दार्चुलामा अटो दुर्घटनामा एकको मृत्यु, दुई जना बेपत्ता  

 भदौ १६, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं, भदौ १६ । दार्चुलामा अटो दुर्घट्नामा परी एक बालिकाको मृत्यु हुनुका साथै दुई जना वेपत्ता भएका छन् भने एक घाइते भएका छन् । सोमबार दिउँसो करिव १ बजेतिर म–१ ह–११४८ नम्बर अटो नौगाड गाउँपालिका–५ को सौकेबगर भिरको सडकबाट खस्दा अन्दाजी १२/१३ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । 

मृतक बालिकाको सनाखत हुन बाँकी रहेको उहाँले बताउनुभयो । सोही अटोमा सवार दुई जना महिला नौगाड खोलामा वेपत्ता भएको जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो । अटोमा चालक सहित पाँच जना सवार रहेको बताइएको छ । 

अटोमा सवार अटो चालक मनीराम भुलको १७ वर्षीया छोरा आयुष भुल घाइते भएका छन् । उहाँलाई घट्ना स्थलबाट उद्दार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याइएको प्रहरी निरिक्षक रावतले जानकारी दिनुभयो । चालक मनीराम भुल प्रहरी नियन्त्रणमा छन् । 

नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडबाट धुलिगडातर्फ आउँदै गरेको अटो सडकबाट अन्दाजी ५० मिटर तल नौगाड खोलामा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा धुलिगडा र होपरीगाडबाट प्रहरी चौकीबाट प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5