सावधान! विश्वभर १६ अर्ब पासवर्डहरू इन्टरनेटमा लिक – कतै तपाईंको Account पनि जोखिममा त छैन ?

काठमाडौं, साउन ७ – विश्वभरबाट करिब १६ अर्बभन्दा बढी प्रयोगकर्ताको नाम र पासवर्डहरू इन्टरनेटमा लिक भएका छन्। यो कुनै एक कम्पनीको डाटा लिक नभई विगतका साइबर आक्रमण, डाटा चोरी र मालवेयरबाट सङ्कलित ठूलो डाटासेट हो। यो डाटा अहिले डार्क वेब र केही खुला फोरममा बिक्री वा share भइरहेको छ।
फेसबुक, इन्स्टाग्राम, जीमेल, एप्पल, गिटहब, टेलिग्रामजस्ता प्लेटफर्म र केही सरकारी वेबसाइटका खाताहरू पनि यसमा समावेश हुन सक्छन्। यस्तो डाटा साइबर अपराधीको हातमा परे खाता ह्याक, पहिचान चोरी वा अनलाइन ठगीको जोखिम हुन्छ।
यो कुनै एक घटना होइन। वर्षौंदेखि विभिन्न कम्पनीबाट डाटा चोरी, पासवर्ड ह्याक, मालवेयर र असुरक्षित वेबसाइट/एपमा दिइएका जानकारीहरू सङ्कलन गरेर यो ‘मेगा डाटासेट’ बनाइएको हो।
तपाईंको खाता सुरक्षित राख्न तुरुन्तै यी कदम चाल्नुहोस्:
- पासवर्ड परिवर्तन गर्नुहोस्
- सबै खाताको पासवर्ड तुरुन्तै फेर्नुहोस्।
- एउटै पासवर्ड धेरै खातामा नराख्नुहोस्।
- अक्षर, सङ्ख्या र सिम्बोल मिसाएर बलियो पासवर्ड बनाउनुहोस्।
- दुई-चरण प्रमाणीकरण (2FA) प्रयोग गर्नुहोस्
- सम्भव भएसम्म सबै खातामा 2FA अन गर्नुहोस्।
- यो सुविधाले पासवर्ड लिक भए पनि खाता सुरक्षित राख्छ।
- पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस्
- बलियो पासवर्ड बनाउन र सुरक्षित राख्न पासवर्ड म्यानेजर एप प्रयोग गर्नुहोस्।
- डाटा लिक भएको जाँच गर्नुहोस्
- वेबसाइट https://haveibeenpwned.com मा गएर आफ्नो इमेल वा युजरनेम जाँच्नुहोस्।
- मालवेयर स्क्यान गर्नुहोस्
- आफ्नो मोबाइल वा कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयरले स्क्यान गर्नुहोस्।
- अनजान लिङ्कबाट सावधान रहनुहोस्
- अनजान इमेल वा म्यासेजका लिङ्क नखोल्नुहोस्, फिसिङ आक्रमणबाट बच्नुहोस्।
नेपालमा साइबर अपराधको जोखिम
नेपालमा साइबर अपराध बढ्दो छ। आर्थिक वर्ष २०८०/८१ मा नेपाल प्रहरीको साइबर ब्युरोमा १९,००० भन्दा बढी उजुरी दर्ता भए। सामान्य अपराधहरूमा सामाजिक सञ्जालको खाता ह्याक, नक्कली खाता बनाएर ठगी, निजी तस्वीर/भिडियो लिक गरेर ब्ल्याकमेल र फिसिङ लिङ्क पठाउने समावेश छन्। खासगरी फेसबुक, मेसेन्जर, टिकटक, ह्वाट्सएप र टेलिग्राममा यस्ता घटना बढी छन्।
एआई प्रविधिको तीव्र विकास: भविष्य निर्माण कि नियन्त्रणबाहिरको दौड ?
इन्टरनेट प्रयोगमा सतर्कता जरुरी
प्रविधिले जीवन सहज बनाए पनि जोखिम बढाएको छ। व्यक्तिगत विवरण, बैंकिङ जानकारी र सामाजिक सञ्जाल खाताहरू सुरक्षित राख्न सावधानी अपनाउनु जरुरी छ। माथिका उपायहरू लागू गरेर आफ्नो डिजिटल सुरक्षा सुनिश्चित गर्नुहोस्। तपाईंको एक कदमले ठूलो क्षति रोक्न सक्छ!
तपाईंको प्रतिक्रिया