बालेन सरकार: मन्त्रिपरिषद्‌मा ४० मुनिका युवाको वर्चस्व र समावेशी अनुहार

 चैत १३, २०८२

✍ लेखा खबर संवाददाता


बालेन सरकार

१३ चैत, काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ अध्याय सुरु गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रूपमा ३६ वर्षीय शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त प्रधानमन्त्री बालेनसँगै गठित १५ सदस्यीय मन्त्रिपरिषद्मा युवाहरूको अभूतपूर्व वर्चस्व र समावेशी प्रतिनिधित्व देखिएको छ। मन्त्रिपरिषद्‌का १५ मध्ये १० जना मन्त्रीहरू ४० वर्ष मुनिका छन्।

युवा नेतृत्व र ‘जेनजी’ को प्रभाव

बालेन नेतृत्वको मन्त्रिपरिषद्मा सबैभन्दा कान्छी मन्त्री सोबिता गौतम (३० वर्ष) हुन् भने सबैभन्दा पाका सदस्य डा. स्वर्णिम वाग्ले (५१ वर्ष) हुन्। ३६ वर्षीय प्रधानमन्त्री बालेन आफैँमा युवा जोशको प्रतीक हुन्, जसले झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेर संसद्को यात्रा तय गरेका थिए।

यस मन्त्रिपरिषद्को अर्को मुख्य आकर्षण सुधन गुरुङ हुन्। ३८ वर्षीय गुरुङ गत भदौमा भएको ‘जेनजी’ आन्दोलनबाट चर्चामा आएका व्यक्ति हुन्, जसले गोरखा–१ बाट निर्वाचित भई सिधै गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन्।

शैक्षिक पृष्ठभूमि र कार्य अनुभवका आधारमा जिम्मेवारी

यसपटकको मन्त्रिपरिषद् चयनमा मन्त्रीहरूको सम्बन्धित क्षेत्रको शैक्षिक पृष्ठभूमि र विगतको अनुभवलाई आधार बनाइएको देखिन्छ:

१. अर्थमन्त्री – डा. स्वर्णिम वाग्ले: प्रसिद्ध अर्थविद् वाग्ले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट विद्यावारिधि प्राप्त हुन्। युएनडिपीको एसिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकार रहिसकेका वाग्लेलाई अर्थतन्त्रको बागडोर सुम्पिएको छ।

२. परराष्ट्रमन्त्री – शिशिर खनाल: ४७ वर्षीय खनालसँग ‘टिच फर नेपाल’ र अमेरिकामा सार्वजनिक नीति अभ्यासको लामो अनुभव छ।

३.भौतिक पूर्वाधार मन्त्री – सुनिल लम्साल: ३५ वर्षीय लम्साल स्ट्रक्चरल इन्जिनियर हुन्। काठमाडौँ महानगरको पूर्वाधार विज्ञका रूपमा काम गरेका उनलाई देशकै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिइएको छ।

४. कानुनमन्त्री – सोबिता गौतम: अधिवक्ता समेत रहेकी गौतमले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्नेछिन्।

. स्वास्थ्यमन्त्री – निशा मेहता: नर्सिङ पेशामा स्नातकोत्तर गरेकी मेहता स्वास्थ्य सेवा क्षेत्रबाटै राजनीतिमा आएकी हुन्।

६. शिक्षामन्त्री – सस्मित पोखरेल: २९ वर्षीय पोखरेलले काठमाडौँ महानगरको शिक्षा सल्लाहकारका रूपमा काम गरेका थिए।

समावेशी र सीमान्तकृतको प्रतिनिधित्व

बालेन सरकारले समावेशिताको क्षेत्रमा केही महत्वपूर्ण रेकर्ड कायम गरेको छ:

सीता वादी (महिला तथा ज्येष्ठ नागरिक मन्त्री): सीमान्तकृत वादी समुदायबाट संघीय संसद् र मन्त्रिपरिषद्‌मा पुग्ने उनी पहिलो व्यक्ति हुन्।

गीता चौधरी (कृषि, पशुपन्छी तथा वन मन्त्री): थारु समुदायकी ३३ वर्षीया चौधरी कानुन व्यवसायी हुन्, जसले अब किसान र वन क्षेत्रको नेतृत्व गर्नेछिन्।

निशा मेहता(स्वास्थ्य तथा जनसंख्या मन्त्री): मधेशी क्लस्टरबाट प्रतिनिधित्व गर्दै स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पुगेकी छन्।

मन्त्रीहरूको पूर्ण विवरण:

मन्त्रीको नाममन्त्रालयउमेरपृष्ठभूमि
बालेन्द्र शाह (बालेन)प्रधानमन्त्री३६स्ट्रक्चरल इन्जिनियर, पूर्वमेयर
सुधन गुरुङगृह३८सामाजिक अभियन्ता (हामी नेपाल)
डा. स्वर्णिम वाग्लेअर्थ५१अर्थविद्, पूर्व उपाध्यक्ष (योजना आयोग)
शिशिर खनालपरराष्ट्र४७सार्वजनिक नीति विशेषज्ञ
सोबिता गौतमकानुन, न्याय तथा संसदीय मामिला३०अधिवक्ता, सञ्चारकर्मी
सुनिल लम्सालभौतिक पूर्वाधार तथा यातायात३५स्ट्रक्चरल इन्जिनियर
सस्मित पोखरेलशिक्षा, विज्ञान तथा प्रविधि२९कानुन स्नातक, शिक्षा विज्ञ
निशा मेहतास्वास्थ्य तथा जनसंख्या३८नर्सिङमा स्नातकोत्तर
प्रतिभा रावलसंघीय मामिला तथा सामान्य प्रशासन३२सञ्चारकर्मी, रिसर्चर
गीता चौधरीकृषि, पशुपन्छी र वन३३कानुन व्यवसायी
विराजभक्त श्रेष्ठऊर्जा, जलस्रोत तथा सिँचाइ४४सम्पदा संरक्षण अभियन्ता
डा. विक्रम तिमल्सिनासञ्चार तथा सूचना प्रविधि४३अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि
गणेश पौडेलपर्यटन तथा नागरिक उड्यन४३लेखक, साहित्यकार
सीता वादीमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक३०राजनीतिशास्त्रमा स्नातकोत्तर
दीपक साहश्रम, रोजगार तथा सामाजिक सुरक्षा३४हेल्थ पोलिसी विशेषज्ञ, पिएचडी स्कलर

१५ सदस्यीय यो मन्त्रिपरिषद्ले “परम्परागत राजनीति” को धारलाई बदल्दै युवा र सम्बन्धित क्षेत्रका जानकारहरूलाई अघि सारेको छ। काठमाडौँको मेयरबाट सिधै देशको कार्यकारी प्रमुख बनेका बालेन शाह र उनको यो टोलीले जनअपेक्षा अनुसार कसरी कार्यसम्पादन गर्छ, त्यो भने भविष्यले नै बताउनेछ।

मन्त्री श्रद्धा श्रेष्ठ १०० दिन : गफ मात्रै कि काम पनि?

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?