वास्तविक कि एआई? एआईले बनाएको तस्बिर र भिडियो चिन्ने उपाय
काठमाडौँ, असार १६ । केही दिनअघि नर्वेका चर्चित फुटबल खेलाडी अर्लिङ हाल्यान्डको एउटा भिडियो इन्टरनेटमा भाइरल भएको थियो, ऐनामा आफैंलाई देखेर तर्सिएको दृश्य, हेर्दा साह्रै रमाइलो। मानिसहरू हाँस्दै शेयर गरिरहे। तर साँचो कुरा के थियो भने ती हाल्यान्ड नै थिएनन्। एक टिकटक क्रिएटरको भिडियोमा एआई प्रविधि प्रयोग गरी हाल्यान्डको अनुहार जोडिएको थियो। भिडियो यति सफा थियो कि लाखौं मानिसले साँचो ठाने।
यो एउटा हाँसो-ठट्टाको प्रसंग मात्र होइन। यो आजको इन्टरनेटको साँचो चित्र हो, जहाँ देख्ने र सुन्ने जे पनि अब त्यति सजिलै पत्याउन मिल्दैन।
प्रविधि कति अघि बढिसक्यो?
हार्वर्ड विश्वविद्यालय, MBZUAI (अबुधाबी) र चीनको रेन्मिन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा तयार पारेको हालैको एक विस्तृत अध्ययनले एआई भिडियो प्रविधि कति छिटो फेरिँदैछ भन्ने देखाउँछ। यो अध्ययन प्रतिष्ठित भाषाविज्ञान सम्मेलन ACL 2026 ले स्वीकृत गरेको बताइएको छ। अध्ययनका अनुसार, पहिले एआई भिडियोले छोटो फुटेजमा मात्र हेरफेर गर्थ्यो, तर अहिले Sora र Google Veo जस्ता मोडेलले विना किने भिडियो नै सिंगो भिडियो बनाउन सक्छन्। यस्ता भिडियो झट्ट हेर्दा एकदम साँचो देखिन्छन्, तर नियालेर हेर्दा अनेकौं अप्राकृतिक ढंगका बनोट र अन्य थुप्रै त्रुटिहरु देख्न सकिन्छ।
प्रविधि जति अघि बढ्छ, हामी पनि उत्तिकै सचेत हुनुपर्ने भएको छ। तर हामी अलिकति चनाखो हुने हो भने यो काम खासै गारो पनि छैन। वास्तविक वा एआई बाट बनेको भनेर कसरी थाहा पाउने त?
तस्बिर चिन्ने उपाय: साना त्रुटिभन्दा समग्र झलकमा मा ध्यान दिनुहोस्
अस्ट्रेलियन नेसनल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले प्रतिष्ठित जर्नल PNAS मा प्रकाशित गरेको अध्ययनले रोचक निष्कर्ष निकालेको छ, छोटो तालिमले नै मानिसको एआई चिन्ने क्षमता झन्डै दोब्बर बनाउन सक्छ। उनीहरूका अनुसार छुट्टाछुट्टै त्रुटि खोज्नुभन्दा अनुहारको समग्र झलकमा मा ध्यान दिनु बढी प्रभावकारी हुन्छ, किनभने एआई ले हजारौं अनुहारको गणितीय औसत निकालेर तस्बिर बनाउँछ।
१ . धेरै नै “मिलेको” अनुहार: साँचो मानिसको अनुहार कहिल्यै पूर्ण सममित(symmetrical) हुँदैन। दायाँ-बायाँ ठ्याक्कै मिलेको, असाधारण आकर्षक देखिने अनुहार देख्नुभयो भने सतर्क हुनुहोस्।
२. भावको कमी: एआईले राम्रो तस्बिर त बनाउन सक्छ, तर त्यसमा ठ्याक्कै मानिसको जस्तो देखिने गहिरो भाव हुँदैन। यस्ता अनुहार आकर्षक भए पनि सजिलै बिर्सिने खालका हुन्छन्।
