डिग्री हातमा भविष्य अन्यौलमा, एआईले खोस्दैछ करियर

 पुष २४, २०८२

✍ लेखा खबर संवाददाता


एआईका कारण डिग्रीधारी युवाको करियर अन्यौलमा

काठमाडौं, पुष २४ – हामीलाई सधैं एउटै वाक्यांशले ‘ब्रेनवास्ड’ गरिएको छ, ‘राम्रोसँग पढ, डिग्री पाएपछि जिन्दगी सेट हुन्छ ।’ चार वर्ष कलेज, हजारौं नोटबुक, रातभरिको पढाइ, अनि त्यो सपना, प्रमाणपत्र हातमा । तर आज, २०२६ को वर्षमा उभिँदा, त्यो आश्वासन खाली शब्द जस्तो लाग्छ । चार वर्षको मेहेनतले तयार पार्न खोजेको भविष्य अहिले सबैभन्दा असुरक्षित देखिन्छ ।

कृत्रिम बौद्धिकता (एआई) अब केवल कल्पनामा मात्रै सीमित रहेन । यो हाम्रो दैनिकीको हिस्सा बनिसकेको छ । च्याटजीपीटी, जेमिनी, क्लाउडलगायतका यी नाम केवल प्रविधि सम्मेलनको कथा होइनन् । यी अब अफिसका कुना–कुनामा संचालित, कम्प्युटर र स्मार्टफोनमा प्रवेश गरिसकेका छन् । लेखन, अनुवाद, ग्राहक सेवा, विश्लेषण । एआई चुपचाप सबै जिम्मेवारी आफैले लिइरहेको छ ।

माइक्रोसफ्टको हालैको अध्ययनले भाषा अनुवादक, लेखक, बिक्री प्रतिनिधि, ग्राहक सेवा कर्मचारीहरू सबै प्रत्यक्ष असरमा परिरहेका छन् । ती पेशा जसका लागि हामी डिग्री अनिवार्य ठानेका थियौं, आज सबैभन्दा धेरै जोखिममा छन् । कम्पनीहरू सोच्न थालेका छन् । ‘१० जना कर्मचारी किन राख्ने, जब ५ जना र एउटा एआई पर्याप्त छ ?’

नेपालको अवस्था अझै संवेदनशील छ । विश्व बैंकको हालैको एक अध्ययन अनुसार एआईको प्रभाव यहाँ कम छ । सुन्दा सहज लाग्छ, तर के यो सुरक्षा हो, कि केवल ढिलाई गरी आएको परिवर्तनको छाया? हाम्रो अर्थतन्त्र कृषि, परम्परागत श्रम, र कम दक्षता आवश्यक भएको काममा टिकेको छ । तर हाम्रा युवाहरू अफिस, ल्यापटप र ‘प्रोफेसनल’ करियरको सपना देखिरहेका छन् । र यही सपना अहिले सबैभन्दा ठूलो जोखिममा छ ।

अब भविष्य अघि बढाउन डिग्रीे मात्रै पर्याप्त छैन । किनभने एआईले दिमागको काम गर्छ । हामीले विश्वास गरेका थियौं, दिमागको काम सबैभन्दा सुरक्षित छ म। तर लेखक, पत्रकार, विश्लेषक, र कार्यालया काम गर्ने कर्मचारीसमेतको भविष्य असुरक्षित देखिन्छ । विद्युत मिस्त्री, प्लम्बर, निर्माण मजदुर बरु अझ सुरक्षित छन् । डिग्री अब ढोका मात्र खोल्छ। कति टाढा पुग्ने भन्ने कुरा अब तपाईंको सीप, सिकाइ, र अनुकूलन क्षमतामा निर्भर गर्छ ।

तर डराएर बस्नु समाधान होइन । एआईसँग लड्नु पनि होइन । एआईलाई आफ्नो साथी बनाउने कोसिस गर्नु नै विकल्प हो । एआई लेख्न सक्छ, तर के लेख्ने, किन लेख्ने, र कसका लागि लेख्ने निर्णय अझै तपाईंको हातमा छ । एआई उत्तर दिन सक्छ, तर सही प्रश्न बनाउने जिम्मेवारी अझै हामीमै छ । जो एआईलाई औजार बनाउँछ, उसले आफ्नो काम जोगाउँछ । जो डराएर भाग्छ, उसले आफ्नो स्थान गुमाउँछ ।

पैसा र प्रतिभा दुवै पलायन: एक वर्षमा शिक्षाका नाममा विदेशियो १ खर्ब ३८ अर्ब

यो लेख डर फैलाउन लेखिएको होइन । यो चेतावनी हो । डिग्री अब अन्तिम गन्तव्य होइन, केवल सुरुवात हो । सिक्न छोडियो भने, डिग्री बोझ बन्छ । सिकिरहियो भने, एआई अवसर बन्छ । समय परिवर्तन भइसकेको छ । अब निर्णय तपाईंको हो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5