आज हटाइएका सुकुम्वासीलाई कहाँ राखिँदै छ? यी हुन् तोकिएका ५ स्थान
काठमाडौं, वैशाख १८ । काठमाडौं उपत्यकाका विभिन्न नदी किनारामा रहेका सुकुम्वासी बस्ती हटाउने कार्यसँगै त्यहाँबाट विस्थापित भएका परिवारलाई सरकारले अस्थायी व्यवस्थापन गर्ने प्रक्रिया सुरु गरेको छ। बिहीबार बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायतका क्षेत्रमा रहेका घर-टहरा भत्काइएपछि ती परिवारलाई ५ वटा निश्चित स्थानमा स्थानान्तरण गर्न लागिएको हो।
कहाँ-कहाँ राखिँदै छ सुकुम्वासीलाई?
सरकारले तत्कालका लागि काठमाडौं उपत्यका र नजिकैको काभ्रेमा गरी निम्न पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था मिलाएको छ:
१. ललितपुर: धापाखेलस्थित टेवा कार्यालय।
२. भक्तपुर: खरिपाटीस्थित विद्युत तालिम केन्द्र।
३. भक्तपुर: बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र।
४. भक्तपुर: नगरकोटस्थित खानेपानी तालिम केन्द्र।
५. काभ्रे: बनेपास्थित रेडक्रस भवन।
रंगशालामा लगत संकलन तीव्र
बस्तीबाट हटाइएका सुकुम्वासीहरूलाई तोकिएको अस्थायी स्थानमा लैजानुअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ। त्यहाँ उनीहरूको विस्तृत विवरण (लगत) संकलन गर्ने कार्य भइरहेको छ।
अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराइसकेका छन्। रंगशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले विवरण संकलन गरिरहेको छ।
बालेन सरकारको ‘सुशासन एक्सन’: ६२२ सरकारी गाडी फिर्ता, पहुँचका भरमा गरिने दोहन अन्त्य गरिँदै
संयुक्त टोलीको सक्रियता
महानगरपालिकाले बस्ती खाली गराउने अभियान चलाएसँगै संघीय सरकारका विभिन्न निकायहरू व्यवस्थापनमा जुटेका हुन्। वास्तविक सुकुम्वासीको पहिचान गरी उनीहरूलाई अस्थायी रूपमा बसोबासको ग्यारेन्टी गर्न यो कदम चालिएको सरकारी अधिकारीहरूले बताएका छन्।

तपाईंको प्रतिक्रिया