‘श्री ५ महाराजधिराज’ नेपालको संविधान विपरीत, अब नलेखिने

 असार २८, २०८२

✍ लेखा खबर संवाददाता


पूर्वराजाको विवादास्पद सम्बोधन

पूर्व राजाको सचिवालय लेख्ने र ‘श्री ५ महाराजधिराज’ प्रयोग नगर्ने शर्तमा पूर्वराजा ज्ञानेन्द्र शाहका संवादसचिव रिहा

काठमाडौं, असार २८ – पूर्वराजा ज्ञानेन्द्र शाहका संवादसचिव डा. फणी पाठकलाई प्रहरीले संविधानसम्मत शब्द प्रयोग गर्ने शर्तमा रिहा गरेको छ। शुक्रबार बिहानैदेखि सोधपुछमा रहेका पाठकलाई ‘श्री ५ महाराजधिराज’ सम्बोधन नगर्ने र परिवारका सदस्यको जिम्मा लगाउने शर्तमा छाडिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले भने, “उहाँलाई संविधानसम्मत शब्दावली प्रयोग गर्ने सहमतिमा परिवारसँग पठाइएको छ।” पाठकलाई संविधानविपरीत कार्य गरेको आरोपमा शुक्रबार बिहान सोधपुछका लागि बोलाइएको थियो।

संसदमा उठ्यो सम्बोधनको मुद्दा

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सचिवालयमार्फत ‘श्री ५ महाराजधिराज’ जस्ता संविधानविपरीत सम्बोधन प्रयोग गर्दै आएको विषय संसदमा समेत चर्चाको विषय बनेको छ। नेपालमा राजसंस्था विस्थापित भएको १५ वर्ष बितिसक्दा पनि उनले राजाकै हैसियतमा विज्ञप्ति जारी गरिरहेको र भ्रम सिर्जना गरेको आरोप लाग्दै आएको छ।

गणतन्त्र घोषणापछि पनि विवाद

जनआन्दोलन २०६२/६३ को जगमा गठित संविधानसभाले २०६५ जेठ १५ मा नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। २३८ वर्ष लामो शाहवंशीय राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइँदै आएको छ। तर, पूर्वराजा शाहले नारायणहिटी दरबार छाडेपछि पनि आफ्नो सचिवालयमार्फत संविधानविपरीत ‘श्री ५ महाराजधिराज’ उपाधि राखिएको लेटरहेड प्रयोग गर्दै आएका छन्।

यो कार्यले नेपालको अन्तरिम संविधान २०६३ र संविधान २०७२ को स्पष्ट उल्लंघन गरेको देखिन्छ। प्रहरीले पाठकलाई सोधपुछ गरी संविधानको पालना गर्न सचेत गराएको छ।

सर्वोच्चको विवादास्पद फैसला: संवैधानिक नियुक्तिमा वैधानिकता कि शक्ति खेल?

संविधान पालना गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्रको सचिवालयले संविधानविपरीत गतिविधि गरेको भन्दै विभिन्न पक्षबाट आलोचना हुँदै आएको छ। संविधानले राजसंस्थालाई मान्यता नदिएको अवस्थामा यस्ता गतिविधिले भ्रम सिर्जना गरेको विश्लेषकहरू बताउँछन्। प्रहरी प्रवक्ता बोहोराले पनि संविधानको पालना गर्न सबैलाई आग्रह गरेका छन्।

यो घटनाले पूर्वराजा र उनको सचिवालयको गतिविधिमाथि थप बहस सिर्जना गरेको छ। आगामी दिनमा यस्ता विवादास्पद गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5