अमेरिका र इरान युद्ध अन्त्यको नजिक: ट्रम्पको दाबीले विश्व बजारमा नयाँ तरङ्ग, के हुँदैछ अब?
काठमाडौँ, जेठ ११ । गत फेब्रुअरी महिनादेखि अमेरिका–इजरायल र इरानबीच चलिरहेको विनाशकारी युद्ध अन्ततः रोकिने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच युद्ध अन्त्यका लागि सम्झौताको खाका लगभग पुरा भइसकेको दाबी गरेपछि विश्वभर शान्तिको आशा पलाएको छ।
पाकिस्तानी मध्यस्थता तथा साउदी अरब, कतार र टर्की जस्ता क्षेत्रीय शक्तिहरूको कूटनीतिक प्रयासपछि दुवै देश ६० दिने युद्धविराम (Ceasefire) को ऐतिहासिक सम्झौता नजिक पुगेका हुन्।
के छ सम्झौताको खाकामा?
अमेरिकी सञ्चारमाध्यम एक्सीओस (Axios) र न्यूयोर्क टाइम्स का अनुसार प्रस्तावित सहमति (MoU) मा निम्न मुख्य बुँदाहरू रहेका छन्:
१. ‘स्ट्रेट अफ हर्मोज’ खुल्ने: युद्ध सुरु भएदेखि बन्द रहेको विश्वकै सबैभन्दा महत्त्वपूर्ण इन्धन ढुवानी मार्ग ‘स्ट्रेट अफ हर्मोज’ (Strait of Hormuz) लाई इरानले पुनः खुला गर्नेछ र त्यहाँ बिछ्याइएका सामुद्रिक बारुद (Mines) हटाउनेछ। व्यापारिक जहाजहरू बिना कुनै कर (Tolls) हिँड्न पाउनेछन्।
२. इरानको तेल बिक्रीमा फुकुवा: यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउनेछ र इरानलाई स्वतन्त्र रूपमा तेल बेच्न अनुमति दिनेछ।
३. परमाणु कार्यक्रममा ब्रेक: इरानले आफ्नो युरेनियम प्रवर्द्धन (Uranium Enrichment) रोक्ने र आफूसँग भएको संवर्धित युरेनियमको भण्डार नष्ट गर्ने वा अन्यत्र स्थानान्तरण गर्ने विषयमा वार्ता गर्न सहमति जनाएको छ।
ट्रम्पको उत्साह र इरानको सावधानी
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल (Truth Social) मा लेख्दै भनेका छन्, “अमेरिका, इरान र अन्य देशहरूबीचको शान्ति सम्झौता करिब टुङ्गिएको छ र यसको विस्तृत विवरण छिट्टै घोषणा गरिनेछ।” ट्रम्पले यसबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि सकारात्मक कुराकानी भएको बताएका छन्।
तर, इरानी अधिकारीहरूले भने वार्ता सकारात्मक दिशामा अघि बढे पनि केही गम्भीर विमतिहरू अझै बाँकी रहेको भन्दै सतर्कता अपनाएका छन्। इरानी मिडियाका अनुसार ‘स्ट्रेट अफ हर्मोज’ को व्यवस्थापन र सम्प्रभुता इरानकै नियन्त्रणमा रहनेछ, जुन अमेरिकाका लागि टाउको दुखाइको विषय बन्न सक्छ। साथै, इरानले लेबनान (हिजबुल्लाह) मा भइरहेको इजरायली आक्रमण पनि पूर्ण रूपमा रोकिनुपर्ने सर्त राखेको छ।
नेपालका विदेशी कलेजहरूमाथि सरकारको ठूलो ‘एक्सन’: अब कुन चल्न पाउने, कुन बन्द हुने?
यो सम्झौता किन महत्त्वपूर्ण ?
विश्वको झन्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति यही ‘स्ट्रेट अफ हर्मोज’ भएर हुने गर्छ। युद्धका कारण यो मार्ग ठप्प हुँदा विश्वभर महँगी र इन्धन संकट चुलिएको थियो। यदि यो ६० दिने सम्झौता सफल भएमा यसले अमेरिका र इरानबीचको दशकौँ लामो दुश्मनीलाई मात्रै अन्त्य गर्ने छैन, बरु विश्व अर्थतन्त्रलाई पनि ठूलो राहत दिनेछ। यद्यपि, सम्झौतामा हस्ताक्षर हुनुअघि इजरायलको भूमिका र इरानका कट्टरपन्थी जनरलहरूको अडानले यो सहमति भाँडिन सक्ने खतरा पनि उत्तिकै रहेको विज्ञहरू बताउँछन्।

तपाईंको प्रतिक्रिया