“यो देश इमानदारहरूको पनि हो हैन र?” — सबैजनालाई अलविदा भन्दै फेसबुकमा भाबुक डाक्टर, अस्पताल सुधार गर्न खटिएका डाक्टर अन्याय र दबाबले मानसिक संकटमा

 असार ०२, २०८२

✍ लेखा खबर संवाददाता


डा.केशव श्रेष्ठ

काठमाडौँ, असार २ — “सबै जनालाई अलविदा” — यस्तो वाक्यसँगै फेसबुकमा डाक्टरको एउटा पोस्ट सार्वजनिक भयो। पोस्टले एक इमानदार, मेहनती र सेवामुखी डाक्टरको व्यथा बोल्छ, जसले सेवा गर्दा सेवा नै ग¥यो, तर अन्त्यमा उसलाई न्यायको साटो अन्यायको सजाय दिइयो।

यी शब्दहरू हुन् बागमती प्रदेश स्वास्थ्य सेवामा कार्यरत एक डाक्टरका, जसले जीवनको बहुमुल्य समय संघर्षमा बिताए। परिवारको संघर्षले उनलाई डाक्टर बनायो। करारको जागिर, नेपाल प्रहरी हुँदै बागमती प्रदेश लोकसेवा मार्फत स्थायी पदमा नाम निकाल्न सफल भए।

२५ महिनाको सेवामध्ये १८ महिना अस्पतालको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट भएर खटिए डा.केशव श्रेष्ठ। दिनरात अस्पताललाई व्यवस्थित बनाउने काममा जुटे। तर, व्यवस्था सुधार्ने उनको इमानदारीलाई सिस्टमका अव्यवस्थित तत्वहरूले पचाउन सकेनन्।

जब उनले गैरजिम्मेवार कर्मचारीहरूलाई कारवाही गर्न थाले, त्यही बेला देखि षड्यन्त्र सुरु भयो। रामेछाप अस्पतालमा काम गर्दा उनले देखे — कसरी राजनीति, पहुँच र कमिशनको चलखेलले अस्पताल बिगारिरहेको छ।

रामेछाप-०८ का केदार कार्कीले मागेको पैसा नदिएको, कार्यालय सहयोगीलाई जागिर नदिएको आरोपमा उनीमाथि प्रतिशोध सुरु भयो। स्पष्टीकरण सोधिएका केही डाक्टरहरू प्रयोग गरिए, उनलाई गलत आरोप लगाइयो, र अन्ततः सरुवा गरियो।

एक जना डाक्टरले केवल “एप्रन किन नलगाएको?” भनेर सोधिएको प्रश्नको रिसमा केदार कार्कीलाई बोलाएर कार्यकक्षमै डाक्टरलाई अपमानित गर्‍यो। “३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन” भन्ने धम्की उनले अस्पतालको अध्यक्षको अगाडि नै सुने।

जसले अस्पताल नबसी, बाहिर कमिशनको डिल गर्ने, बाउको राजनीतिक शक्ति देखाउने कर्मचारीहरूलाई प्रश्न गर्दा उनी प्रतिशोधको सिकार भए।

स्पष्टीकरण खाएका, कारवाहीमा परेका करारका कर्मचारीहरूसँग मिलेर उनलाई जबरजस्ती रामेछाप छोड्न बाध्य बनाइयो। तर, उनले प्रयास गरिरहे। स्वास्थ्य मन्त्रालय, मन्त्री, सचिव कसैको कानमा पनि आफ्नो कुरा पुर्‍याउन सकेनन्।

१६ ओटा टाका, दुई वर्षकी छोरी र श्रीमतीलाई लिएर राति ९ बजे रामेछापबाट काठमाडौं आउन बाध्य भए। बिहान ४ बजे काठमाडौं आइपुगे अनि ८ बजे फेरि हेटौंडा लागे।

तर हेटौंडामा उनलाई सरुवा त गरिएको थियो, हाजिर भने मन्त्रालयमा गराइयो। मन्त्रालयका प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले गाडी खोसेर अमानवीय व्यवहार गरे।

“मैले जिन्दगीबाट हार खाएँ,” पोस्टमा लेखिएको छ। “कतैबाट केही साथ/सहयोग पाउन सकिन।”

डाक्टरले आफ्नो संघर्षको कथा लेख्दै केही नाम पनि लिएका छन् — डा. नरेन्द्र झा, रेबती थापा जसको आर्थिक चलखेलले असार मसान्तमा सरुवा गराइएको उनी बताउँछन्। उनले लेखेका छन्, “म बाँचेर यही सत्य कुरा लेखेको भए मन्त्रालयले कार्यवाही गर्ने थियो होला, थोरै अंक दिने थियो होला।”

एक्लै लड्ने मान्छे, ‘वन म्यान आर्मी’ भनेर चिनिने डाक्टर, आज आएर गलिसकेका छन्। उनले आफ्नो सुसाइड नोट जस्तो देखिने अन्तिम स्टाटसमा माफी मागेका छन् — मम्मी, भावना, छोरी, दाजु-भाउजु, बहिनी र भान्जीसँग।

लेखको अन्त्यमा उनले यस्तो लेखेका छन्:

“आज मलाई दुख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरूलाई कानून बमोजिम सजाय नपाएसम्म मेरो आत्माले शान्ति पाउने छैन। अस्पताललाई उत्कृष्ट बनाउँदा पुरस्कृत हुनु पर्ने म आज कार्यवाहीको चपेटामा परेको छु।”

यो लेख एक गहिरो प्रश्न खडा गर्छ:
“यो देश इमानदारहरूको पनि हैन र?”

🔴 लेखा खबरको विशेष अपिल:

यदि तपाईंले पनि डा. साहबको कुरा सुन्नु भयो, उहाँका शब्दहरूले तपाईंलाई छोयो भने — आवाज उठाउनुहोस्।
यो आवाज न्यायको हो, व्यवस्था सुधार्न खोज्नेहरूको हो, र परिवर्तन सम्भव छ भन्ने विश्वास राख्नेहरूको हो।
इमानदारलाई किन सधैं सजाय मिल्ने? सँगै प्रश्न गरौं।

Note: “यो डाक्टरले सार्वजनिक रुपमा लेखेको स्टाटसमा आधारित खबर हो। यस्ता आवाजहरू पनि सुनिनु पर्छ भन्ने मान्यता हो हाम्रो। तर, यदि अर्को पक्षबाट पनि प्रतिक्रिया आउँछ भने हामीले त्यो पनि स्थान दिनेछौं।”

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5