साँझै ‘प्लेयर अफ द म्याच’

 कार्तिक १, २०८३

✍ लेखा खबर संवाददाता


एनपीएल सिजन ३ मा कीर्तिपुरमा पोखरा एभेन्जर्सविरुद्ध तीन विकेट लिएपछि लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पलम्यान खुसी हुँदै।

काठमाडौँ, १८ कार्तिक । आयरल्यान्डविरुद्धको एकदिवसीय शृङ्खला सकिएको केही घण्टामै नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान नेपालतर्फ उडेका थिए र मंगलबार बिहानै नेपाल आइपुगे र सोही दिन नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सका लागि खेलेर ‘प्लेयर अफ द म्याच’ बने।

आइरल्यान्डविरुद्ध पाँच खेलको एकदिवसीय शृङ्खला ३-२ ले जितेपछि ट्रम्पलम्यान सोमबार बिहानै नेपालतर्फ प्रस्थान गरेका थिए। तर उनको यात्रा योजनाअनुसार सहज हुन सकेन।

पोस्टम्याच प्रस्तुतिका क्रममा उनले भने, “आयरल्यान्डविरुद्ध ३-२ ले शृङ्खला जितेपछि म सोमबार बिहानको उडानमा चढें। उडान ढिलो भयो, जसले गर्दा केप टाउनमा कनेक्टिङ फ्लाइट समात्न मसँग मुस्किलले पाँच मिनेट मात्र बाँकी रह्यो।”

उनी जहाज चढ्न त सफल भए, तर हतारका कारण उनका खेल सामग्रीसहितका झोलाहरू त्यहीँ छुटे। फलस्वरूप, मंगलबार साँझको खेलमा उनले सहकर्मीबाटै स्पाइक्स (क्रिकेट जुत्ता) मागेर खेल्नुपर्‍यो।

“दुर्भाग्यवश मेरा झोलाहरू त्यहीँ छुटे, त्यसैले आज मैले साथीसँग स्पाइक्स मागेर खेल्नुपर्‍यो,” उनले भने।

बिहान काठमाडौं, साँझ कीर्तिपुरमा

ट्रम्पलम्यान मंगलबार बिहान काठमाडौं आइपुगे। लुम्बिनी लायन्सले उनको स्वागत गरेको र उनी दिनको खेलमा सहभागी भएको आधिकारिक सामाजिक सञ्जालमा पनि जनाएको छ।

त्यसै दिन साँझ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एनपीएल सिजन ३ को १३औं खेलमा लुम्बिनी लायन्सको सामना पोखरा एभेन्जर्ससँग भयो। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको लुम्बिनीले पोखरालाई २० ओभरमा ९७ रनमा रोक्यो।

यात्राको थकान र आफ्नै खेल सामग्री नभएको अवस्थाको कुनै असर ट्रम्पलम्यानको बलिङमा देखिएन। उनले चार ओभरमा मात्र १६ रन खर्चिँदै तीन विकेट लिए। उनले खेलको सुरुवातमै अर्जुन कुमाललाई दोस्रो बलमै शून्यमा आउट गराए।

ट्रम्पलम्यानको प्रभावकारी बलिङसहित लुम्बिनीले ९८ रनको सानो लक्ष्य ११.४ ओभरमै दुई विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीले ५० बल बाँकी रहँदा आठ विकेटको जित निकाल्‍यो।

लिग-२ को फ्यान रेटिङ: शीर्ष १५ मा १० नेपाली

‘लुम्बिनी मेरो लागि विशेष परिवार’

खेलपछि ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै ट्रम्पलम्यानले आफ्नो लामो यात्रा र लुम्बिनीसँगको सम्बन्धबारे भावुक भएर बोले।

“यहाँ हुन पाउँदा खुसी छु। लुम्बिनी मेरो लागि एउटा विशेष परिवारजस्तै हो र यहाँ फर्कन पाउँदा रमाइलो लाग्यो,” उनले भने, “म आज बिहान मात्र आइपुगेको छु, त्यसैले अब सिधै सुत्न जान्छु र भोलि बिहान मात्र उठ्नेछु।”

गत सिजनको च्याम्पियन लुम्बिनी लायन्सका लागि यो निर्णायक बलरको फिर्ता ठूलो सुदृढीकरण बनेको छ। अन्तर्राष्ट्रिय ड्युटी सकेर सोही दिन नेपाल आइपुगेर पनि ट्रम्पलम्यानले ३ विकेटको प्रदर्शनसँगै आफ्नो व्यावसायिकता र खेलप्रतिको प्रतिबद्धता देखाए।

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?