गाजामा ९ सन्तान गुमाएकी डाक्टर अझै अरु बालबालिका बचाउँदै

 जेठ १३, २०८२

✍ लेखा खबर संवाददाता


शोकमा डुबेकी आमाले आँशु पुछ्दै फेरी एप्रोन लगाइन् — किनभने अरूका छोराछोरीहरू अझै बाँकी छन्

काठमाडौँ, जेठ १२ — गाजामा भएको इजरायली हवाई आक्रमणले डा. अलाअ अल-नज्जारको जीवनको सबैभन्दा अँध्यारो पाना कोरिदियो। गाजामा ९ सन्तान गुमाएकी डाक्टर अलाअको पीडा केवल व्यक्तिगत होइन, गाजाको समग्र मानवीय संकटको प्रतीक बनेको छ।

एकैपटक उनका ९ सन्तानहरू ज्यान गुमाए, एक छोरा गम्भीर घाइते छन्, श्रीमान् जीवन र मृत्युसँग जुझिरहेका छन्। तर तिनै आमाले आँसु थाम्दै अस्पतालको एप्रोन फेरि लगाएकी छन् । किनभने गाजामा अझै थुप्रै बालबालिका बाँकी छन्, जसलाई उपचार चाहिन्छ।

पीडाको नाम: आमा

मृत सन्तानहरू:
याह्या, रकान, रस्लान, जेबरान, इभ, राइभल, सैदेन, लुकमान, सिद्रा – तिनीहरूको अब केवल तस्बिर बाँकी छ। अस्पतालका सहकर्मी भन्छन्, “हाम्रो सहकर्मीले सिद्राको लागि दूध जम्मा गर्दै आएकी थिइन्। आज उनले मलाई त्यो अन्तिम बोतल देखाइन्- भक्कानिएर, तर चुपचाप।”

बाँचेक‍ो छोरा आदम घाइते अवस्थामै

आदमको एक हात गम्भीर रूपमा क्षतिग्रस्त छ। होशमा आउँदा उनले भने, “इभ कहाँ छ? रगतले रुख भरिएको छ…” उनका शब्दले पुरै वार्ड स्तब्ध बनायो।

आफ्नो पीडामाथि सेवा: अस्पताल फर्किएकी डाक्टर

गाजामा ९ सन्तान गुमाएकी डाक्टर अलाअ दुई दिनभित्रै अस्पताल फर्किइन्। ICU र आपत्कालीन कक्षबीच दौडिरहेकी उनी बोल्दिनन्, तर आँखाले धेरै कुरा सुनाउँछिन्। सहकर्मीहरू भन्छन् – “उहाँ चुपचाप उपचार गर्दै हुनुहुन्छ। आँशु टार्दै काम गरिरहनु भएको छ।”

स्वास्थ्यकर्मीमाथि पनि हमला, स्वास्थ्य मन्त्रालयको अपिल

गाजाको स्वास्थ्य मन्त्रालयले डा. अलाअको कथालाई “वीरता र समर्पणको उदाहरण” भन्दै सम्मानित गरेको छ। मन्त्रालयले भनेको छ — “यो हमला केवल घरमाथि होइन, गाजाको सम्पूर्ण स्वास्थ्य प्रणालीमाथि हो।”

विदेशमा पसिना, घरमा पीडा: रमेशको कथा, हजारौंको यथार्थ, विदेशमा नेपाली श्रमिक

बाँकी सास गाजाका बालबालिकाका लागि

डा. अलाअ अब आफ्नै लागि होइन, गाजाका बाँकी छोराछोरीका लागि बाँचिरहेकी छन्। गाजाकी वीर आमाको यो साहसिकता केवल चिकित्सकीय सेवा होइन, युद्धको क्रूरताविरुद्ध मानवताको बलियो प्रतिकार पनि हो। जब विश्वले आँखा चिम्लेको छ, उनीले आँखा खोलेर घाइते बालबालिकालाई हेरेकी छन्। प्रत्येक पट्टी बाँध्दा, उनी आफ्ना सन्तान गुमाएको पीडा पट्टिमा समेट्छिन् — ताकि अर्को आमाले त्यस्तो पीडा भोग्न नपरोस्।

मानवता अझै बाँकी छ

यो समाचार होइन, एउटा आमाको शोकको राग हो। एक आमाको जसले आफ्ना सबै सन्तान गुमाएर पनि अरूका छोराछोरीहरू बचाइरहेकी छन्। गाजामा ९ सन्तान गुमाएकी डाक्टर अलाअ अहिले केवल चिकित्सक होइनन्, गाजाको साहस, सहनशीलता र मानवताको मुहार हुन्।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?