बालेनको सत्ता र कर्मचारीको अस्तित्व: अपमान नै अन्तिम नियति हो?
काठमाडौँ, बैशाख ४ । काठमाडौँ महानगरको नेतृत्व गर्दा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ढोकामा ८ महिनासम्म ताला लगाइएको घटनाले नेपाली प्रशासनको इतिहासमा एउटा गम्भीर घाउ छोडेको छ। आज बालेन शाह प्रधानमन्त्रीको कुर्सीमा पुग्दा कर्मचारी वृत्तमा एउटा प्रश्न झन् टड्कारो बनेको छ: के अबको शासनमा कर्मचारीले सम्मानजनक जीवन र वृत्तिविकासको अवसर पाउलान् कि केवल “भ्रष्टाचारी” र “कामचोर” को बिल्ला भिरेर अपमानित भइरहनुपर्ने हो?
कर्मचारीलाई गाली गर्नु र उनीहरूका कार्यकक्षमा ताला लगाउनु सजिलो छ, तर उनीहरूको आधारभूत आवश्यकता र मर्म बुझ्नु एउटा अभिभावकीय सरकारको पहिलो दायित्व हो। राज्यले कर्मचारीबाट इमानदारी र उच्च कार्यक्षमताको अपेक्षा राख्दै गर्दा उनीहरूलाई न्यूनतम आधारभूत आवश्यकताबाट वञ्चित राख्नु कुनै पनि दृष्टिकोणले न्यायसंगत हुँदैन। सरकारले कर्मचारीलाई खान, लाउन, उचित आवास, छोराछोरीको गुणस्तरीय शिक्षा र औषधोपचार खर्च धान्न सक्ने गरी पर्याप्त र सम्मानजनक पारिश्रमिक उपलब्ध गराउनु अनिवार्य छ।
आजको चरम महँगी र आर्थिक संकटको समयमा, एकातिर पेन्सन जस्ता सामाजिक सुरक्षाका सुविधाहरू खुम्चिँदै जाने र अर्कोतिर जीवन धान्न समेत धौ-धौ हुने न्यून पारिश्रमिकमा काम लगाइरहने हो भने कर्मचारीहरू भ्रष्टाचार र नैतिक विचलनतर्फ धकेलिनु स्वाभाविक हुन जान्छ। यदि नेतृत्वले कर्मचारीका यी आधारभूत मानवीय आवश्यकताहरूलाई बेवास्ता गरेर केवल पपुलिजम्को लागि डन्डा मात्र चलाउने र अपमानित गरिरहने हो भने, यसले कर्मचारीको मात्र होइन, उनीहरूको सम्पूर्ण परिवार र भावी पुस्ताको समेत भविष्य अन्धकार बनाउनेछ। तसर्थ, एउटा मर्यादित कर्मचारीतन्त्र निर्माणका लागि राज्यले पहिला उनीहरूको जीविकोपार्जनको ग्यारेन्टी गर्दै वृत्तिविकासको र सम्मानजनक जिवनयापन स्पष्ट खाका कोर्नु नै आजको मुख्य आवश्यकता हो।
यदि सरकारले कर्मचारीको वृत्तिविकास र जीवनस्तर सुधारमा ध्यान नदिने हो भने, उनीहरू समाजमा केवल अपमानको पात्र मात्र बन्नेछन्। त्यो अपमानको राप अब कर्मचारीमा मात्र सीमित छैन; यसले उनीहरूका छोराछोरी र परिवारको मानसपटलमा समेत गहिरो चोट पुर्याइरहेको छ। संयुक्त राष्ट्र संघ (UNO) जस्ता अन्तर्राष्ट्रिय निकायको नजरमा नेपाली प्रशासनलाई भ्रष्ट भनिए पनि, कतिपय अवस्थामा त्यो भ्रष्टाचारको जड गरिबी र असुरक्षित भविष्य पनि हो। यदि बालेन शाहले प्रधानमन्त्रीका रूपमा कर्मचारीलाई केवल “भ्रष्टाचारी” र “कामचोर” भनेर आरोपित मात्र गरिरहने हो भने, कर्मचारी र उनीहरूका परिवारले समाजमा पाइला-पाइलामा शिर निहुराउनुपर्ने दिन धेरै टाढा छैन।
बालेन सरकारले बुझ्न जरुरी
अबको नेतृत्वले बुझ्न जरुरी छ डन्डा र तालाले भौतिक संरचना त बन्द होला, तर प्रशासन चल्दैन। कर्मचारीलाई पर्याप्त सेवा-सुविधा, उचित मान-सम्मान र वृत्तिविकासको अवसर दिएर मात्रै एउटा सक्षम र इमानदार कर्मचारीतन्त्र निर्माण गर्न सकिन्छ। नत्र, शासकको ‘लाउरे’ शैली र कर्मचारीको ‘अपमानित’ जीवनले मुलुकलाई सुशासन होइन, केवल प्रशासनिक अराजकतातर्फ धकेल्ने निश्चित छ।

तपाईंको प्रतिक्रिया