“परिणाम पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर भएको छैन” – केपी ओली
काठमाडौँ, फागुन २८ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा आफ्नो र पार्टीको पराजयलाई ‘जनताको अन्तिम फैसला’ भन्दै स्वीकार गरेका छन्। सामाजिक सञ्जालमार्फत एक भावुक सन्देश जारी गर्दै उनले अपेक्षित नतिजा नआए पनि जनमतको पूर्ण सम्मान गर्ने बताएका हुन्।
“लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला स्वीकार गर्नु हाम्रो कर्तव्य हो,” ओलीले भनेका छन्। उनले निर्वाचनको नतिजाले जनतासँगको सम्बन्ध र सेवाभावमा कुनै कमी नआउने बताउँदै आगामी दिनमा अझ सशक्त भएर जनताकै बीचमा रहने प्रतिबद्धता जनाएका छन्। झापा–५ बाट पराजित भएपछि उनले सूर्य चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदाता र कार्यकर्ताहरूलाई हृदयदेखि धन्यवाद समेत दिएका छन्।
सांसदको भूमिका पुस्तक बेच्ने होइन, कानुन बनाउने हो- महावीर पुनलाई पोखराका मेयर आचार्यको सुझाव
सामाजिक सञ्जालमा उनले लेखेको सन्देश:
दिदीबहिनी तथा दाजुभाइहरू,
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन।लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु। यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो। निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन।
हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।

तपाईंको प्रतिक्रिया