झण्डाले देश जोगाउने कि झण्डा बोकेरै देश जलाउने? इरानको ‘मानव साङ्लो’ ले नेपालीलाई सोधेको प्रश्न

 चैत २५, २०८२

✍ लेखा खबर संवाददाता


इरानी नागरिकको मानव साङ्लो र नेपालको असोज ७ को आन्दोलनमा जलेका सरकारी भवनहरूको तुलना

काठमाडौँ, २५ चैत । विश्व कूटनीति अहिले १५ दिने ‘इरान-अमेरिका युद्धविराम’ को समाचारले तातिएको छ। तर, यो युद्धविराम भन्दा पनि महत्वपूर्ण एउटा दृश्यले संसारको ध्यान तानेको छ, त्यो हो इरानी नागरिकहरूको ‘मानव साङ्लो’। जब अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “एउटा सिङ्गो सभ्यताकै अन्त्य गरिदिने” भन्दै इरानका ऐतिहासिक पुल र पावर प्लान्टमा बम खसाल्ने धम्की दिए, तब इरानी युवाहरू राष्ट्रिय झण्डा बोकेर आफ्ना ती भौतिक सम्पत्ति जोगाउन ‘मानव ढाल’ बनेर उभिए।

यो दृश्यले राष्ट्रियताको एउटा बलियो परिभाषा दियो- नागरिकले झण्डा बोक्नुको अर्थ देशको रक्षा गर्नु हो, विनाश होइन।

तर, यही दृश्यलाई ठ्याक्कै ७ महिनाअघि नेपालले भोगेको ‘जेनजी’ (Gen Z) विद्रोहसँग तुलना गर्दा एउटा निकै बिझाउने र विरोधाभासी चित्र सामुन्ने आउँछ। सन् २०२५ सेप्टेम्बर ९ (भाद्र २४, २०८२) को त्यो दिन, जसलाई कतिपयले “नेपाल जलेको दिन” भनेर सम्झन्छन्, त्यहाँ पनि युवाहरूको हातमा चन्द्र-सूर्य झण्डा नै थियो। तर, विडम्बना! त्यहाँ झण्डा ‘रक्षा कवच’ होइन, आफ्नै राष्ट्रिय सम्पत्ति जलाउने ‘आवरण’ जस्तो देखियो।

इरानको ‘मानव ढाल’ र नेपालको ‘आक्रोशको आगो’

इरानमा १७०० वर्ष पुरानो डेजफुल पुल र बुशेहर जस्ता ऊर्जा केन्द्रहरू जोगाउन मानिसहरू रातभर जाग्राम बसे। उनीहरूलाई थाहा थियो- शासक त आउँछन् जान्छन्, तर यी संरचना ध्वस्त भए भने आउने पुस्ता अन्धकारमा बाँच्नुपर्नेछ। इरानी युवाहरूले आफ्नो शरीरलाई बम र मिसाइलको अगाडि थापेर भए पनि ‘सभ्यता’ जोगाउने प्रण गरे।

ठ्याक्कै यसको उल्टो, नेपालको ‘जेनजी’ विद्रोहमा आक्रोशको निसाना आफ्नै देशका साझा सम्पत्ति बने। सेप्टेम्बर ८ र ९ को त्यो हिंसात्मक मोडमा संसद् भवन, सर्वोच्च अदालत, मन्त्री निवास, सिंहदरबार प्रहरी चौकी र अन्य थुप्रै राष्ट्रिय सम्पति र गरिमामय संरचनाहरूमा आगो झोसियो। सरकारी प्रतिवेदनअनुसार झण्डै ४४० सरकारी भवनहरूमा क्षति पुग्यो भने १३४ भवनहरू त पूर्ण रूपमै खरानी भए। “देश बचाउन” निस्किएको भनिएको भीडले अर्बौँको राष्ट्रिय लगानीलाई एकै रातमा धुवाँ बनाइदियो।

अमेरिका र इरानबीच १५ दिने युद्धविराम: ‘सभ्यताकै अन्त्य’ हुने चेतावनीपछि कसरी सम्भव भयो सहमति?

दुई फरक मानसिकता: रक्षा भर्सेस विध्वंस

इरानमा नागरिक भनिरहेका थिए, “यदि अमेरिकाले बम खसाल्छ भने पहिले हामीलाई मारोस्, अनि मात्र हाम्रो सम्पत्तिमा क्षति पुगोस्।” यो बाह्य शत्रु विरुद्धको एउटा अभूतपूर्व ‘रक्षात्मक राष्ट्रवाद’ थियो।

तर, नेपालको विद्रोह आन्तरिक भ्रष्टाचार र बेथिति विरुद्ध थियो। पक्कै पनि, तत्कालीन सरकारको कुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्धले युवाहरूको धैर्यको बाँध टुटाएको थियो। तर, त्यो आक्रोश व्यक्त गर्ने शैलीमा देखिएको ‘आत्मघाती’ प्रवृत्तिले हाम्रो राष्ट्रिय चरित्रमाथि प्रश्न उठायो। झण्डा बोकेरै आफ्नै संसद् र अदालत जलाउँदा, हामीले कसलाई सजाय दियौँ? शासकलाई कि आफ्नै भविष्यलाई? आज ती भवनहरू पुनः बनाउन फेरि त्यही गरिब नेपालीकै कर खर्च भइरहेको छ।

झण्डाको गरिमा र नागरिक दायित्व

इरानीहरूले आफ्नो राष्ट्रिय सम्पत्तिलाई ‘जिउँदो’ राखेरै युद्धविराम र वार्ताको टेबलसम्म पुग्न सफल भए। यदि उनीहरूले आफ्नै हातले आफ्ना पावर प्लान्टहरू ध्वस्त पारेका भए, आज युद्धविराम भए पनि उनीहरू अन्धकारमै हुने थिए।

नेपालको त्यो विद्रोहले सत्ता परिवर्तन त ल्यायो, तर त्यसले छोडेको डढेलोको दाग अझै मेटिएको छैन। इरानको ‘मानव साङ्लो’ ले हामीलाई सिकाएको छ कि- सत्तासँग जतिसुकै असन्तुष्टि भए पनि, देशको भौतिक र ऐतिहासिक सम्पदा नागरिकको नासो हो।

नेपालका युवाहरूले बुझ्नुपर्ने कुरा झण्डा बोक्नु भनेको केवल नारा लगाउनु वा सडकमा टायर बाल्नु मात्र होइन। झण्डाले ओगटेको भूगोल र त्यहाँभित्रका साझा सम्पत्तिको रक्षा गर्नु पनि हो। इरानले देखाएको ‘मानव साङ्लो’ र नेपालले भोगेको ‘आगोको लप्का’ यी दुई बीचको खाडललाई नमेटेसम्म हाम्रो राष्ट्रियताको परिभाषा अधुरो रहनेछ।

देश जोगाउन देश जलाउनु पर्दैन, इरान जस्तै ‘देश बनेर’ उभिन सक्नुपर्छ।

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?