१८ ओरिएन्टेसन केन्द्रसँग वैदेशिक रोजगार विभागले माग्याे स्पष्टीकरण

काठमाडौं, साउन १५ – वैदेशिक रोजगारीमा जाने श्रमिकलाई तालिम दिने अभिमुखीकरण केन्द्रहरूको(Orientation Center) प्रभावकारिता र पारदर्शिता सुनिश्चित गर्न वैदेशिक रोजगार विभागले १८ ओरिएन्टेसन केन्द्रसँग स्पष्टिकरण मागेको छ।
विभागका अनुसार हालै गरिएको अनुगमनका क्रममा केही संस्थाको भौतिक पूर्वाधार छैन, केहीमा आवश्यक जनशक्ति अभाव देखिएको छ भने कतिपयको लोकेसन नै भेटिएको छैन। विभागका सूचना अधिकारी टिकाराम ढकालका अनुसार, “यी संस्थाहरूमध्ये कसैको भवन अस्तव्यस्त, जनशक्ति विहीन र प्रविधिसम्बन्धी सेवाहरू समेत बन्द अवस्थामा थिए।”
ढकालले थपे, “उनीहरूलाई एक हप्ताभित्र स्पष्टिकरण दिन भनिएको छ। त्यसपछि कार्यविधिअनुसार सचेत गराउने, जरिवाना तिराउने वा संस्थाको अनुमति खारेज गर्ने निर्णय हुनेछ।”
विभागले काठमाडौं उपत्यकाभित्रको अनुगमन स्थलगतरूपमा र उपत्यका बाहिरको अनलाइन माध्यमबाट गरेको थियो। गत वर्षदेखि विभागले सबै संस्थामा आईरिस प्रणाली जडान गरिसकेको छ, जसबाट अनलाइन निगरानी सम्भव बनेको हो।
हाल वैदेशिक रोजगारीका लागि सरकारबाट इजाजतप्राप्त १४३ संस्थामध्ये १२५ सक्रिय छन्। बाँकी १८ संस्थाको अनलाइन आइटी प्रणाली हाल बन्द गरिएको छ।
भिजिट भिसाको कठोर यथार्थ: यूएईमा कसरी ठगिन्छन् नेपालीहरू?
विभागले आगामी दिनमा थप १०० संस्था अनुगमन गर्ने तयारीसमेत गरिरहेको छ। यस कदमलाई वैदेशिक रोजगारी प्रक्रियामा पारदर्शिता र श्रमिकको सुरक्षाका हिसाबले महत्त्वपूर्ण मानिएको छ।
तपाईंको प्रतिक्रिया