मनसुनको विताण्ड सुरु : धरान–धनकुटा सडक बगायो, सयौं यात्रु बीच बाटोमै अलपत्र

 जेठ १८, २०८२

✍ लेखा खबर संवाददाता


लेउती खोलाको बाढीले बगाएको कोशी राजमार्गको भाग

लगातारको वर्षापछि लेउती खोलामा आएको बाढीले धरान–धनकुटा सडक खण्डको ठूलो भाग बगाएपछि कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ, जेठ १७ — साँगुरीगढी गाउँपालिका–६ फेदीमा करिब ५० मिटर सडक खण्ड बगाएको जिल्ला सडक डिभिजन कार्यालयकी सुपरभाइजर अमृता राईले जानकारी दिइन्। उनका अनुसार, मङ्गलवार दिउँसो ४ बजेपछि लेउती खोलामा बाढी ले धरान–धनकुटा सडक बगायो, पानीको बहाव अत्यधिक बढेपछि खोलाले धार परिवर्तन गरी राजमार्ग नै कटान गरेको हो। “सडकसम्म पुग्ने अवस्था पनि छैन, खोला अझै उर्लिरहेको छ,” उनले भनिन्।

सयौं सवारीसाधन रोकिए, यात्रु अलपत्र

सडक पूर्ण रूपमा अवरुद्ध भएपछि धरानबाट धनकुटा र अन्य पूर्वी पहाडी जिल्लाहरू जाने तथा फर्कने सयौं सवारीसाधन बाटोमै रोकिएका छन्। तेह्रथुम, भोजपुर र सङ्खुवासभा जस्ता जिल्लाबाट तराई झर्ने तथा फर्कने सबै यातायातका साधन अवरुद्ध हुँदा सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

अझै क्षतिग्रस्त हुने खतरा

सडक डिभिजनका अनुसार निरन्तर वर्षा भइरहेको र लेउती खोलाको बहाव अझै कम नभएकाले अझै सडकमा क्षति बढ्न सक्ने सम्भावना छ। तत्काल वैकल्पिक मार्ग बनाउन सकिने अवस्था छैन। स्थानीय अधिकारीहरूका अनुसार, सडक सुचारु हुन केही दिन लाग्न सक्छ।

सुरक्षाकर्मी परिचालन, पहिरोको जोखिम पनि बढ्दो

जिल्ला सदरमुकामबाट सुरक्षाकर्मीको टोली बगाएको सडक क्षेत्रतर्फ खटिएको छ। उता जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले कोशी राजमार्गका अन्य स्थानहरूमा पनि साना पहिरो गइरहेको जानकारी दिए। पहिरोको जोखिम अझै उच्च छ।

खोलामा बाढी ले बस्ती नभए पनि होटल र संरचना जोखिममा

बाढीले बगाएको स्थानमा बस्ती नभए पनि करिब तीन किलोमिटर टाढा रहेको फेदी पुल वरपर होटल र घरहरू जोखिममा छन्। बाढीको बहावले ती संरचनामा पनि असर पर्न सक्ने आशंका गरिएको छ।

नेपालमा मनसुन चाँडो सुरु हुने संकेत, बाढी र पहिरोको जोखिम पनि बढ्ने

मनसुनको समयमा सर्तकता आवश्यक

मनसुन सक्रिय परिस्थितिमा सर्वसाधारण, यातायात व्यवसायी र यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न, अनावश्यक यात्रा नगर्न तथा सम्बन्धित सरकारी निकायहरूको सूचनालाई पालना गर्न आग्रह गरिन्छ। विपद् जोखिम कम गर्न सामूहिक सर्तकता र पूर्वतयारी अति आवश्यक छ।

तपाईंको प्रतिक्रिया