अब फोनमै बाढी पूर्वसूचना : विभागले सुरु गर्दै ‘भ्वाइस कल’

 भदौ ०८, २०८२

✍ लेखा खबर संवाददाता


नेपालमा बाढी पूर्वसूचना दिन फोनमार्फत ‘भ्वाइस कल’ सेवा सुरु हुँदै

काठमाडौँ, भाद्र ८- जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई अझ प्रभावकारी बनाउन सर्वसाधारणलाई अब मोबाइल फोनमार्फत ‘भ्वाइस कल’ गरेरै जानकारी दिने भएको छ।

यसअघि विभागले एसएमएसमार्फत मात्रै बाढी चेतावनी पठाउने गरेकोमा अबदेखि भने फोन कलमार्फत पनि सूचना सम्प्रेषण गर्ने तयारी भएको हो। विभागका बाढीविद् विनोद पराजुलीका अनुसार नेपाल टेलिकमसँगको सहकार्यमा यही सातादेखि परीक्षणका रूपमा भ्वाइस कल सेवा सुरु गर्ने योजना बनाइएको छ।

“एसएमएस सबैले पढ्न सक्दैनन् वा नदेख्न पनि सक्छन्। तर फोन कल सबैले सुन्न सक्छन् भन्ने विश्वासका साथ यो प्रणाली ल्याउन लागिएको हो,” पराजुलीले जानकारी दिए। उनका अनुसार एकैपटक धेरैलाई भ्वाइस कल गर्दा सेवा अवरुद्ध हुने कि भन्ने विषयमा परीक्षण भइरहेको छ।

बाढी पूर्वसूचना प्रणालीका कारण पछिल्ला वर्षमा धनजनको क्षति न्यून हुँदै गएको विभागले जनाएको छ। तराइ क्षेत्रमा यसले प्रभावकारी परिणाम देखाए पनि पहाड र हिमालमा भने पर्याप्त पूर्वसूचना संरचना नभएकाले त्यहाँ प्रणाली विस्तार गर्न आवश्यक रहेको बताइएको छ।

जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार जलवायु परिवर्तनका कारण बाढी र पहिरोको जोखिम बढ्दै गएकाले पहाड र हिमालका क्षेत्रमा पनि पूर्वसूचना प्रणाली अनिवार्य हुने बताएका छन्। उनका अनुसार हिमताल फुट्ने खतरा बढ्दै गएकाले त्यस्ता जोखिमयुक्त क्षेत्रमा समयमै सूचना पुर्याउन सकेमा क्षति न्यून गर्न सकिनेछ।

असारमा बजेटको बाढी: विकास योजनाहरू समयमै सम्पन्न नहुनुका कारण

विशेषज्ञहरूका अनुसार ‘भ्वाइस कल’ सेवा सुरु भएपछि बाढीसम्बन्धी चेतावनी अझ प्रभावकारी हुनेछ र जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5