कृष्णभीरमा तीव्र गतिमा भित्ता काटिँदै, कति दिनभित्र सञ्चालन हुन्छ त दुईतर्फी यातायात?

 भदौ २४, २०८३

✍ लेखा खबर संवाददाता


कृष्णभीरमा तीव्र गतिमा भित्ता काटिँदै, कति दिनभित्र सञ्चालन हुन्छ त दुईतर्फी यातायात?

काठमाडौँ, २४ भदौ । तराईलाई काठमाडौँसँग जोड्ने मुख्य ‘लाइफलाइन’ पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरोले सडक भास्सिएपछि कटान र ट्र्याक निर्माणको काम तीव्र पारिएको छ। ६ दिनदेखि लगातार खटिएका प्राविधिक तथा श्रमिकहरूले सडक पुनः सञ्चालनमा ल्याउन दैनिक १२ घण्टा भन्दा बढी अनवरत तवरमा काम गरिरहेका छन्।

नागढुङ्गा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) का ४० जना श्रमिक र १० वटा भारी उपकरण प्रयोग गरी हालसम्म १२ मिटर भित्ता काटेर स्लोप निकाल्ने काम सम्पन्न भएको छ।

सडक डिभिजनका आवासीय इन्जिनियर अशोक देवकोटाका अनुसार बिहान उज्यालो भएदेखि साँझसम्म टोली निरन्तर खटिरहेको छ। भित्ता काट्ने, ट्र्याक सिलिङ गर्ने, सडकको लेभल मिलाउने र कटान गरिएको भित्तालाई थप भासिन नदिन ‘सिट पायल’ गर्ने कार्य एकसाथ अगाडि बढाइएको छ।

विपद्पछि नेपाल: भविष्यका जलवायुजन्य विनाश सामना गर्न देश अत्यन्तै कमजोर अवस्थामा

नयाँ ट्र्याकको लम्बाइ ३ सय मिटर पुग्ने

भास्सिएको १ सय ३० मिटर सडक क्षेत्रलाई व्यवस्थित बनाउन नयाँ ट्र्याक खोलेर सडकको लम्बाइ ३ सय मिटर बनाउनुपर्नेछ। पुरानो सडकको सतहभन्दा ३ मिटर माथि हुने गरी भास्सिएको भागभन्दा थप १ सय ७० मिटर लामो नयाँ सडक निर्माणको काम अझै बाँकी रहेको छ।

इन्जिनियर देवकोटाका अनुसार अझै ८ मिटर तलसम्म भित्ता काट्न बाँकी छ। माथिबाट थप पहिरो खसेन भने दुईतर्फी नै यातायात सुचारु गर्न अझै ९ दिनको समय लाग्नेछ।

धाँजा फाटेका ठाउँहरू सिल गर्दै पुरै नयाँ सडक बनाएझैँ भित्ता काटेर काम गर्नुपरेकाले निर्माणमा केही समय लागेको योजना कार्यालयले जनाएको छ। माथिबाट थप सुख्खा पहिरो वा लेदो नखसे तोकिएकै समयभित्र सडक सञ्जाल पुनः जोड्न सकिनेमा प्राविधिक टोली विश्वस्त छ।

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?