मन्त्रिपरिषद्का निर्णय: बाढीपहिरो प्रभावित क्षेत्र ‘संकटग्रस्त’ घोषित, पीडितलाई मासिक रु. १५ हजारसम्म राहत

 असोज ३०, २०८३

✍ लेखा खबर संवाददाता


काठमाडौँ, ३० असोज । सरकारले बाढी तथा पहिरोबाट अतिप्रभावित विभिन्न जिल्लाका स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी-पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउने, गहुँको न्यूनतम समर्थन मूल्य तोक्ने तथा वैदेशिक अनुदान सहायता स्वीकार गर्ने लगायतका कुल १३ वटा महत्वपूर्ण निर्णयहरू गरेको हो।

मन्त्रिपरिषद्का निर्णयहरूबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाले प्रभावित नागरिकहरूको अस्थायी बसोबास र जीविकोपार्जनका लागि विशेष राहत प्याकेज स्वीकृत गरिएको बताउनुभयो।

बाढी-पहिरो प्रभावित क्षेत्र संकटग्रस्त घोषित

सरकारले बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित गोरखा जिल्लाका चुमनुब्री, धार्चे र आरूघाट गाउँपालिकाका साथै धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नं. १ र २ लाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

यसै गरी, गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र बाढीपहिरोबाट प्रभावित बनेको बागलुङ जिल्लाका गलकोट र ढोरपाटन नगरपालिकालाई पनि तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

पीडित परिवारलाई मासिक आधारमा राहत

विपद् संकटग्रस्त घोषित क्षेत्रका क्षतिग्रस्त निजी आवासका प्रभावित परिवारहरूले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास गर्न चाहेमा सरकारले अनुदान उपलब्ध गराउनेछ।

वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा ६ महिनाका लागि:

४ जनासम्म सदस्य भएको परिवारलाई: प्रतिमहिना रु. १५,०००।–

४ जनाभन्दा बढी सदस्य भएको परिवारलाई: प्रत्येक थप सदस्य बराबर प्रतिमहिना रु. २,०००।– थप गरी जीविकोपार्जन राहत प्रदान गरिनेछ।

गहुँको न्यूनतम समर्थन मूल्य र वैदेशिक अनुदान

कृषकहरूको हितलाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँ बालीको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु. ४,१०७ निर्धारण गरेको छ।

यसै गरी, बैठकले दुई महत्वपूर्ण वैदेशिक अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ:

  1. जापान सरकारबाट: २९८ मिलियन जापानी येन बराबरको आपतकालीन अनुदान सहायता।
  2. जर्मनी सरकारबाट: २० मिलियन युरो अनुदान सहायता।

विधेयक, ऐन र अन्य निर्णयहरू

नयाँ विधेयक तर्जुमा: बुढीगण्डकी विकास प्राधिकरण विधेयक र राष्ट्रिय रोजगारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ।

संसद्मा पेस गरिने विधेयकहरू: पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

अन्य नियमावली र आदेश: नेपाल विशेष सेवा (एक्काइसौँ संशोधन) नियमावली २०८३, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति (चौथो संशोधन) आदेश २०८३ र दाना पदार्थ (दोस्रो संशोधन) नियमावली २०८३ स्वीकृत गरिएको छ।

अन्तर्राष्ट्रिय सम्झौता: सामुद्रिक पारवहन सहयोगसम्बन्धी बिमस्टेक (BIMSTEC) सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिइएको छ।

साथै, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ का बाँकी दफाहरू २०८३ साल कात्तिक १५ गतेदेखि प्रारम्भ गर्ने र आव २०८१/८२ को व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।

इभीको बढ्दो बजार र सुरक्षा चिन्ता: किन्नुअघि बुझ्नैपर्ने ६ कुरा

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?