३. जुम गरेर हेर्नुहोस्: हातका औँला, चस्माको फ्रेम, कानका मुन्द्रा र दाँतको बनावटमा ध्यान दिनुहोस्, यहीं प्रायः गल्ती लुकेको हुन्छ।
४. छाला र पृष्ठभूमि: अत्यधिक चिल्लो छाला र धमिलिएको वा अनौठो किनारा भएको पृष्ठभूमि पनि शंकाको संकेत हो।
भिडियो चिन्ने उपाय: हलचल र तालमेल जाँच्नुहोस्
भिडियोमा थप एउटा आयाम थपिन्छ – समय। यसैले यहाँ केही थप संकेतहरू भेटिन्छन्:
१ . ओठ र आवाजको तालमेल: बोलिरहेको ओठको चाल र सुनिने आवाज ठ्याक्कै मिल्दैन भने त्यो शंकाजनक हुन्छ।
२. आँखा र अनुहारको भाव: एआई अनुहारले असाध्यै कम वा असाध्यै नियमित ढंगले आँखा झिम्क्याउँछ, र अनुहारको भाव अप्राकृतिक देखिन सक्छ।
३. शरीरको चाल: अनुहार चलिरहेको तर घाँटीमुनिको भाग “अडिएको” जस्तो देखिनु पनि एउटा संकेत हो।
४. उज्यालो र छायाँ: अनुहारमा परेको उज्यालो वरपरको वातावरणसँग नमिल्नु, र कपाल वा गालाको छेउमा हल्का “झिलिमिली” देखिनु पनि सामान्य त्रुटि हो।
आवाजको नक्कल चिन्ने उपाय
आजकल कसैको आवाज नक्कल गर्न पनि एआई ले धेरै सजिलो बनाइदिएको छ। तर यसमा पनि केहि त्रुटी फेला पर्न सकिन्छ:
१ . बोलीमा साँस फेर्ने स्वाभाविकढाँचा नहुनु, वा एकदमै नियमित समयमा साँसको आवाज आउनु।
२. शब्दले हतार वा डर बुझाए पनि स्वर समथर र भावविहीन सुनिनु।
३. कतैकतै हल्का अप्राकृतिक स्वर सुनिनु।
आँखा-कानले मात्र पुगेन भने तपाईंले यी उपायहरू अपनाएर हेर्न सक्नुहुन्छ
१ . रिभर्स इमेज सर्च: Google Images वा TinEye मा तस्बिर अपलोड गरेर त्यो इन्टरनेटमा पहिले कहाँ देखा परेको थियो भनी जाँच्न सकिन्छ।
२. मेटाडेटा जाँच: तस्बिरमा राइट-क्लिक गरी “Properties” हेर्नुहोस्, वास्तविक क्यामराबाट खिचिएको भए क्यामराको विवरण (EXIF Data) हुन्छ, जुन एआई तस्बिरमा प्रायः हुँदैन।
३. अभ्यास गर्न चाहनुभयो भने: WhichFaceIsReal.com जस्ता वेबसाइटमा गएर आफ्नो “डिपफेक रडार” जाँच्न र बलियो बनाउन सकिन्छ।
शंका लागे के गर्ने?
तुरुन्तै शेयर नगर्नुहोस्, गलत साबित गर्नकै लागि भए पनि शेयर गर्दा गलत विषय झन् भाईरल हुन जान्छ। दोस्रो विश्वसनीय स्रोतबाट पुष्टि नभई कुनै पनि भिडियो, आवाज वा “अति राम्रो” तस्बिरमा विश्वास नगर्नुहोस्। शंकास्पद सामग्री भेटिए सम्बन्धित प्लेटफर्ममा रिपोर्ट गर्नुहोस्।
हाल्यान्डको त्यो भिडियोले हामीलाई हँसायो, तर सँगै एउटा महत्त्वपूर्ण पाठ पनि सिकायो, स्क्रिनमा देखिने हरेक कुरा अब देखेको जस्तो नहुन। डराउनुपर्ने भने छैन, माथिका साना-साना अभ्यासले नै हामी सबैलाई वास्तविक वा नक्कली छुट्याउन सक्षम बनाउँछ। हेर्दा-हेर्दै पत्याउनुभन्दा अलिकति रोकिएर जाँच्ने बानी नै आजको सबैभन्दा ठूलो सुरक्षा हो।

तपाईंको प्रतिक्रिया