‘घण्टी’ को ध्वनि र पाँचतारेको शून्यता
काठमाडौं, चैत ४ । नेपाली राजनीतिमा एउटा जबरजस्त भाष्य निर्माण गरेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि यो ‘अभिमुखीकरण’ केवल एउटा तालिम मात्र थिएन, बरु उसको चरित्र मापन गर्ने कडी थियो। “हामी पुराना जस्ता छैनौँ” भनेर कसम खाएका र सुशासनलाई आफ्नो मुख्य ‘पूँजी’ बनाएका सांसदहरूका लागि पाँचतारे होटलको विलासी हल कति अनिवार्य थियो?
सुशासनको नारा र व्यवहारको खाडल
सडकमा हुँदा “राज्यकोषको दुरुपयोग भयो” भन्दै घण्टी बजाउनेहरू सदनमा पुग्नेबित्तिकै होटलका ‘बुफे’ मा रमाउनुले एउटा नमीठो सन्देश दिएको छ। के रास्वपाका सांसदहरूले कुनै सार्वजनिक विद्यालयको हल वा साझा थलोमा बसेर जनताका समस्याबारे ‘अभिमुखीकरण’ लिन सक्दैनथे? सुशासन भाषणमा सजिलो छ, तर पाँचतारे होटलको ‘एसी’ कोठामा बसेर गरिब निमुखाको दुख बुझ्ने दाबी गर्नु आफैँमा विरोधाभासपूर्ण छ।
जेनजीको आवेग र ‘नयाँ’ को नियति
पुरानो शैली र भ्रष्ट संस्कारविरुद्ध ‘जेन-जी’ (Gen Z) पुस्ताले जुन आवेगका साथ यो नयाँ शक्तिलाई काँध थाल्यो, आज त्यही पुस्ता रनभुल्लमा छ। आन्दोलनको आडमा उदाएका दलहरू पनि पद र प्रतिष्ठा पाउनेबित्तिकै ‘एलिट’ संस्कारमा घुलमिल हुनुले “जुन जोगी आए पनि कानै चिरेको” भन्ने पुरानो उखानलाई पुनः चरितार्थ गरिदिएको छ।
खर्चको स्रोतमाथिको मौनता
यो कार्यक्रमको खर्च कसले व्यहोर्यो? यदि कुनै वैदेशिक संस्था वा स्वार्थ समूहको लगानी छ भने, के रास्वपाका ‘प्रतिभावान्’ सांसदहरू सुरुमै कसैको प्रभावमा परेका त होइनन्? सुशासनको पहिलो सर्त पारदर्शिता हो, जुन यहाँ हराएको देखिन्छ।
रास्वपा जस्ता नयाँ दलहरूले बुझ्नुपर्छ जनताले तपाईंहरूलाई ‘पाँचतारे होटल’ मा सुकिलो हुन पठाएका होइनन्, बरु सिंहदरबार र संसद्का कुर्सीहरूलाई ‘धुलोरहित’ र ‘भ्रष्टाचारमुक्त’ बनाउन पठाएका हुन्। यदि नयाँ भनिएकाहरूको अवस्था पनि पुरानैको सिको गर्ने हो भने, यो जनमतको सबैभन्दा ठूलो उपहास हुनेछ। गरिब र निमुखा जनताले फेरि एकपटक ठगिएको महसुस गर्नेछन्।
हर्क साम्पाङको पार्टीबाट को-को बन्दैछन् सांसद? क्याप्टेनदेखि ‘जेनजी’ सम्मको इन्ट्री

तपाईंको प्रतिक्रिया