काठमाडौंमा विद्युतीय चुरोट(Vape) तस्करी पक्राउ लगभग ३८०० विद्युतीय चुरोट बरामद

काठमाडौँ, भाद्र १६। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरीले अवैध रूपमा राजस्व छली गरी भण्डारण तथा कारोबार गरिएको विद्युतीय चुरोट सहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ चमतीस्थित भाडामा लिएको कोठामा गोदाम बनाएर राखिएको ठूलो मात्रामा भेप बरामद गरेको हो ।
पक्राउ परेकामध्ये निमा छिरिङ शेर्पा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ लिस्तीका ४० वर्षीय हुन् । उनी हाल काठमाडौं महानगरपालिका–१६ बालाजुमा बस्दै आएका थिए । सोही अभियोगमा पक्राउ परेका अर्का व्यक्ति ५२ वर्षीय राम बहादुर गुरुङ सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ ज्यामिरेका स्थायी वासिन्दा हुन् भने हाल काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा बसोबास गर्दै आएका थिए । पक्राउ परेका ४२ वर्षीय कृष्ण बहादुर गुरुङ सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–४ जुबुका स्थायी निवासी हुन्, उनी हाल बुढानिलकण्ठ नगरपालिका–१० कपनमा बस्दै आएका छन् ।
गोदाममा राखिएको एल्फबार ब्रान्डको विद्युतीय चुरोट २ हजार ८४५ थान र बिग म्याक्स ब्रान्डको भेप १०० थान बरामद गरिएको छ। यसरी गरी जम्मा ३ हजार ८०५ थान विद्युतीय चुरोट बरामद भएको छ, जसको कुल मूल्य करीब ३८ लाख ५ हजार रुपैयाँ हुन्छ ।
प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार बरामद गरिएको सामग्री राजस्व छली गरी भण्डारण गरिएको ठहर भएकाले आवश्यक कानूनी प्रक्रिया अघि बढाइनेछ ।
तपाईंको प्रतिक्रिया