नेपाल-भारत क्रस बोर्डर डिजिटल भुक्तानी औपचारिक रूपमा सुरु ! नेपालीलाई के कस्ता सुविधा ?
काठमाडौँ, जेठ २२ । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच डिजिटल भुक्तानी सेवा (क्रस बोर्डर डिजिटल पेमेन्ट) औपचारिक रूपमा सञ्चालनमा आएको छ। शनिबार नयाँ दिल्लीमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच भएको उच्चस्तरीय वार्तासँगै दुई देशबीच व्यक्ति-व्यक्ति (P2P) डिजिटल भुक्तानी र रेमिट्यान्स आदानप्रदानको बाटो खुलेको हो।
२०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस (NCHL) र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (NPCI) बीच भएको सम्झौता बल्ल कार्यान्वयनमा आएको हो।
नेपाली नागरिकले तत्काल पाउने सुविधाहरू र सीमा (Ceilings):
१. सिधै बैंक खातामा पैसा आउने:
भारतमा रहेका लाखौँ नेपाली श्रमिक, विद्यार्थी वा नागरिकहरूले अब मोबाइल बैंकिङ वा कनेक्ट आईपीएसमार्फत सिधै नेपालमा रहेका आफ्ना परिवारको बैंक खातामा तत्काल पैसा ट्रान्सफर गर्न सक्नेछन्। यसका लागि नबिल, ग्लोबल आईएमई, एनएमबी, नेपाल एसबीआई, हिमालयन, माछापुच्छ्रे र सिद्धार्थ बैंकसहित ८ नेपाली बैंकहरू आवद्ध भइसकेका छन्।
२. रकम पठाउने सीमा (Limit):
भारतमा रहेका नेपाली वा भारतीय नागरिकले नेपालको बैंक खातामा प्रति-कारोबार २ लाख भारु (करिब ३ लाख २० हजार नेपाली रुपैयाँ) सम्म तुरुन्तै पठाउन सक्नेछन्।
३. नेपालबाट भारत पठाउँदाको सीमा:
नेपालमा रहेका भारतीय नागरिकले भारतमा आफ्ना आफन्तको बैंक खातामा मोबाइल बैंकिङमार्फत प्रति कारोबार १५ हजार भारु र मासिक बढीमा १ लाख भारुसम्म पठाउन सक्ने व्यवस्था सुरु भएको छ। तर नेपाली नागरिकले भने नेपालबाट भारतमा डिजिटल माध्यमबाट पैसा पठाउन पाउने व्यवस्था अझै सुरु भइसकेको छैन।
‘मेरो सम्पत्ति विवरण खरानी हो, त्यही उठाएर लैजा सरकार!’ – आयोगलाई बयान नदिने केपी ओलीको घोषणा
के क्युआर (QR) स्क्यान गर्न मिल्छ त ?
यो ऐतिहासिक सुरुवातपछि धेरैको चासो ‘भारतका पसलहरूमा नेपाली मोबाइल बैंकिङबाट क्युआर स्क्यान गर्न मिल्छ कि मिल्दैन’ भन्नेमा छ। हाल भारतीय नागरिकहरू नेपाल आउँदा क्युआरमार्फत भुक्तानी गर्न सक्छन्, तर नेपालीहरू भारत जाँदा चिया पसलदेखि अस्पतालको बिलसम्म क्युआर (QR) स्क्यान गरेर मर्चेन्ट भुक्तानी गर्ने सुविधा अझै सुरु भएको छैन।
यो व्यक्ति-व्यक्तिबीचको डिजिटल ट्रान्सफर (P2P) पहिलो ऐतिहासिक पाइला मात्र हो। दोस्रो चरणमा नेपालबाट भारत जाने यात्रु तथा उपचारका लागि अस्पताल जाने बिरामीहरूले सहज रूपमा क्युआरबाटै भुक्तानी गर्न पाउने व्यवस्था छिट्टै सुरु हुने परराष्ट्रमन्त्री खनालले जानकारी दिएका छन्।

तपाईंको प्रतिक्रिया