ब्रेकिङ: दैलेखमा भेटियो ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस – चिनियाँ टोलीको पुष्टि

चिनियाँ भूगर्भविद्को प्रारम्भिक रिपोर्टले पुष्टि गर्यो– दैलेखको जलजले क्षेत्रमा ५० वर्ष पुग्ने मिथेन ग्याँसको भण्डार
असार ५ , काठमाडौं – दैलेखको जलजले क्षेत्रमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँसको भण्डार प्रारम्भिक रूपमा पत्ता लागेको छ। चीनबाट आएको विज्ञ टोलीले उक्त ग्याँस नेपाललाई करिब ५० वर्ष पुग्ने बताएको प्रारम्भिक प्रतिवेदन दिएपछि सरकारी अधिकारीहरू उत्साहित देखिएका छन्।
यो अध्ययन चीनको सरकारी निकाय ‘चाइना जिओलोजिकल सर्भे’ र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० सालको वैशाख २८ गतेदेखि सुरु गरेका थिए। उनीहरूले जमिन ४ हजार मिटर गहिराइसम्म खनेर अध्ययन गरेका थिए। अध्ययनको क्रममा जमिनमुनिबाट ग्याँसको गन्ध आएको पुष्टि भएपछि नमुना चट्टान चीन पठाइएको थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अनलाइनखबरसँग भने,
“हामीलाई प्राप्त प्रारम्भिक रिपोर्टअनुसार जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्याँस छ। यो ग्यास नेपाललाई ५० वर्षसम्म पुग्ने अनुमान गरिएको छ।”
मिथेन ग्याँस पेट्रोल र डिजेलको स्वच्छ विकल्प मानिन्छ।
खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेल भन्छन्,
“मिथेन ग्याँस गाडी चलाउन, बत्ती बाल्न, बिजुली उत्पादन गर्न सकिन्छ। यसबाट हाइड्रोजन छुट्याएर अमोनिया ग्यास बनाएर मल कारखानामा प्रयोग गर्न सकिन्छ।”
दैलेखका विभिन्न स्थानहरूमा यत्रतत्र बलिरहने ज्वालालाई स्थानीयहरूले ‘दैवी शक्ति’ मानेर पूजा गर्दै आएका छन्। तर विज्ञहरूका अनुसार ती ज्वालाहरू जमिनमुनिको प्रज्ज्वलनशील ग्याँसका कारण बलेका हुन्।
मन्त्री भण्डारीका अनुसार चिनियाँ प्राविधिक टोलीले डिसेम्बरसम्म विस्तृत प्रतिवेदन दिने तयारीमा छन्। उनले भने,
“हामीले त्यो प्रक्रिया छिटो गर्न आग्रह गरेका छौं। विस्तृत रिपोर्ट आएपछि ७५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने योजना बनाएका छौं, जसका लागि अनुमानित लागत ६५ अर्ब रुपैयाँ रहेको छ।”
उक्त प्राकृतिक ग्याँसलाई व्यावसायिक प्रयोगमा ल्याउन सके नेपालले आर्थिक उन्नतिमा ठुलो फड्को मार्ने मन्त्री भण्डारीको विश्वास छ।
विगतको पृष्ठभूमि: भारतको नाकाबन्दीपछि सुरु भयो अध्ययन
२०७२ सालको भारतीय नाकाबन्दीपछि इन्धन संकट हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग पेट्रोलियम अध्ययन गर्न पहल गरेको थियो।
त्यसैका आधारमा चिनियाँ टोलीले नेपालका विभिन्न सम्भाव्य क्षेत्रहरूमा अध्ययन सुरु गरे। तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे दैलेखको श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका लगायतका क्षेत्रमा नमूना संकलनका लागि पुगेका थिए।
त्यसबेलै सरकारले ६ महिनाभित्र उत्खनन् सुरु गर्ने घोषणा गरे पनि करिब १० वर्षपछि बल्ल ठोस प्रक्रिया सुरु भएको हो।
नेपालमा व्यवस्थित रूपमा पेट्रोलियम अध्ययन सन् १९९७ बाट मात्रै सुरु भएको थियो।
विश्व बैंकको सहयोगमा सन् १९७८/७९ मा खानी तथा भूगर्भ विभागले ४८ हजार वर्ग किमी क्षेत्रफलमा एयरबोर्न म्याग्नेटिक सर्वे गरेको थियो, जसको परिणाम उत्साहजनक आएको थियो।
त्यसपछि सन् १९८२ मा पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजना स्थापना गरेर अनुसन्धान अघि बढाइएको हो।
हालसम्मका अध्ययन अनुसार, नेपालको चुरे क्षेत्रमुनिको तराई भूभाग पेट्रोलियम उत्खननको लागि सम्भावनायुक्त मानिएको छ।
देशलाई १० ब्लकमा विभाजन गरिएको छ र तीमध्ये हालसम्म दैलेखमा मात्र ग्याँसको उत्खनन भएको हो।
मन्त्री भण्डारीका अनुसार ड्रिल गरिएको ठाउँबाट ११२ अर्ब घनमिटर ग्याँस पत्ता लागेको हो भने अझ थप तीन ठाउँमा ड्रिल गरेमा ग्याँसको परिमाण अझ बढ्न सक्ने अनुमान गरिएको छ।
तपाईंको प्रतिक्रिया