बीपी प्रतिष्ठानमा ५० लाख रुपैयाँ बराबरको औषधि घोटाला , ५ सदस्यीय छानबिन समिति गठन

 कार्तिक ०१, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौँ , असोज ३१। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सञ्चालन भइरहेको फार्मेसीमा करिब ५० लाख रुपैयाँ बराबरको औषधि घोटाला प्रकरणको छानबिन गर्न समिति गठन गरिएको छ। प्रतिष्ठानले खरिद गरेको ५ करोड ५० हजार रुपैयाँ बराबरको औषधिमध्ये करिब ५० लाखको औषधि बेपत्ता भएपछि संस्थाभित्र ठूलो आर्थिक अनियमितता भएको खुलासा भएको छ। 

प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाका अनुसार औषधि हिनामिना भएपछि दोषिमाथि कारबाहीअघि बढाउन ५ सदस्यीय विशेष छानबिन समिति गठन गरिएको छ। समितिको संयोजकत्व प्रतिष्ठानको हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पोखरेलले गरेका छन्। समितिमा आर्थिक सल्लाहकार मनोज अधिकारी, धरान टेक्निकल कलेजका प्रिन्सिपल अमितकुमार गुप्ता, अधिवक्ता नवराज दाहाल र धरान उपमहानगरपालिकाबाट स्वास्थ्य क्षेत्र हेर्ने प्रतिनिधि सदस्य रहेका छन्। समितिलाई २५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको रजिस्ट्रार संग्रौलाले बताए।

प्रतिष्ठानको प्रारम्भिक छानबिनले अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद, तत्कालीन डेपुटी निर्देशक डा. लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन, कर्मचारी विवेक दाहाल र कर्मचारी आपूर्तिको जिम्मा लिएको केटिएम सेक्युरिटी प्रालिका प्रतिनिधिहरूको संलग्नता देखिएको जनाएको छ।

फार्मेसीमा ३६ लाख बराबरको औषधि फेला नपरेको, ४ लाख रुपैयाँको हिसाब गडबडी भएको र १४ लाखभन्दा बढी मूल्यको औषधि म्याद सकिएको अवस्थामा भेटिएको छ। घोटालाको तथ्य सार्वजनिक भएपछि प्रतिष्ठानले फार्मेसीको औषधि बिक्री बन्द गरेको छ जसले उपचारका लागि आउने हजारौं बिरामीलाई समस्यामा पारेको छ। 

फार्मेसी बन्द भएपछि बिरामीले बाहिरी मेडिकलबाट महंगो मूल्यमा औषधि किन्न बाध्य भएका छन्। फार्मेसी बन्द भएपछि स्वास्थ्य बीमा गरेका बिरामीहरू पनि प्रभावित भएका छन्। प्रतिष्ठानमा नयाँ उपकुलपति डा. बिक्रमप्रसाद श्रेष्ठ आएसँगै प्रतिष्ठान  सुधार र नियम विपरीत गलत गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सुरु गरिएको छ। यो अभियानले प्रतिष्ठान सुधार गरि बिरामीको उपचारमा सहज हुने स्थानीय बासिन्दाको अपेक्षा रहेको छ। 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5